
२ असोज, काठमाडौं । रुपन्देहीको रोहिणी गाउँपालिका–५ मा आइतबार महेन्द्र कुर्मीलाई गोली हानी हत्या गरिएको घटनाको अनुसन्धान पेचिलो बन्दै गएको छ ।
घटनाको गम्भीरतालाई हेरेर प्रहरीले काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीलाई पनि बोलाएको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देही स्रोतका अनुसार प्राविधिक सहयोगका लागि ब्युरोबाट एउटा अनुसन्धान टोली लगिएको हो ।
स्रोतले भन्यो, ‘काठमाडौंबाट गएको टोलीले बुधबारदेखि काम थाल्नेछ ।’
आइतबार हिमालयन बैंकमा रहेको करिब ५ लाख रुपैयाँ झिक्न कुर्मी पत्नी विजयलक्ष्मी र एक वर्षका छोरासहित भैरवहा गएका थिए । तर, फर्किँदा उनलाई लखेटेर गोली हानी हत्या गरिएको थियो ।
लक्ष्मी र छोरालाई भने लात्ताले हानेर नालीमा फ्याँकिएको थियो ।
अभियुक्तको दृश्य कैद
प्रत्यक्षदर्शीका अनुसार गोली हान्ने अभियुक्त मोटरसाइकलमा सवार थिए भने रुमालले मुख छोपेका थिए । तर, उनीहरुको दृश्य नजिकै रहेको क्लोज सर्किट (सीसी) क्यामरामा कैद भएको छ ।
प्रहरीले ती दृश्यको समेत विश्लेषणबाट अनुसन्धान थालेको छ । यद्यपि, अभियुक्त भने सुनौली नाकाबाट भारततिर पुगिसकेका छन् ।
अभियुक्त नेपाली नागरिक थिए वा भारतीय भन्ने चाहिँ खुलिसकेको छैन । यद्यपि, हालसम्मको अनुसन्धानले भारतीय नागरिकतर्फ नै इंगित गरेको स्रोत बताउँछ ।
भारतीय नागरिककै संलग्नता भए पनि नेपालीको समेत सहयोग हुनुपर्ने आशंका गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख एसपी हेम थापा भन्छन्, ‘हामी अनुसन्धान गरिरहेका छौं । तर, अहिलेसम्म उपलब्धी हाँसिल भइसकेको छैन ।’
ओमसतिया गाउँपालिका–५ का कुर्मी गाउँमा खेती किसानी गर्दै आएका थिए । वैदेशिक रोजगारीका लागि मलेसिया गएर फर्किएका उनी पछिल्लो समय गाउँलेलाई ब्याजमा ऋण पनि दिन थालेका थिए ।
यो पनि पढ्नुस्
रुपन्देही गोलीकाण्डको नालीबेलीः मलेसियाबाट फर्केर बनाएको संसार गोलीले उडायो
प्रतिक्रिया 4