+
+
Shares

क्यासिनोमा कडाइ, १० लाख बढीकाे हार-जित जानकारी गराउनुपर्ने

व्यवसायीलाई ५ करोडसम्म जरिवाना

अच्युत पुरी अच्युत पुरी
२०७६ असोज १ गते १०:५०

१ असोज, काठमाडौं । क्यासिनोमा हुने कारोबार र जुवा खेल्नेहरुमाथि सरकारले निगरानी बढाउने भएको छ । सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा क्यासिनो व्यवसायीलाई निर्देशिका जारी गर्दै सरकारले कडाइ गर्न लागेको हो ।

क्यासिनो सञ्चालकले अब कर्मचारी, ग्राहक पहिचान, जोखिम मूल्यांकन, शंकास्पद कारोबारको पहिचान सम्बन्धमा कार्यविधि नै बनाएर कार्यान्वयन गर्नुपर्ने छ ।

क्यासिनोमा ग्राहकमा रूपमा छिर्ने सबै व्यक्तिको पहिचानसम्बन्धी कानूनतः तोकिएको सबै प्रक्रिया व्यवसायीले पालना गर्नुपर्ने प्रावधान अनिवार्य गरिएको छ । यसमा पनि उच्चपदस्थ व्यक्तिको पहिचानलाई कम्पनीहरुले प्राथमिकता दिनु पर्नेछ ।

उच्च जोखिममा रहेका ग्राहक, अन्य कसुर लागेका वा शंकास्पद् गतिविधिमा संलग्न रहेका व्यक्तिहरुको क्यासिनो प्रवेशलाई पनि क्यासिनो सञ्चालकहरुले कडाइ गर्नुपर्ने भनिएको छ । यस्तो ग्राहकको पहिचान गरी उनीहरुको विवरण अद्यावधिक गरी राख्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

जीत–हारको जानकारी

निर्देशिका अनुसार कुनै पनि ग्राहकले एक दिनमा एकैपटक वा पटक–पटक गरी १० लाख रुपैयाँभन्दा बढी क्यासिनोमा जित्यो या हार्‍यो भने त्यसको जानकारी व्यवसायीले नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय इकाईमा गराउनुपर्ने छ । यस्तो विवरण १५ दिनभित्र बुझाउनुपर्ने निर्देशिकामा उल्लेख छ ।

‘तर, कुनै पनि ग्राहकको रकम शंकास्पद् लागेको अवस्थामा भने तीन दिनभित्र प्रतिवेदन तयार पारी इकाईमा अनिवार्य बुझाउनुपर्छ,’ निर्देशिकामा भनिएको छ । यस्तो प्रतिवेदन तयार पार्दा वित्तीय जानकारी इकाईले जारी गरेको मापदण्डलाई आधार बनाउनुपर्ने छ ।

सूचना गोप्य राख्नुपर्ने

क्यासिनोमा आएर गरेको खर्चबारे तयार पारेका प्रतिवेदन, कागजात, अभिलेख, विवरण, सूचना वा जानकारी व्यवसायीले गोप्य राख्नु पर्ने भनिएको छ । यसबाहेक व्यवसायीका पदाधिकारी, कर्मचारी र अन्य व्यक्तिबाट पनि उक्त सूचना बाहिर लैजान पाइने छैन ।

क्यासिनो व्यवसायीले यस्तो जानकारी वित्तीय जानकारी इकाई बाहेकका अन्य निकाय वा व्यक्तिलाई दिन नपाइने प्रावधान समेटिएको छ । खेलाडीको नामबाहेक संख्या, रकम, प्रकार, प्रकृतिजस्ता विषयको सूचना प्रवाहमा भने रोक लगाइएको छैन ।

क्यासिनो व्यवसायीले कारोबारसँग सम्बन्धित तयार पारेका प्रतिवेदन तथा वित्तीय विवरणहरु ५ वर्षसम्म सुरक्षित राख्नुपर्ने भएको छ । यस्ता सूचना नियामक निकायले मागेको बेला तत्काल उपलब्ध हुनेगरी विद्यूतीय माध्यममा समेत अभिलेख गरी राख्नुपर्ने प्रावधान यस निर्देशिकामा समेटिएको छ ।

क्यासिनोको कारोबार कर्मचारीका नाममा गर्न नपाउने

क्यासिनो व्यवसायीले आफ्नो कारोबार व्यक्तिगत खाताबाट गराउने नपाउने भएका छन् । कर्मचारी, परिवारका सदस्य तथा अन्य व्यक्तिगत खाताबाट क्यासिनोको कारोबार भए कम्पनीमाथि नै छानबिन भई कारबाही हुनेछ ।

क्यासिनोले आफ्ना कर्मचारीको विवरण प्रत्येक आर्थिक वर्षको सुरुमा पर्यटन विभाग र वित्तीय जानकारी इकाईलाई दिनुपर्ने गरी प्रावधान ल्याइएको छ । कर्मचारी परिवर्तन भए त्यसको जानाकरी १५ दिनभित्र सरोकारवाला निकायलाई दिनु पर्नेछ ।

क्यासिनो व्यवसायीले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कानूनहरु परिपालना गरे नगरेको समेत निगरानी गरिने भएको छ । सोही अनुसार अब पर्यटन विभागले क्यासिनोबाट हरेक चार महिनामा प्रतिवेदन माग गर्ने छ । ७ दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने गरी व्यवसायीका नाममा निर्देशन जारी भएको छ ।

५ करोडसम्म जरिवाना

कानूनका प्रावधानको परिपालनामा अटेर गरे विभिन्न कसुरमा लिखित रूपमा सचेत गराउनेदेखि ५ करोड रुपैयाँ जरिवानासम्मको प्रावधान रहेको छ । निर्देशनमा उल्लेख भएबमोजिम नीति तथा कार्यविधि नबनाए अधिकतम ५० लाख रुपैयाँसम्म कारबाहीको प्रावधान राखिएको छ । ग्राहक पहिचान गर्ने सम्बन्धी व्यवस्था कार्यान्वयन नगरे अधिकतम १० लाख रुपैयाँसम्मको कारबाहीको प्रावधान रहेको छ । बेनामी तथा काल्पनिक नाममा कारोबार गरेको पाइए ५ करोड रुपैयाँसम्म जरिवाना तोकिएको छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?