Comments Add Comment

गृहमन्त्रीका भाइ र गुण्डा नाइकेले बनाएका थिए ८६ उद्योगी–व्यापारीसँग फिरौती असुल्ने योजना

लोक सेवा छलेर करारमा १ हजार कर्मचारी भर्तीको तयारी

२७ भदौ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले विविध विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । केहीले गृहमन्त्री रामबहादुर थापाका भाइको गुण्डा नाइकेसँगको कनेक्सनबारे खोतलेका छन् भने कुनैले लोकसेवा छलेर हुन लागेको कर्मचारी भर्ती, प्रदेशका महिला सांसदले खेलेको भूमिकालगायत विषय उठाएका छन् ।

अन्नपूर्णले सरकारले लोकसेवा आयोगलाई छलेर करारमा अधिकृतस्तरका कर्मचारी भर्ती गर्न लागिएको लेखेको छ । ठूला आयोजना र परियोजनामा कार्यकर्ता र आफन्त भर्ती गर्न मन्त्रिपरिषदले हजारभन्दा बढी अस्थायी दरबन्दी स्वीकृत गरेको दाबी अन्नपूर्णको छ ।

अन्नपूर्णका अनुसार लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीले नयाँ दरबन्दी सिर्जना गरिएको विषयमा थाहा नभएको र करारमा दरबन्दी सिर्जना गर्नु गलत भएको बताएका छन् ।

मन्त्रिपरिषदको बिहीबार सार्वजनिक निर्णयमा आठ सय ९३ जनाको दरबन्दी स्वीकृत भएको उल्लेख छ । त्यसमध्ये विभिन्न मन्त्रालयमा राजपत्रांकित पदको दरबन्दी आठ सय ५३ छ ।

अमेरिकी राजदूत र्‍यान्डी बेरीले चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणपछि सार्वजनिक नोटमा समाहित इन्डो प्यासिफिक रणनीतिमा सरकारको धारणा मागेको अर्को खबर पनि अन्नपूर्णमा छ । बेरीले बिहीबार परराष्ट्र सचिव शंकरदास बैरागीसँग मन्त्रालयमा भेट गरी सत्तारूढ दलका अध्यक्ष प्रचण्डको अभिव्यक्तिबारे पनि चासो देखाएको समाचारमा लेखिएको छ ।

कान्तिपुरले गुण्डानाइकेसँग गृहमन्त्रीका भाइको कनेक्सन रहेको खुलासा गरेको छ । समाचार अनुसार पक्राउ परेका पवन खड्काले दुर्बइमा रहेका जावेदलाई पठाएको सन्देशमा नरेशलाई फिरौती योजनामा केही गाह्रोसाह्रो पर्दा प्रहरी गृह प्रशासन सबै मिलाउन र मान्छे भगाउन सक्ने व्यक्तिका रूपमा उल्लेख गरिएको छ ।

कान्तिपुरमा लेखिएअनुसार पछिल्लो पटक जेलभित्रैबाट फिरौती उठाउने योजना बनाइएको थियो । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य अभियुक्तका रुपमा केन्द्रीय कारागारमा रहेका समीरमान बस्नेतलाई कारागारमै मोबाइल फोन उपलब्ध गराएर झण्डै ८६ जना व्यापारी व्यवसायीसँग फिरौती असुल्ने योजना बनाएका थिए ।

‘साउन अन्तिम साता पक्राउ परेका पवन र सुरेनले व्यवसायी, निजी विद्यालय सञ्चालक, उद्योगी र व्यापारीलाई फोन गरेर रकम मागेको देखिन्छ । रकम असुल्न समीरमानकै अगुवाइमा पवन र दुबईमा रहेका जावेद अनवरदिनले योजना बनाएका थिए । उक्त योजनामा पछि कैलाश वीरवल हुँदै गृहमन्त्रीका भाइ नरेश पनि जोडिएका हुन्’, कान्तिपुरले लेखेको छ ।

गोरखापत्रले परम्परागत सीप भएकाहरूको आर्थिक अवस्थाबारे एक रिपोर्ट छापेको छ । रिपोर्टअनुसार परम्परागत सीपका धनी दलित समुदायको सीपलाई उद्योगका रूपमा रूपान्तरण नगर्दा यस समुदाय भूमिहीन र गरिबीको रेखामुनि बाँच्न बाध्य छन् ।

खुला बजारको अवधारणामा आयातमा जोड दिँदा परम्परागत सीप भएका वर्गको आर्थिक अवस्था नाजुक बनेको गोरखापत्र समाचारको सार छ ।

राजधानीले केरुङ–काठमाडौं रेलमार्ग तत्काल प्राथमिकतामा नपरेको लेखेको छ भने राजधानीले सार्वजनिक यातायातको टिकट बुकिङ असोज ५ बाट खुल्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment