Comments Add Comment

प्रधानमन्त्रीले संसदीय समितिले अप्ठ्यारो पारे भन्नु भएको छ : सभामुख

'हामीले सरकारलाई निगरानी गर्ने हो, नियन्त्रण गर्ने होइन'

३० भदौ, काठमाडौं । सभामुख कृष्णबहादुर महराले संसदीय समितिहरुले सरकारको कामलाई नियन्त्रण नभई निगरानी गर्नुपर्ने बताएका छन् । संसदीय समितिका कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको पनि गुनासो रहेको उनले जानकारी दिए ।

संसदीय अभ्याससम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै महराले यो जानकारी दिएका हुन् । संसदीय समितिका सभापतिहरुसँग बसेर एकपटक छलफल गर्न आफूले सुझाव दिएको, तर प्रधानमन्त्री ओलीले तपाईंले नै गर्नुस् भनेर आफूलाई भनेको महराले बताए ।

सभामुख महराले कार्यक्रममा भने ‘प्रधानमन्त्री ज्यूले समितिहरुले हामीलाई अप्ठ्यारोमा पारे भनेर भनिराख्नु भाछ । समितिसँगै बसेर छलफल गर्न सकिन्छ नि एक दिन, सबैलाई राखेर कुरा राखौं पनि भन्यौं । पछि म त नबस्ने, सभामुखले नै गर्नुस् भन्नुभयो । मैले भन्न खोज्या के छ भने हामी निगरानी हो, नियन्त्रण होइन । सरकार ठीक दिशामा गयो कि गएन भनेर हेरिराख्ने हो ।’

सभामुख महराले सरकारले बाटो नबिराओस् भनेर सल्लाह दिइराख्ने दायित्व आफूहरुको रहेको बताए । ‘सरकार भन्या त्यस्तै हुन्छ, कहिलेकाहीँ ट्र्याक छोडिदिन्छ । सकेसम्म ट्र्याक नछोडोस् भनेर निगरानी राखीराख्ने र त्योअनुसार सल्लाह दिइराख्ने हाम्रो दायित्व हो,’ महराले भने, ‘सरकारलाई नै नियन्त्रण गर्ने भन्ने होइन । त्यसो गर्नु हुँदैन पनि ।’

उनले संसदमा उठेका विषयको सरकारले जति धेरै जवाफ दियो त्यति धेरै संसदको प्रभावकारीता बढ्ने बताए ।

शून्य समय र विशेष समयमा उठेका विषयहरु जनताको र देशको विषय हुने भएकाले आफूले धेरै पटक सरकारलाई रुलिङ पनि गरेको उनले बताए । कतिपय मन्त्रीले जवाफ दिइसकेको र कतिपयले दिन बाँकी रहेको बताउँदै महराले भने, ‘त्यो विषयमा हामीले सरकारलाई घचघचाइराख्नुपर्ने हुन्छ । सरकारले जति जवाफ दिन्छ, संसदको प्रभावकारीता त्यति हुन्छ । प्रभावकारीता भनेको सरकारमा भर पर्छ ।’

संसदमा प्रधानमन्त्रीसँग प्रत्येक महिना प्रश्नोत्तर गर्ने भनिए पनि  प्रधानमन्त्रीको स्वास्थ्यका कारण नियमित हुन नसकेको जानकारी पनि महराले गराए ।

सभामुख महराले संसदमा दर्ता हुने सार्वजनिक महत्वकोलगायतका बिभिन्न प्रस्तावमा सरकारले प्रतिक्रिया दियो भने पनि प्रभावकारीता बढ्ने बताए । तर, सरकारले प्रतिक्रिया नदिादा धेरै प्रस्तावहरु अलपत्र परेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment