Comments Add Comment

अमेरिकी जेलयात्रा- २

जताततै हिउँ नै हिउँ । जनवरीको महिना । अमेरिकाको सबैजसो सडक, बनपाखा, आँगनमा हिउँको थुप्रो । तीन दिनदेखि परेको हिउँको थुप्रो । अझै पग्लेको थिएन – बाक्लो कपास बिछ्याएको जस्तो । जाडो त्यति नै । अझ सिरसिर हावा चल्न थालेपछि पुरै अमेरिका ठप्प । नेपालबन्द जस्तो । न गाडी गुडेका थिए न पैदल यात्री नै । त्यो महिना अमेरिकामा हिउँ बाक्लै पर्यो ।

जुन दिनदेखि हिउँ पर्न थाल्यो- त्यहीँ दिनदेखि म पनि बाहिर निस्किन । भित्रको भित्र । हिउँ परेको चौथो दिन- नगरपालिकाले सडकहरु सफा गर्न थालिसकेको थियो । गाडीहरु सुचारुरुपले चल्न थाले । केही दिनदेखिको असामान्य बनेको जनजीवन भीडभाड नभए पनि सामान्य अवस्थामा आयो । त्यहीँ सामान्य अवस्थामा नै म अदालत जान तयार भएँ – दीपक शर्माको तारेखका लागि । मैले मनमनै सोचेँ – यदि हिउँ परिरहेको भए अदालत कसरी गइन्थ्यो होला ? हुन त हिउँ नै बाक्लो पर्‍यो र छिचोली साध्य भएन भनेँ अदालत नै कहाँ बन्द नभएको हो र ?

हाम्रो तीनवटा समूह छुट्टा-छुट्टै तीनतिरबाट अदालतको परिसरमा भेट भयो । म मेरै घरबाट सोझै अदालत गएँ । दिपक पनि आफ्नो डेराबाट एक्लै अदालत पुगे । खै ! के भएर हो कमला चाँही आफ्नी सानी छोरी डोर्याउँदै पुगिन् । सम्भवतः स्कुल विदा भएकाले घरमा एक्लै छोड्न नमिल्ने भएर सँगै लिएर गएकी हुन् ।

हुन त दीपकलाई प्रहरीले समातेको भोलिपल्टदेखि नै वकिलहरुको चिठी ओइरो लाग्न नथालेको कहाँ हो र ? वकिलहरुले पठाएको चिठी र खाम जम्मा गरेको भए सय-डेढ सयको किताब नै बन्थ्यो । यसबाट मैले के बुझे भने अमेरिकामा वकिलहरु ग्राहक समात्न निकै सिपालु छन् । साथै यिनीहरुको साँठगाँठ सोझै प्रहरीसँग हुन्छ । नत्र वकिलहरुले कसरी दीपकको नाम, ठेगाना र मुद्दा पत्ता लगाए । अझ अर्को उदेकलाग्दो के छ भने वकिलको चिठीको व्यहोरा ठ्याक्कै उस्तै- न्यायधिशको अगाडि बोल्ने आँट जोसुकैको नहुन सक्छ । मुद्दा हारिन सकिन्छ । तिम्रो मुद्दा मलाई देऊ, म लडिदिन्छु । यदि जरिवाना लाग्यो भने पनि कम गराइदिन्छु ।

मलाई सम्झना छ, वकिलको चिठी आउन थालेपछि दीपकले मलाई भनेका थिए- “अंकल ! हामी पनि वकिल लगाऔँ । मुद्धा हारियो भने झन् ठुलो सजाय हुन्छ कि ! जरिवाना धेरै तिर्नपर्छ कि ! फेरि जेल नै पठाए भने !

म आफू वकिल नभए पनि वकिलको छोरा पक्का थिएँ । मलाई कुटपिट, मुद्दामामिला, गाली-गलौज जस्तो मुद्दामा सामान्य जानकारी थियो । हुन त नेपालको वकिल अमेरिकामा के काम भन्ने महसुस पक्कै कहाँ नभएको हो र ! नेपालमा ऐन, कानुन नेपाली भाषामा हुन्छ तर अमेरिकामा अंग्रेज जस्तो छलफल पनि भएको थियो । तर जुनसुकै देशको कानुन पनि सामान्य सिद्धान्तमा चलेको हुन्छ- अपराध गरेपछि साथै अपराध स्वीकार गरेपछि सजायको भागिदार ।

अझ केही वर्ष अगाडि यस्तै घटना लिएर अदालत गएको थिएँ । मैले दिपकलाई सम्झाएँ, ‘मुद्दा तिमीले हारिसकेका छौ । अर्कालाई रगतै आउने गरी घाइते पार्न पाइन्छ ? श्रीमती भन्दैमा कुटपिट गर्न पाइन्छ ? तिम्रो सजायँ तोकिइसकेको छ । त्यसकारण वकिल राखेर अरु खर्च बढाउने काम नगर । वकिलले सित्तैमा तिम्रो केस हेरिदिने होइन । तिमीले सजायँ पाइसक्यौ । केका लागि अब वकिल ।’

मेरो सल्लाह अनुसार नै उसले वकिल लगाएको थिएन ।

अग्ला-अग्ला घरहरु बीचको एउटा अग्लो घर । मान्छेहरु बाक्लो चहल-पहल अनि गाडीको भन्दा गति । अदालत खुलिसकेको थियो । फोनमा सल्लाह गरे अनुसार नै हामीहरु अदालतको अगाडि भेट भयौँ । दीपकका श्रीमान्-श्रीमती आमने-सामने भए । उनीहरुका आँखा जुधे, तर बोलचाल भएन । एउटै देश, एउटै शहर अझ २० मिनेटको दुरी तर उनीहरु भेट नभएको छ महिना भयो । मैले सोचेको थिएँ- भेट हुनासाथ उनीहरु अंकमाल गर्छन् । हर्षका आँसु बगाउँछन् । धेरै दिनपछिको नियास्रो मेटाउँछन् । कहालीलाग्दो गरेर रुन्छन् । तर, त्यहाँ त्यस्तो कुनै लक्षण देखिएन ।

बरु दुबैका आँखा एकअर्कोतिर तीखो भएर जुध्यो । हान्ने गोरु जस्तो दुवैले टाउको सिधा पारे । अनि धेरैबेर हेराहेर गरे । सायद त्यो हेराई प्रेमको थियो कि आव|mो सको । दुवै चुपचाप । आश्चर्य त मलाई लाग्यो कि दीपकसँग सानी छोरीको समेत बोलचाल भएन । छोरीले आफ्नो बाउलाई टाढैबाट हेरिरहिन् तर नजिक परिनन् । मलाई सम्झना छ, केही दिन अगाडिमात्र तिनै छोरीले मलाई सोधेकी थिइन्-

‘हाम्रो ड्याडी सधैँ डेरामा नै बस्ने हो ? हाम्रो घरमा आउनुहुन्न ?’

मैले उत्तर दिएको थिएँ । ‘कहाँ सधैँ डेरामा बस्ने ! अब केही दिनमा आउनुहुन्छ ।’

यसैमा उनले सोधेकी थिइन्, ‘हाम्रो ड्याडीले ममीलाई कुट्यो भनेर पुलिसले लिएर गएको हो ?’

कठैबरा ! त्यो बाल दिमाग कतिसम्म पीडित रहेछ । उनीहरु कतिसम्म आजित रहेछन् । तर, त्यसको उत्तर दिन सकिनँ । वास्तवमा दीपक आफ्नी श्रीमतीका श्रीमान् थिए, छोरीका पिता, केवल नाताको मात्र । तर, भावनाको र मायाको पति-पिता हुन सकेनन् । कुनै पनि व्यक्तिको भित्री मन नहाँसी बाहिरी मन हाँस्न सक्दैन । कमलाका आमाछोरीको भित्री मन हाँस्न सकेको थिएन, त्यहीँ भएर होला, बाहिर पनि हाँस्न सकेनन् ।

हामी अदालतभित्र पस्यौँ । अदालत पसेपछि कुनै खोज-तलास नै गर्न परेन । भित्तामा झुण्ड्याएको टीभी स्क्रिमा वाद-प्रतिवाद तथा न्यायाधीशको नाम नै राखिएपछि कसैको साहारा नै नचाहिने रहेछ ।

अर्को आश्चर्य यो भयो कि हामीहरु त्यहाँ उभिँदा उभिँदै भारतीय मूलकी महिला टुप्लुक्क देखा परिन् । उनको बोलाई अनि कमलासँग गरेको भलाकुसारीले मैले थाहा पाइहालेँ- कमलाले दोभाषे पनि राखेकी रहिछिन् । त्यतिबेलासम्म मलाई थाहै थिएन ।

‘दोभाषे पनि राखेको छ ?’ मैले कमलातिर हेरेर सोधेँ ।

‘हाम्रो केस घरायसी झगडाबाट छोडपत्रसम्म पुगेको रहेछ । बोल्दा शब्द मिलेन भने झन् अर्को आपत पर्छ कि ! छोडपत्र त कहाँ गर्ने हो र ? एक्लै न्यायधीशसँग बोल्ने आँट आएन । श्रीमान्लाई के अप्ठ्यारो पार्नु । त्यही भएर दोभाषे राखेको ।”

त्यहीँ श्रीमानले थालले हानेर लागेको टुटुल्कोको अझै निधारमा नीलो दाग छ, तर त्यहीँ श्रीमानको आत्मरक्षाका लागि उनले गरेको सदाचार सुनेर म भावविह्ल भएँ । मलाई आफूले गरेको प्रश्नप्रति नै पछुतो लाग्यो । दोभाषे राख्नु नै थियो भने बरु नेपाली राखेको भए हुन्थ्यो नि । किन भारतीय राखेकी त ?

कमला अमेरिका आएको धेरै वर्ष भयो । तर, उनको अंग्रेजी भाषामा दखल छैन । गाउँ-पाखामा हुर्केकी, पढेकी उनलाई अंग्रेजी त्यति आउँदैन । अमेरिका आए पनि अध्ययन गर्ने मौका पाइनन् । तर, दिमाग चलाख छ । बोल्न डराउँछिन् । तर, होसियार । उनलाई नबोली समाज र नेपालीको गफ लडाउने आदत बारेमा पूर्ण ज्ञान थियो । त्यसबारे निकै सर्तक छन् । सानो कुरालाई पहाड बनाउने । सामान्य भनाइलाई फूलबुट्टाले रंगाउने अनि समाज हसाउँने बारेमा पनि थाहा छ ।

श्रीमान-श्रीमानको कुरा त्यसमा पनि अदालतमा पुगेपछि नेपाली समाजमा बस्न सकिन्छ ? अझ न्यायाधीश, ओछ्यान, भात-भान्साको कुरो निस्कियो भने कुन मुखले बाहिर आउनु ? कमसे कम भारतीयमा त्यो गुण छ – उनीहरु बाहिर फैलाउँदैनन् । साथै त्यो फैलाउने पहुँच पनि छैन । उनीहरु नेपाली समाजमा आउँदैनन् । नेपाली समाजसँग उनीहरुको घुलमिल छैन ।

‘के गर्नु अंकल ! पहिला त नेपाली दोभाषे नै राख्ने कुरो भएको थियो । तर, कुरा काटेर हैरान पार्छन् । एकदिन न एकदिन कुरो बाहिर ल्याइहाल्छन् । बसी साध्य हुँदैन ।’

‘अनि तिमीले हिन्दी बुझ्यौ त ?’

‘किन नबुझ्नु त ?’ त्यत्रो हिन्दी सिरियल बुझ्ने एकै छ । काम गर्ने ठाउँमा पनि हिन्दी भाषमा नै दोहोरो वार्ता हुन्छ भने । कसो नबुझिएला ?’

ती महिलाले हामीलाई भारतीय ठानेकी रहेछिन्, जब हामीले नेपालीमा कुरा गरेको सुनिन्, तब उनले राजा वीरेन्द्रका बारेमा निकाली हालिन् ।

‘राजा वीरेन्द्र र मेरा बुवाको पहिलादेखिकै मित्रता…..’

काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेको जस्तो । त्यस्तो तनाबका बेला हाम्रो दिमाग उनको गफतिर तानिएन । हामीले उनलाई वास्ता गरेनौँ । बल्लतल्ल ६ महिनापछि श्रीमान-श्रीमतीको भेट भएको छ, आपसी समझदारीको टुङ्गो लाग्दैछ । त्यस्तो जटिल अवस्थामा अझ फेरि अदालतमा ? उनको गफमा चाख लाग्नुको सट्टा दिक्क लाग्न थाल्यो र मैले कुरो बंग्याउँदै उनलाई सोधेँ, ‘तपाईलाई केका आधारमा दोभाषे नियुक्त गरिएको हो ? अदालतले नै तोकेको हो कि कमलाले अनुरोध गरिन् ?’

तर, उनले मेरो प्रश्नको उत्तर दिइनन् । बरु राजा वीरेन्द्रको प्रसंगतिर नै एकोहोरिन् ।

‘प्रत्येक वर्ष राजा वीरेन्द्र र रानी ऐश्वर्य आफ्नो सपरिवार लिएर थाइल्याण्ड आउनुहुन्थ्यो । बैँककमा हाम्रो ठूलो कपडा दोकान थियो । त्यही दोकानमा कपडा किन्नुहुन्थ्यो । मेरो बुवाले उहाँसँग खिचेको थुप्रै तस्वीरहरु मसँग छ । उहाँको हत्या हुनुभन्दा केही महिना अगाडि पनि उहाँ हाम्रो दोकान…।’

अझै पनि उनको गफले हाम्रो ध्यान तान्न सकेन । मैले केही असन्तोषको भाव देखाउँदै अगाडि वढयौ । हामी न्यायधीशको कोठाभित्र पस्दा कोठा सुनसान थियो । एकजना महिला कर्मचारी न्यायाधीशको टेबलभन्दा तलको टेबलमा केही लेखेर बस्दै थिइन् । न्यायाधीश बस्ने कुर्सीको नजिकै भित्तापटि्ट सुरक्षागार्ड उभिइरहेका थिए ।

केहीबेरपछि तीनजना व्यक्तिहरु सरासरभित्र पसे र हामीहरु भएको नजिकै आए अनि एकएक गरेर हात मिलाए अनि अगाडि कुर्सीमा बसे । मैले अञ्दाज लगाए – पक्कै यिनीहरु प्रहरी थानाका कर्मचारी हुन् । प्रहरी हुन् वा सरकारी वकिल । फेरि केहीबेर पछि कालो कोट लगाएकी महिला कोठाभित्र पसेकी मात्र थिइन् – सुरक्षाकर्मीले चर्को स्वरमा आदेश गरे ।

‘न्यायाधीशभित्र आउँदै हुनुहुन्छ । तपाईहरु सबैजना आफ्नो-आफ्नो सीटबाट उठिदिनु  होला ।’ सुरक्षागार्डको बोली सुन्नासाथ हामीहरु सबैजना उठ्यौँ । मैले मनमनै सोचेँ- मान, सम्मान त जसलाई पनि चाहिनेरहेछ । मालिक, रैती, चाकर र सामन्तवादको कुरा जतिसुकै गरे पनि आदरको भोक त जसलाई पनि लाग्दोरहेछ । अझ अर्को कुरा, अनौठो लाग्यो, सुरक्षागार्ड सरासर मेरो नजिकै आए र सानो स्वरमा बोलेँ –

‘सर ! तपाईले आफ्नो टोपी निकाल्नुहोला ।’

‘टोपी ?’ सुरुमा मैले बुझिनँ ।

‘यस सर !’ भनेर हिँड्यो ।

नेपालको भन्दा ठ्याक्कै उल्टो । नेपालमा भएको भए आफूसँग थिएन भने सापटी मागेर भए पनि टोपी लगाउनै पर्ने नियम थियो । तर, अमेरिकामा लगाइरहेको टोपी पनि निकाल्नपर्ने । सुरक्षा गार्डको आदेश सुन्नासाथ मैले पनि आफूले लगाइरहेको उनीको टोपी टाउकोबाट बाहिर निकालेँ ।

धेरैबेर छलफल भयो । खासखुस, यताउति मान्छेहरु चहल-पहल गरिरहे । उनीहरु आफू आफूमा वार्ता गरे । यो छलफलका बेला बेलामा कमला सामेल भइन् । हामीहरु बेञ्चमा बसेर अगाडिको दृश्य हेरिरह्यौँ । अन्त्यमा, एकजना कर्मचारीले ‘शुल्क क्षमा’ को कागज दीपकका हातमा थमाइदिए ।

वास्तवमा शुल्क क्षमा भनेको कम आम्दानी हुने व्यक्तिलाई सरकारले दिने सहुलियत हो । आफ्नो आम्दानी र खर्च मिलाएर हेर्दा आम्दानीको हद कम भयो भने अदालतमा लागेको शुल्क वा जरिवाना मिनाहा गर्दो रहेछ । तर, दीपक शर्माको आम्दानी हद बढी देखिन आयो । उसले सरकारबाट पाउने शुल्क क्षमाको सहुलियत पाएन । उसको आम्दानी राम्रो थियो । न धरौटी फिर्ता भयो न शुल्क माफी नै ।

अदालतबाट बाहिर निस्केपछि हामीहरुले धेरैबेर नै छलफल गर्‍यौं- कि कमला वयान दिने क्रममा चुकिछन् वा दोभाषेले कुरा बटार्‍यो वा कानुन नै त्यस्तो थियो । नत्र दीपकले कि त अदालतको शुल्क मिनाहा पाउथे कि धरौटी फिर्ता पाउँथे । उसले केही पनि फिर्ता पाएन तर जेहोस्, दीपकको घरपरिवार शान्तसँग बसेका छन् । होहल्ला छैन । तर, बेला-बेलामा कमलाले दीपकलाई सम्झाइरहनुपर्छ । थकाइरहनुपर्छ ।

‘अब केही गडबड भयो भने प्रहरी अफिसरले मलाई उनको आफ्नै व्यक्तिगत फोन दिएका छन् । म डायल गरी हेरिदिऊँ ?’

प्रहरी शब्द सुन्नासाथ दीपकले सुरु गरेको वाक्य बीचैमा रोकिन्छ । कि ऊ चुपचाप सोफामा बस्छ कि लुरुक्क ढोका खोलेर बाहिर निस्कन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment