Comments Add Comment

सिन्तीको सुन्दरता

२८ भदौ, चितवन । चितवनको कालिका नगरपालिकामा पर्ने सिन्ती झरनाको शितलताले नलोभ्याउने सायदै कोही होलान् यहाँ पुग्नेहरु । उकाली चढ्दा यो बाटो फर्किएर आउँदिन् भन्नेहरु सिन्तीमा पुगेपछि फर्किन मान्दैनन् । मानुन पनि कसरी ? अग्लो पहाडको शीर चिरेर दायाँ-बायाँबाट खसिरहेको पानी । हिउँ झरेजस्तै देखिने पानीबाट निस्किएको कुहिरो ।

चितवन जिल्ला सदरमुकाम भरतपुरबाट २४ किलोमिटर पूर्वमा रहेको यो झरना पुग्न शक्तिखोर हुँदै दोगरासम्म गाडी चढेर जान सकिन्छ । शक्तिखोर-सिद्धि सडकखण्ड अन्तर्गत दोगराबाट साढे २ किलोमिटरको दूरीमा रहेको सिन्ती झरना पैदल हिँडेर ४५ मिनेटमा पुग्न सकिन्छ । कतै ठाडो उकालो, कतै तेर्सो बाटो हिडेपछि सिन्ती झरना पुगिन्छ । युवायुवती, बालबालिका जो पनि यहाँको प्राकृतिक छटासँग रमाउँछन् । झरनाको चिसो पानीमा घण्टौंसम्म बसिरहन मन लाग्छ । शनिवार र सोमबारको दिनमा अझै पर्यटक सिन्तीको दैलो टेक्न आइपुग्छन् ।

कालिका नगरपालिकाको वडा नं. ९ र १० को सिमाना पर्ने यो झरना पछिल्लो समय आन्तरीक पर्यटकहरुको आकर्षक गन्तब्य बनेको छ । पाँच वर्षअघिसम्म यसको खासै चर्चा थिएन । त्यसयता हजारौं पर्यटक पुगिसकेका छन् । झरनामा दैनिक ४०० भन्दा बढी आन्तरिक पर्यटकहरु आउने गरेको स्थानीय बताउँछन् । चितवनको गर्मीले आत्तिएकाहरुलाई शितल आनन्द दिने सबैभन्दा नजिकको झरना बनेको छ सिन्ती ।

महाभारत पर्वत श्रृंखलाअन्तर्गत सिन्ती खोलाको मुहानबाट निस्किएकाले यसलाई सिन्ती झरना भनिएको स्थानीय बताउँछन् । झरनाको लम्बाइ करिब ४० मिटर र चौडाइ करिब ७ मिटर छ ।

सिन्तीको तल्लो तहमा पोखरी छ । यहाँ बालबालिका रमाइरहेका देखिन्छन् । तनहुँबाट सिन्तीमा रमाउन हेर्नका लागि पहिलोपटक आएका सागर गिरीले झरनाले आफूलाई मोहित बनाएको बताए । ‘प्राकृतिक झरना देख्दा र त्यसमा डुबुल्की मार्दा निकै आनन्द आयो,’ गिरीले अगाडि थपे, ‘गर्मी हुने चितवनमा यतिको नजिकै यस्तो ठाँउ रहेछ ।’

गिरीको जस्तै अनुभूति सुनाए प्रभास क्षेत्रीले पनि । पूर्वी चितवनको रत्ननगरबाट सिन्ती झरनामा तेस्रोपटक आएका क्षेत्री यहाँ आउने भनेपछि सधैं उत्साही हुने गरेको बताए । ‘यतिको सफा, चिसो र मनोरम ठाउँ यता वरपर छैन, दूरीका हिसावले पनि नजिक छ,’ क्षेत्रीले भने, ‘अझै कतिपय मान्छेलाई यसका बारेमा जानकारी छैन, प्रभावकारी प्रचारप्रसार र पूर्वाधार तयार गर्ने हो भने, थामी नसक्नु पर्यटक आउने देख्छु ।’

सिन्तीमा जाडोको तीन महिनाबाहेक अन्य समयमा यहाँ पर्यटकहरु आउँछन् । झरनामा रमाउन र नुहाउनका लागि मानिसहरु समूह-समूह बनाएर आउने गरेको स्थानीयले बताए । यहाँ आउने पर्यटक अधिकांश आन्तरीक हुने कालिका पर्यटन विकास समितिका अध्यक्ष हिम्मत पुरी बताउँछन् । उनकाअनुसार क्यानोनिङका लागि डीपीआरको काम भइहरेको छ ।

स्थानीयको आयआर्जन

झरनाभन्दा केही किलोमिटर वर नै तिलक मगरका पाँच जना दाजुभाइले अलग-अलग किराना पसल र खाजा खाने होटल चलाएका छन् ।

पहिले दुई जना दाजुभाइले मात्रै पसल खोलेका थिए । तर पर्यटकको चहलपहल बढ्न थालेपछि बाँकी तीन भाइले पनि व्यवसाय थाले । पर्यटकहरुले यहाँ झरनामा जाँदा पानी, खाजा लैजाने तथा फर्किएर आउँदा खाजा यहीँ खाने गर्छन् । दिनमा औसत १५ सयजति कमाउँछन् । ‘पहिला त खासै मान्छे नै आउँदैनथे, पछिपछि भीड बढ्न थालेपछि पसल खोलियो, अरु दाजुभाइले पनि खोले,’ तिलकले भनेमन छन् ।

न बिजुली, न गतिलो बाटो

पर्यटकहरुको संख्या दिनानुदिन बढ्दै गएपनि पूर्वाधार निर्माणमा भने नगरपालिकाले खासै चासो दिएको छैन । झरना पुग्ने सडक वा पैदल मार्गलाई मर्मत सम्भार गरी सहज पहुँच विस्तार गर्न सकिए अझै पर्यटक बढ्न सक्ने कालिका पर्यटन विकास समितिका अध्यक्ष हिम्मत पुरीले बताए ।

स्थानीय सोमबहादुर चेपाङले सिन्ती झरनामा पर्यटक आकर्षित गर्न पूर्वाधार निर्माणमा काम गर्नुपर्ने बताउँछन् । ‘पर्यटकहरुलाई आउने बाटो सजिलो बनाउने हो भने अझै धेरै पर्यटकहरु यहाँ आउँछन्,’ सोमबहादुर भन्छन् ।

झरनासम्म पुग्ने पैदल मार्ग राम्रो बनाउने भनेर नगरपालिकाका मेयरले भनेका पनि थिए । तर,काम भने भएको छैन । झरनास्थल र त्यस वरपर अहिलेसम्म बिजुली वत्ती पुगेको छैन । स्थानीयबासीले घरमा सोलार राखेका छन् ।

सिन्तीलाई सौराहासँग जोड्ने तयारी

सिन्ती झरनामा पूर्वाधार निर्माणका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ४० लाख रकम छुट्टाएको छ । यो रकमबाट झरनाको गेट निर्माण, बाटोघाटो सुधार, सरसफाइ, विश्रामस्थल लगायतका संरचनाहरु निर्माण गरिने नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले बताए । साथै, झरनास्थलसम्म बिजुली बत्तीको व्यवस्था, झरना जाने पैदल मार्ग सुधार एवम् निर्माण गर्ने जस्ता योजना नगरपालिकाले बनाएको छ । नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा सिन्ती झरनालाई जिल्लाकै पर्यटकीय गन्तव्यका रुपमा विकास र प्रचारप्रसार गर्ने मेयर श्रेष्ठको धारणा छ ।

नगरपालिकाले गत वर्ष झरना नजिकै शौचालय र चेन्जिङ रुम बनाएको छ । करिब २० लाख खर्चिएर बनाइएका संरचना अझै अधुरा छन् । कालिका पर्यटन विकास समितिका अध्यक्ष हिम्मत पुरीले शौचालय र चेन्जिङ रुमको काम असोज महिनाभित्र सकेर थप पूर्वाधार निर्माणमा जुट्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment