Comments Add Comment

जनकपुर–जयनगर रेल चलाउन रेल्वे कम्पनी ब्युँताइँदै, जनशक्ति थप्ने तयारी

१ असोज, काठमाडौं । जनकपुरको कुर्तादेखि जयनगरसम्म रेल पुनः चलाउन सरकारले नेपाल रेल्वे कम्पनीलाई जिम्मा दिने भएको छ । हाल निष्क्रिय रहेको रेल्वे कम्पनीलाई जनशक्ति थपेर ब्यूँताउने सरकारको तयारी छ । यसका लागि लोक सेवा आयोगमा कर्मचारीको दरबन्दी थप गर्ने प्रस्ताव लगिएको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल कम्पनीले नै यो रेलमार्ग चलाउने बताए । यसअघि पनि यो रेलमार्गमा यही कम्पनीले रेल चलाउँथ्यो । नेपालमा सन् १९७२ मा नेपाल रेल्वे कम्पनी स्थापना भएको थियो । सन् २०१४ देखि यो कम्पनी सक्रिय छैन ।

यो रेलमार्गमा चल्ने रेल हाल भारतमा बन्दैछ । ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोकन रेल्वे कर्पोरेसनसँग रेल किन्ने सम्झौता भएको थियो । उसले सम्झौता भएको ३ देखि ६ महिनाभित्र रेल गाडी हस्तान्तरण गर्ने बताएको छ । हाल सम्झौता भएको २ महिना बितेको छ । अबको केही महिनाभित्रै रेल आउने भएकाले सञ्चालनको पूर्वातयारी सुरु भएको विभाग बताउँछ ।

कम्पनीको कर्मचारी विनियमावली पनि बनेको छ । संगठन संरचना लोकसेवा आयोगले पास गरेर अर्थ मन्त्रालयले स्वीकृति दिएपछि दरबन्दीअनुसार कर्मचारी राखिने छ । रेलमार्गमा रेल चलाउन करिब २ सय कर्मचारी आवश्यक पर्ने अनुमान छ । अहिले कम्पनीमा २० जनाको मात्रै दरबन्दी छ । रेल्वे इन्जिनियरसहित मेकानिकल इन्जिनियर रेल चलाउने ड्राइभर, स्टेशन म्यानेजर, टिकट काट्ने, र जाँच्ने लगायतको कर्मचारीको दरबन्दी सिर्जना गर्न लागिएको छ ।

नेपालको एक मात्रै जनकपुर–जयनगर रेलमार्गमा सरकारले आफ्नै रेली चलाउने भने पनि प्राविधिक जनशक्ति भने भारतबाटै ल्याउनुपर्ने अवस्था छ । नेपालीसँग रेल चलाउने खासै अनुभव नभएकाले जनशक्ति भारतबाट ल्याउनु परेको हो । यसअघि रेल विभागले विदेशका अनुभवी कम्पनीलाई ३ वर्षसम्म रेल चलाउने, व्यवस्थापन गर्ने र नेपालमा त्यसको सीप हस्तान्तरण गर्ने गरी आउटसोर्सिङ गर्ने अवधारणा बनाएको थियो । तर, आफ्नै रेल ल्याउने भएपछि सञ्चालन र व्यवस्थापन पनि नेपालकै रेल्वे कम्पनीले नै गर्ने योजना बनाइएको हो ।

‘केही समय भारतबाट आउने जनशक्तिले हाम्रा जनशक्तिलाई प्रशिक्षित गर्छन्,’ विभागका एक अधिकारीले भने, ‘पछि हाम्रो मात्रै प्राविधिकहरु राखेर रेल चलाउन सक्छौं ।’

ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि भारतीय कामदार तयारी गर्नैपर्ने तर्क रेल्वे अधिकारीहरुको छ ।

यसअघि नेपालमा कोइलबाट चल्ने रेल चल्थ्यो । अब भने डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधिको रेली चलाउन लागिएको हो । यो रेल डिजेलबाट निस्किने बिजुलीबाट चल्छ ।

कुर्ता–जनकपुर–जयनगर रेलमार्गको पुरानो न्यारो गेजलाई हटाएर ब्रोड गेजका रुपमा विस्तार गरिएको छ । भारतीय निर्माण कम्पनीमार्फत नै यो काम भएको हो । सन् २०१४ बाट यसको सुरुवात भएको थियो, यसै कारण जनकपुर–जयनगर रेल सेवा विगत ५ वर्षदेखि बन्द अवस्थामा छ ।

ब्रोड गेज विस्तारको लागि सिभिलतर्फका सबै काम सकिएको छ । स्टेशनहरु बनेका छन् । अब भारतबाट तयार भएका रेल आएपछि ‘जनकपुर–जयनगर रेल्वे’ पुनः सञ्चालनमा आउने छ ।

३५ किलोमिटरको रेलमार्गमा सानो आकारको रेलको लिक हटाएर ठूलो आकारको बनाइएको छ । भारतीय कम्पनीले कार्यालय भवन, भन्सार कार्यालय, कर्मचारीको आवास गृह पनि बनाइसकेको छ ।

कुर्ताबाट महोत्तरीको विजलपुरासम्म रेलमार्र्ग ल्याउने योजना रेल्वे विभागको छ । यो रेलमार्गलाई ४ वर्षभत्र बर्दिवासमा पूर्व–पश्चिम रेलमार्गसँग जोडेर निजगढसम्म ल्याउने योजनासमेत छ । कुर्ता–जनकपुर–जयनगर खण्डतर्फ भने लिक लगभग तयार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment