Comments Add Comment

इण्डो प्यासिफिकमा प्रचण्डको भनाइ नै नेकपाको लाइन !

चिनियाँ विदेशमन्त्रीसँगको भेटमा कहाँ चुके प्रचण्ड ?

२६ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कि नेतृ पम्फा भुसालले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल र चिनियाँ विदेश मन्त्रीसँगको भेटसम्बन्धी विज्ञप्तिबारे अमेरिकाले प्रष्टीकरण मागेको हो होइन भन्ने विषयमा सरकारसँग जवाफ मागिन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले चिनियाँ विदेश मन्त्री वाङ यीसँगको भेटमा भारत प्रशान्त रणनीति (इण्डो–प्यासिफिक रणनीति) मा नेपाल आवद्ध छैन भनेको विषयमा अमेरिकी दुतावासले स्पष्टीकरण माग्दैछ भन्ने विषयमा सरकारको धारणा आउनुपर्ने भुसालको भनाइ छ ।

सत्तारुढ दलकी सांसद भुसालले यस्तो प्रश्न गरेको केही घण्टापछि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले यो विषयमा घुमाउरो जवाफ दिएका छन् ।

मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै बास्कोटाले ‘इण्डो–प्यासिफिक रणनीति’को विषयमा नेपाल सरकारको धारणामा कुनै परिवर्तन नआएको बताए ।

‘इण्डोप्यासिफिक, बीआरआई वा अन्य विषयमा म यतिमात्रै भन्न चाहन्छु कि स्वतन्त्र मुलुकको हैसियतमा हामी, छिमेकी र अरु मित्रराष्ट्रहरूसित आपसी हितबारे सचेत भएरै व्यवहार गर्छौं, गर्दै आएका छौं’ सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै प्रवक्ता बास्कोटाले भने, ‘हाम्रो पूर्ववत् मान्यतामा विचलन आएको छैन, परिवर्तन आएको छैन ।’

अमेरिकी सरकारद्वारा गत जेठ १८ गते सार्वजनिक ‘इण्डोप्यासिफिक रणनीति प्रतिवेदन’ मा दक्षिण एसियाबाट नेपाल र श्रीलंका साझेदार बनेको उल्लेख छ । त्यतिबेलै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पत्रकार सम्मेलनमार्फत अमेरिकी दाबीको खण्डन गरिसकेका छन् ।

के हो चिनियाँ विज्ञप्ति विवाद

चिनियाँ विदेश मन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणपछि चीनको विदेश मन्त्रालयले पाँच वटा अलग–अलग प्रशंगमा विज्ञप्ति जारी गर्‍यो । ती विज्ञप्तिहरूमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री ज्ञवाली, पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा कसले के भने भन्ने उल्लेख छ ।

त्यसमध्ये पूर्वप्रधानमन्त्री प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङबीचको भेट सम्बन्धी विज्ञप्तिले चर्चा पाएको हो । मंगलबार जारी उक्त चिनियाँ विज्ञप्तिमा प्रचण्डले ‘इण्डोप्यासिफिकमा असहमत छौं’ भने भन्ने उल्लेख छ । ‘इण्डोप्यासिफिक रणनीति’ को अगाडि ‘तथाकथित’ पनि थपिएको छ ।

त्यही विज्ञप्तिका सम्बन्धमा काठमाडौंस्थित अमेरिकी दुतावासले नेपाल सरकारसँग प्रष्टीकरण मागेको समाचार सञ्चार माध्यमहरूले प्रकाशित गरेका छन् ।

प्रचण्डको भनाइ नै नेकपाको लाइन !

आलोचकहरूले ‘इण्डोप्यासिफिक रणनीति’ लाई चीन घेर्ने अमेरिकी सैन्य ध्रुवका रुपमा व्याख्या गर्ने गरेका छन् । यो विषयमा सत्तारुढ नेकपाभित्रै दुई धार देखिन्छ ।

नेकपा प्रवक्ता तथा पूर्वपरराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलगायतले कम्युनिष्ट विश्वको समसामयिक विषयबाट अलग हुन नहुने भन्दै ‘इण्डोप्यासिफिक रणनीति’ लाई अस्वीकार गर्नुेपर्नेमा जोड दिएका छन् ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायत नेताहरूले असंलग्न विदेश नीति लिएको नेपालले यसमा सहभागी हुन नहुने धारणा राख्ने गरेका छन् । नेता नेपाल प्रधानमन्त्री भएका बेला प्रेस सल्लाहकार रहेका नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले प्रचण्ड र वाङको भेटपछि जारी विज्ञप्तिको सन्दर्भमा बढाई–चढाई भएको टिप्पणी गरेका छन् ।

अध्यक्ष प्रचण्डले नेकपाको राजनीतिक प्रतिवेदन अनुसारै आफ्नो धारणा राखेको रिजालले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । ‘दक्षिण चीन सागर र मलक्का जलडमरुलगायत समुद्री मार्गहरूमा उत्पन्न समस्या, प्रशान्त र हिन्द महासागरमा बढ्दो अमेरिकी सैन्य तैनाथी, चीनको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ र यसका विरुद्ध कतिपय देशका प्रयास, कोरियाली प्रायद्वीपको तनाव र पछिल्ला विकसित घटनाक्रम, चीन विरुद्धका कथित स्वतन्त्र तिब्बत गतिविधिहरू लगायत एसिया प्रशान्त क्षेत्रका घटनाक्रमहरूलाई पनि हामीले ध्यानमा राख्नुपर्दछ’ नेकपाको राजनीतिक प्रतिवेदनको पृष्ठ ६ उधृत गर्दै रिजालले लेखेका छन्, ‘त्यही ध्यानमा राखेको कुरामा बढाई चढाई किन ?’

के थियो प्रचण्डको भनाइ ?

पूर्वप्रधानमन्त्री प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई मंगलबार एक होटलमा भेटेका थिए । भेटबारे सञ्चारकर्मीलाई दाहालको ‘ब्रिफिङ’ यस्तो थियोः

दुई देशकाबीच रही आएको सदियौं पुरानो मित्रतापूर्ण सम्बन्धलाई आजको परिस्थितिमा अझै सुदृढ गर्ने विषयमा छलफल भयो । नेपालको आर्थिक विकासको प्रयासमा चीन सरकार र चिनियाँ जनताबाट हुने सहयोग र हाम्रो अपेक्षाका बारेमा कुराकानी भयो ।

दुई सरकारका बीचमा गरिने सहकार्य र सहयोगको विषयलाई विस्तार गर्ने विषयमा कुरा भयो । साथै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको विषयमा पनि हामीले चर्चा गर्‍यौं ।

र, यी सबै विषयमा मन्त्रीज्यूले असाध्यै सकारात्मक, निकै नै उत्साहजनक विचार मैले पाएँ । मलाई विश्वास छ, आउने दिनमा नेपाल चीन सम्बन्ध पनि अझै सुदृढ भएर जानेछ । आर्थिक क्षेत्रमा सहयोग पनि मात्रात्मक र गुणात्मक ढंगले अगाडि बढ्नेछ । त्यसले नेपालको विकासमा ठूलो मद्दत पुग्ने विश्वास मैले दिएँ ।

दुईवटा पार्टी (नेकपा र कम्युनिष्ट पार्टी अफ चाइना) बीचको सम्बन्धलाई अझै विस्तारित गर्ने, सुदृढ गर्ने विषयमा पनि नयाँ आयाम थपिन्छ भन्ने विश्वास मैले लिएको छु ।

कहाँ चुके प्रचण्ड ?

चिनियाँ विदेश मन्त्रालयले जारी गरेको आधिकारिक विज्ञप्तिमा प्रचण्डले बोलेकै कुरा प्रस्तुत गरिएको विश्वास गर्न सकिन्छ । तर, चिनियाँ विदेशमन्त्रीसँग कुरा गर्दा प्रचण्डले अमेरिकी रणनीतिलाई ‘तथाकथित’ नभनी डिप्लोम्याटिक भाषामा नेपालको अडान व्यक्त गरेको भए यस्तो विवाद नआउने कतिपय कूटनीतिक विश्लेषकहरु बताउँछन् ।

नेकपाकै एकजना कूटनीतिक मामिलाका जानकारले अनलाइनखबरसँग भने, ‘अध्यक्ष प्रचण्डले इण्डो प्यासिफिक रणनीतिको पक्षमा नेपाल छैन भन्नु पार्टी लाइन विपरीत नभएता पनि भाषाको प्रयोगमा ध्यान दिएको भए यस्तो विवाद आउने थिएन ।’

त्यसो त नेकपा अध्यक्ष प्रचण्डले चिनियाँ विदेशमन्त्रीसँग भेट गर्दा पार्टीको विदेश विभागका नेताहरुलाई पनि साथमा राखेको भए उचित हुने नेकपाकै नेताहरु बताउँछन् ।

कांग्रेस सभापति देउवाले चिनियाँ विदेशमन्त्रीसँगको भेटमा अर्का नेता रामचन्द्र पौडेल र पराराष्ट्र मामिलाका जानकार दिनेश भट्टराईलाई पनि राखेका थिए । तर, प्रचण्डले चाहिँ एक्लै वार्तालाप गरेका थिए ।

यो पनि पढ्नुस्ः 

नेपाल–चीन सम्बन्ध : चिनियाँ प्राथमिकतामा ‘सफ्ट पावर’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment