+
+
Shares

गृहमन्त्रीका भाइ नरेशलाई १ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २ गते २:२०

३१ भदौ, काठमाडौं । अपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराध सम्बन्धी कसूरका आरोपित गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाइ नरेशलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, काठमाडाैंका न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासले उनलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले थापालाई छाड्न आदेश दिएको पुष्टि गरे । उनले भने, ‘अन्य प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।’

प्रकरणमा थापासँगै पवन खड्का, समिरमानसिंह बस्न्यात, सुरेन नगरकोटी बलामी,  जे भन्ने जावेद अनवर दिन, शैलेश प्रजापती, विनोद लामा, विरवल भट्टराई र प्रवेश भन्ने मनबहादुर पुन मगरलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । उनीहरुमध्ये जावेद अझै फरार छन् भने बस्न्यात केन्द्रीय कारागार, सुन्धारामा छन् ।

मंगलबारै आदेश आउने भनिए पनि वकिल धेरै भएका कराण थुनछेक बहस नसकिएपछि बुधबार मात्रै आदेश आएको हो ।

अदालतको आदेशपछि नरेशलाई थुनामुक्त गर्न कागजी प्रक्रिया पूरा गरिँदैछ । ‘उहाँले रकम जम्मा गर्दै हुनुहुन्छ’, श्रेष्ठले अनलाइनखबरसँग भने ।

गुण्डा नाइके समिरमान सिंह बस्न्यातका दुई सहयोगी पवन खड्का र सुरेन नगरकोटीको नरेशसँग सम्बन्ध देखिएपछि उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो ।

तर, उनी अस्वस्थताको कारण देखाउँदै वसुन्धरास्थित चिरायु अस्पतालमा राखिएका थिए ।

अदालतमा बयानका क्रममा थापाले बस्न्यातसँग आफ्नो चिनजान नभएको दाबी गरेका थिए भने उनलाई नभेटेको पनि बताएका थिए ।

पछिल्लो केही महिनायता उपत्यकाका निर्माण व्यवसायीलाई निश्चित रकम तोकेर नदिए गोली हानी हत्या गरिएका शरदकुमार गौचनको हालत बनाइदिने भन्दै धम्की आउने गरेको थियो । त्यो धम्की जेलमा रहेका गुण्डा नाइके समिरमानको योजनामा आएको प्रहरी निष्कर्ष थियो । त्यसैले उनलाई मुस्ताङ कारागारमा सरुवा गर्न खोजिएको थियो ।

तर, समिरकी श्रीमती माया र दाइ सुधिरमानले अदालतले रिट हालेपछि उनको सरुवा रोकिएको थियो ।

समूहका सदस्य पक्राउ परे छुटाउन सहयोग गरिदिने अपेक्षामा समूहमा गृहमन्त्रीका भाइ नरेशलाई प्रयोग गरेको देखिएको प्रहरी दाबी थियो । तर, अदालतले उनको प्रकरणमा संलग्नता देखिने स्पष्ट प्रमाण अभाव भएको जिकिर गरेको छ ।

निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले जाेहरी दिएपछि ब्युरोका डीएसपी निरञ्जन दत्त भट्टले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा अदालतसम्म पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?