Comments Add Comment

महानगरका बस : जतासुकै भ्वाङ !

Photo Credit : सुस्मिता अर्याल

२७ भदौ, काठमाडौं । रिंगरोडमा बस चढेकी सुस्मिता अर्याल सिटमा बसेलगत्तै अत्तालिइन् । कारण थियो, आफू बसेको सिटमुनि खुट्टा राख्ने ठाउँमै सिंगो ज्यान छिर्नसक्ने भ्वाङ ।

रिंगरोडमा चल्ने बा ४ ख ८४७९ नम्बरको यो बसमा यात्रा गर्ने धेरै यात्रु यसरी नै आत्तिन्छन् । संयुक्त यातायातको यो बसको सिटमुनि भ्वाङ परेको कुरा बस चालक र सहचालकलाई पनि थाहा नभएको होइन । यात्रुले गुनासो गर्दा ‘होस गरेर बस्दा भइहाल्छ नि !’ भन्ने उत्तर दिएर टाल्छन् उनीहरुले । यात्रुले अलिकति असावधानी अपनाए भने अंगभंग हुने वा ज्यान नै जाने खालको खतरा हुँदा पनि मर्मत नगरी यो बस चलिरहेको छ ।

काठमाडौंमा एउटा मात्रै बसमा यस्तो समस्या छैन । अरु पनि धेरै बसहरु जिर्ण र जोखिमयुक्त अवस्थामा सञ्चालन भइरहेका छन् । यात्रुले यस्ता प्राविधिक कमजोरीबारे प्रश्न उठाएमा चालक– सहचालकले कि चुप लागेर टार्छन् भने कतिले त यात्रुलाई दुब्र्यबहार पनि गर्छन् ।

समस्या अनेक

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंमा विभिन्न रुटमा चल्ने सार्वजनिक बसहरुमा थरीथरी प्राविधिक समस्या भेटिन्छन् । कतिपय बसका छत नै प्वाल परेका हुन्छन् । बसभित्र पानी पर्नासाथ चुहिएर यात्रुलाई निथ्रुक्क बन्नुपर्ने हुन्छ । टेम्पोहरुमा यो समस्या अझ बढी छ ।

कतिपय बसका झ्यालका सिसाहरु फुटेका हुन्छन् । तर, नयाँ सिसा राखिएको हुँदैन । यात्रुलाई बसभित्रै धुलो मिसिएको हावा खाँदै यात्रा गर्नुपर्ने बाध्यता त हुन्छ नै, पानी पर्दा सिट नै छाड्नुपर्ने अवस्था पनि आउँछ ।

बसभित्रै विभिन्न धारिला फलाम र काँटीहरु निस्कँदा यात्रुलाई चोटपटक लाग्ने गरेको छ । उभिने यात्रुले समात्ने बार र ह्यांगरहरु बलियोसँग सेट नगर्दा पनि यात्रुले अनेकन किसिमका समस्या भोग्नु परिरहेको छ ।

सार्वजनिक बसका पछिल्ला भागमा सिसाहरु फुट्दा प्लास्टिकले टालेको देखिने महाशाखाका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले बताए ।

‘बसका लाइटहरु पनि बिग्रिएको भेटिन्छ । ब्रेक लाग्दा बल्नुपर्ने र मोड्दा बाल्नुपर्ने लाइटहरु मर्मत नगरी चलाउने गरेको पाइन्छ,’ उनले भने, ‘विभिन्न प्राविधिक पक्षमा लापरवाही गरेर बस चलाउनेहरुलाई भेटे हामी कारवाही गर्छौं ।’

उनले यस्ता पक्षलाई ध्यान नदिँदा दुर्घटनाहरु निम्तिन सक्ने बताए । यात्रुको सुरक्षामा गरिएका जुनसुकै खालका लापरवाहीमा पनि ट्राफिकले निगरानी राखेर कारवाही गर्ने गरेको महाशाखा बताउँछ ।

‘तर पनि कतिपय भित्री भागमा भएका प्राविधिक लापरवाही हामीलाई जानकारी हुँदैन,’ उनले भने, ‘यातायात व्यवस्था विभागसँग अनुगमनका हिँड्दा भित्री भागको प्राविधिक पक्षलाई हेर्ने गर्छौं ।’

काठमाडौंका सार्वजनिक बसहरुले बस र सीटको सफाइको पक्षलाई ध्यान दिने गरेका छैनन् । अधिकांश बसका सीटहरु फोहोर र दुर्गन्धित हुन्छन् । सफा सीट खोजेर छानी–छानी बस चढ्ने विकल्प पनि उपलब्ध छैन यात्रुहरुलाई । नयाँ बसहरुमै पनि यो समस्या छ ।

सिटका हालत नाजुक

बसमा एकपटक सीटको खोल हालेपछि त्यो च्यातिएर काम नलाग्ने स्थिति नभइञ्जेलसम्म फेरिँदैन । धुन पनि चासो दिइँदैन ।

यात्रुहरुले पनि सीट फोहोर भएको र च्यातिएको बारे खासै गुनासो गर्दैनन् । जस्तो छ, त्यसैमा बसेर यात्रा गर्ने आम प्रवृत्तिले यो फोहोरी प्रवृत्ति संस्कारकै रुपमा बदलिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखका रुपमा रहँदा सर्वेन्द्र खनालले एक सार्वजनिक मञ्चबाटै यातायात व्यवसायीलाई सोधेका थिए, ‘अरु धेरै हेर्दै गरौंला, कम्तिमा त्यो जुम्रा, उडुस र उपियाँ परिसकेको बसको सीट धोइदिनुस् र फेरिदिनुस् ।’

त्यतिबेला यातायात व्यवसायीले सरसफाइको पक्षमा तत्कालै सुधार गर्ने बाचा गरेका थिए । तर, अवस्था अहिलेसम्म बदलिएको छैन । काठमाडौंमा चल्ने अधिकांश बसका सीटहरु अहिले पनि घिनलाग्दा र दुर्गन्ध फैलाउने खालका छन् । अझ कतिपय सिटमा ‘फम’ भन्दा पहिला फलामहरु देखिन्छन् । यस्ता समस्याले सार्वजनिक बसको यात्रा नै असजिलो र असुरक्षित बनाइन्छि ।

सरकारको बेवास्ता

सरकारले प्रत्येक ६/६ महिनामा सवारीको प्राविधिक चेक जाँच गरेर जाँचपास गर्छ । तर, त्यसबेला बसभित्रका सफाइ र सीटको व्यवस्थापन लगायतका पाटोलाई यातायात व्यवस्था विभागले बेवास्ता गर्छ ।

जाँचपास गराउँदो बिग्रिएका पार्ट पूर्जा फेर्ने र सिटहरु बलियो बनाउने लगायतका पक्षमा विभागले आँखा चिम्लिदिने गरेको उपभोक्ताकर्मी रामबहादुर थापा बताउँछन् ।
‘घुस खुवाएर जाँचपास गर्नुपर्ने भएपछि व्यवसायीले थोत्रो भइन्जेलसम्म पनि बस मर्मत नगरी चलाउँछन्, उनीहरुलाई राज्यले नै छुट दिएकाले यस्तो भएको हो, नियमित अनुगमन गरेर कारवाही गर्ने हो भने समस्या हुँदैन,’ उनी भन्छन् ।

यातायात व्यवस्था विभागका अधिकारीहरु बसहरुको अवस्था कस्तो छ भनेर विशेष अनुगमन नगरिएका कारण यस्तो अवस्था आएको स्वीकार्छन् ।

‘हामीसँग अनुगमनका लागि पर्याप्त जनशक्ति नै छैनन्,’ विभागका एक अधिकारीले भने, ‘सामान्य रुपमा कहिलेकाँही अनुगमन गर्छौं, भेट्दा कारवाही पनि हुन्छ । तर, तत्काल अभियान नै बनाएर यस्ता विषयमा अनुगमन गर्ने योजना छैन ।’

ट्राफिक महाशाखाका डीएसपी शाह भने यात्रुले समस्या पर्दा खबर गरेर तुरुन्तै बसलाई कारवाही गर्न सकिने बताउँछन् ।

‘हामी प्राविधिक रुपमा कमजोर रहेका बसलाई तुरुन्तै रोक्न सक्छौं,’ उनी भन्छन्,‘यात्रुले समस्यामा पर्दा ट्राफिकलाई खबर गर्दा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment