+
+
Shares

संविधान संशोधन होइन खारेज : गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २ गते १०:०५

२ असोज, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव डा. ओम गुरुङले संविधान खारेज हुनुपर्ने बताएका छन् ।

जनजाति महासंघलगायत विभिन्न संघसस्थाले बुधबार राजधानीमा आयोजना गरेको ‘संविधान संशोधनका सवालहरू’ विषयक छलफल कार्यक्रममा उनले भने, ‘यो संविधान संशोधन गरेर पार लाग्दैन, खारेजै गर्नुपर्दछ ।’

मोहन वैद्य नेतृत्वको नेकपा माओवादीको अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्षसमेत रहेका डा. गुरुङले संविधान जनविरोधी भएकाले खारेज गर्नुपर्नेमा जोड दिए । ‘संविधान संशोधन गर भन्नुको अर्थ संविधानलाई स्वीकार्नु हो’ कार्यक्रममा गुरुङले भने ।

समाजवादी पार्टीकी केन्द्रीय सदस्य कमला हेमचुरीले भने संविधान पुनर्लेखन गर्नुपर्नेमा जोड दिइन् । संविधानले दलित समुदायको अधिकार सुनिश्चित गर्न नसकेको उनको दाबी छ । हेमचुरीले भनिन्, ‘यो संविधान अधिकारको नभई शक्ति सन्तुलनको दस्तावेज हो ।’

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल संविधान संशोधन गर्ने कि नगर्ने ? गर्ने भए कुन–कुन विषयमा गर्ने ? भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताए । व्यक्तिगत रूपमा भने आफू संविधानको समर्थन वा विरोधमा नभएको उनको भनाइ छ ।

कार्यक्रमका अर्कावत्ता नेपाली कांग्रेस नेता इन्द्रबहादुर गुरुङले आफूहरू १४ प्रदेश बनाउनु पर्ने पक्षमा रहेको बताए । लेखक युग पाठकले अधिकार माग्नेहरूले विद्यमान ज्ञान प्रणालीमाथि नै प्रश्न उठाउन सक्नुपर्ने बताए । त्यस्तै, अधिकारकर्मी सरोज रायले मधेसी, आदिवासी जनजाति, दलित, अल्पसंख्यकहरू एकजुट भएर संघर्ष गर्न नसकेको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?