Comments Add Comment

सरकारले भन्यो – डेंगुका कारण आपतकाल घोषणा गर्नुपर्ने अवस्था छैन

१ असोज, काठमाडौं । सरकारले डेंगुका कारण आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएको छ ।

बुधबार संसदमा विशेष समय लिएर बोल्दै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगु संक्रमणको अवस्था जटिल अवस्थामा नरहेको बताए । ‘मृत्युदर अत्यन्त न्युन रहेकाले आपतकालीन अवस्था घोषणा गर्नुपर्ने हदमा नरहेको जानकारी दिन चाहन्छु’ उनले भने ।

उपप्रधानमन्त्री यादवले साधन स्रोतले सम्पन्न विकसित मुलुकमा पनि डेंगु नियन्त्रण चुनौतीको रुपमा रहेको भन्दै नेपालको स्वास्थ्य प्रणाली यस्ता महामारी नियन्त्रण गर्न सक्षम रहेको जिकिर गरे ।

डेंगु रोगबाट बच्न हालसम्म कुनै निश्चित औषधी र प्रभावकारी खोप नभएकै कारण यसको नियन्त्रणमा कठिनाइ भएको भन्दै उनले लामखुट्टेको नियन्त्रण नै यसबाट बच्ने प्रमुख उपाय भएको बताए ।

साउन १ देखि भदौ २३ गतेसम्म नेपालमा ५ हजार ९५ जनामा डेंगु रोगको संक्रमण भएको र विभिन्न जिल्लामा ६ जनाको मृत्यु भएको जानकारी आएको उपप्रधानमन्त्री यादवले संसदमा जानकारी गराए । केही हप्तायता डेंगु संक्रमणको संख्या निकै तल झरेको र विस्तारै विस्तारै नियन्त्रणतर्फ उन्मुख हुँदै गएको उनले जिकिर गरे ।

नियन्त्रण अभियान

उपप्रधानमन्त्री यादवले डेंगुको रोकथामका लागि सबै प्रभावित क्षेत्रमा ‘सबैको साथ डेंगुको नाश, हप्ताको एक दिन एक घण्टा हुदैन कुनै कष्ट, सबैको सहभागितामा लामखुट्टे लार्भा नष्ट अभियान सञ्चालन गर्ने बताए । त्यस्तै स्थानीय स्तरसम्म डेंगुबारे विभिन्न जानकारीमूलक पुस्तिका पठाउने र सञ्चार माध्यमबाट पनि प्रचार प्रसार गर्ने पनि उनले जानकारी दिए ।

डेंगु रोग नियन्त्रणका लागि सघन डेंगु रोग नियन्त्रण घरदैलो अभियान सञ्चालन गर्ने भन्दै उनले त्यसका लागि शिक्षा मन्त्रालयसँगको सहकार्यमा विद्यार्थीमार्फत समुदायमा जनचेतना जगाउने बताए । त्यस्तै महिला स्वास्थ्य स्वयंसेविकामार्फत पनि चेतनामुलक कार्यक्रम गर्ने उपप्रधानमन्त्री यादवले बताए ।

काठमाडौंमा डेंगु परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रहेको सेवा अब त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र निजामती कर्मचारी अस्पतालमा पनि विस्तार गर्ने उपप्रधानमन्त्री यादवले जानकारी दिए ।

त्यस्तै ८५ वटा स्थानीय तहमा १ करोड ६६ लाख रुपैयाँ पठाइएको, प्रदेशमा डेंगुलगायतको प्रकोप नियन्त्रणका लागि ६ करोड १७ लाख रुपैयाँ विनियोजन गरी पठाइएको पनि उनले जानकारी दिए । स्थानीय सरकार र प्रदेश सरकारले आफ्नै स्रोतले पनि प्रभावित क्षेत्रमा डेंगु नियन्त्रणको काम गरिरहेको उपप्रधानमन्त्री यादवले जानकारी दिए ।

नेकपा सांसदले गरे स्वास्थ्यमन्त्रीको आलोचना

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीले संसदमा गराएको जानकारीप्रति सरकारको नेतृत्वकर्ता दल नेपाल कम्युनिस्ट पार्टीकै सांसदले चित्त बुझाएनन् । उनीहरुले स्वास्थ्यमन्त्रीले भनेको कुरा अविश्वसनीय रहेको र डेंगुको प्रकोप अत्यधि रहेको दावी गरे ।

नेकपा सांसद खगराज अधिकारीले अहिले स्वास्थ्य संकटकाल (हेल्थ इमरजेन्सी) कै अवस्था रहेको जिकिर गरे । उनले डेंगु नियन्त्रणमा विलम्ब भएको हो कि होइन भनी मन्त्री यादवलाई प्रश्न गरे ।

नेकपा सांसद कृष्णगोपाल श्रेष्ठले डेंगुले महामारीको रुप दिँदा पनि मन्त्री र राज्यमन्त्री कानमा तेल हालेर बसेको आरोप लगाए । संसदमा गम्भीर प्रश्न उठेपछि सभामुखले रुलिङ गरेपछि मात्र मन्त्रीको चेत खुलेको भन्दै उनले भने, ‘यो भन्दा गैरजिम्मेवार अरु के हुन्छ ?’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अपस्तालमा विरामीको भीड रहेको भन्दै उनले मन्त्री र राज्यमन्त्रीलाई प्रश्न गरे, ‘कहिल्यै टेकु अस्पताल जानु भएको छ ?’ सांसद नविना लामाले पनि डेंगु नियन्त्रणमा स्वास्थ्य मन्त्रालय गैर जिम्मेवार भएको आरोप लगाइन् ।

सांसद अमनलाल मोदीले भारतमा डेंगु नहुनु र नेपालमा मात्र हुनुको कारण के हो भनी प्रश्न गरे । सांसद जीवनराम श्रेष्ठले डेगु नष्ट गर्ने भन्दाभन्दै मान्छे नै नष्ट हुने अवस्था आइसकेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment