+
+

कथा : अर्को पुरुष

शशी थापा पण्डित शशी थापा पण्डित
२०७६ असोज ४ गते ९:१०

‘लौ न, दुलही ल्याइसके । अब मादल बजाउन छोड । अब बेण्ड बाजाको तालमा नाचौँ हामी ।’ दुलही हेर्न कुरिरहेका एकथरि महिला कराए ।

घिन्ताङ् घिन्ताङ् बजिरहेको मादल र गाइरहेको रत्यौलीको आवाज बन्द हुन्छ । अघिसम्म पर-परबाट चिहाइ रहेका पुरुषहरु बाहिर निस्कन्छन् र ब्याण्ड बाजाका तालमा कम्मर मर्काउन थाल्छन् । त्यसमा महिलाहरु मिसिएपछि विवाहको माहौल पूर्णरुपमा रंगीन हुन्छ ।

यही कोलाहलको वातावरणमा लामो श्वास फेर्छ हेमांङ्ग नाची रहेका झुण्डलाई हेर्दै । अर्धाङ्गनिी बनाएर भित्र्याएको छ गौरीलाई आज उसले । आमा-बाबुलेे धेरै पहिलेदेखि बुनेका सपना साकार पारेर छोरो भएको कर्तव्य पूरा गरेको महसुस गरेँझैँ सन्तुष्ट देखिन्छ ऊ ।

नयाँ ठाउँ, नयाँ मान्छे जसले गर्दा एक किसिमको रोमाञ्च मिश्रित डरले गौरीको सर्वाङ्ग- उत्तेजना र जिज्ञासाले अस्थिर भएको छ ।

आमाको रूवाइले तिनको मुटु नै फुट्लाजस्तो भएको थियो केही बेरअघि मात्रै । अहिले त्यो सबै बिर्सिएर मनको कुनामा लाज अनि डरले कहिले मन खुम्च्याउँदै, कहिले फुकाउँदै समयको यस परिवेशलाई अँगालो हाल्दैछिन् । अपरिचितको भीडमा आफू मात्र नवपरिचित बनेर गौरी ।

‘बेहुली त असाध्यै लच्छिनकी होलिन् जस्तो छ । हातगोडा बच्चाकै जस्ता मुलायम र साना रहेछन् । मुख पनि कति बान्की परेको ! उज्यालो मोहडाको रहेछ । गाउँकी नै भए पनि यस सहरका अप्राकृतिक सुगन्ध धसेकाहरू भन्दा त कति राम्री कति रहिछे बेहुली त ।

कहाँ भेटिस् ए साँहिली यस्ती राम्री बुहारी’, भीडबाट एक वृद्धा बोल्छिन् । अरूहरू पनि हो मा हो मिलाउँछन् । तर, आधुनिक तरूनीहरूलाई यस्ता कुरा अनौठो लाग्छ । उनीहरु मुख लेप्य्राउँदै छन् यी वृद्धाको बोलीलाई हियाउँदै प्रतिरोध गर्छन् । बेहुलीले पुलुक्क ती युवतीहरुलाई हेरी र मनमनमा खुसी भई ।

विवाहको घर न हो, मान्छे आउने-जाने क्रम बाक्लै छ । दुलही हेर्न र ढोगभेट गर्न आएकाहरूले दुलहीको घुम्टो उघार्दै प्रशंसायुक्त आशीर्वादका वचन बोलिरहेका छन् ।

गौरीलाई नयाँ ठाउँ, नयाँ परिवेश, विभिन्न हाउभाउ भएका नयाँ मान्छेसँगको संसर्गले अनौठो संसारजस्तो अनुभूति भइरहेछ । नौलो वातावरण सकभर आफूलाई भिजाउने कोसिस गरिरहेकी छे ।

एकजना अधबैँसे महिलाको स्वर उनको कानमा ठोकियो । तिमी त सधैँ हेर्न पाइहाल्छ्यौ नि साइँली, आज त हामीलाई हेर्न देऊ न ।

‘हेर्नुस् हेर्नुस् ठूल्दिदी, तपाईँकी पनि त बुहारी हो नि,’ अलि ठट्यौली पाराले अर्की वृद्धा बोलिन् । सबैजना गलल्ल हाँसे ।

‘सायद सासू हुनुपर्छ’ दुलहीको मनले सोच्यो ।

आफ्नो सासू कस्ती रहिछन्- हेर्न मन लाग्यो उनलाई । तर, मर्यादा भन्ने चीजले छेकबार लगायो सायद, मुन्टो उठाएर हेर्न सकिनन् । घोप्टाइरहिन् मुन्टो । कुनै आवाजप्रति कुकुरले कान ठाडो पारेजस्तै कान भने ठाडो बनाउँदै ।

‘आजको जमानाको पढेलेखेकी केटी भएर पनि कति लजाएकी, मुन्टो दुखेन निहुरिरहँदा ?’ एकजनाले चिउँडो समातेर उठाइन्, ‘म तिम्री आमाजू हुँ । हामी त बेहुली भएर जाँदा यस्तोविघ्न लजाएका थिएनौंँ ।’

‘हो हो, हामीले थाहा पाएका थिएनौं र ! भिनाजुले नाम सोध्दा लाजले भन्दै नभनेको होइन ?’ बहिनी चाहिँले भनिन् ।

दिदी अलि लाज मान्दै रिसाएजस्तो गरेर जवाफ दिइन्, सायद आफ्नो पोल खुलेको हुनाले ।

दोपट्टा साडी, जडीमिश्रित तासको चोलो, शिरमा घुम्टो, झरिझट्ट सुनका गहनाहरू, तिलहरी, हातभरि राताचुरा, पाउमा छमछम बज्ने पाउजु अनि मुखमा सुगन्धित क्रिमपाउडर, निधारमा टीका, आँखामा गाजल ओठमा लाली अनि अलिअलि मिसिएको लाज । उनको नारी- सौन्दर्य छर्लङ्ग भएको छ यतिबेला ।

आजको पहिरनमा आफैंले आफूलाई राम्री भएको महसुस गरिरहेकी गौरीलाई उपस्थितहरूले उनको रूप र सौन्दर्य माथि गरेका तारिफले उनीभित्र लेकेको सौन्दर्यको लालीमा झन बढाइ दिएको छ ।

‘आहा ! कस्ती राम्री दुलही, हाम्रो दाजु हेमांग त भाग्यमानी रहेछन्,’ ढोकाबाहिर हेमांकलाई देखेर दुलहीसँग बसेका केटीहरूले जिस्काउँछन् ।

‘भित्र आउनुहोस् न दाइ । हेर त लाज मानेको,’ सबै एकै स्वरमा जिस्क्याउछँन् र उल्लिबिल्लि खेलाउँछन् ।

घुम्टोभित्र भएकी बेहुलीको अनुहार गर्व मिश्रित लाजले रातो हुन्छ । कल्पनाको प्रत्यक्ष मूर्तिको आवाज पर्छ कानमा ।

‘हेर त यी छडौलीहरू दाजुलाई जिस्काउन पनि पछि पर्दैनन् ।’

जुन आवाजमा गौरीले आफ्ना मर्दभित्र एक किसिमको मर्दानी शैली भेट्दछिन् । घुम्टोभित्रैबाट उनले आˆनो बेहुलाको अनुहार नियाल्छिन् । शिरदेखि पाउसम्मको तस्वीर आँखाले खिच्दछिन् । लज्जामिश्रित अनौठो उल्लासको लहरमा तिनका सर्वाङ्ग प्रवाहित हुन थाल्छ । अनजानमै तरंगीन पुग्छिन् र एक प्रकारको छटपटाहट उनीभित्र फैलन्छ ।

बेहुलीको रूपमा कोठामा एक्लै बसेकी हुन्छि्रन् । हेमांग ढोकामा चुकुल लगाउँदै गौरी भएतिर आउँछन् र बिस्तारै छेवैमा बसेर घुम्टो उघार्दै आफ्ना बलिष्ठ पाखुराको अङ्कमालले गौरीलाई सुस्तरी-सुस्तरी आफ्नो छातीमा टाँस्दै टाँस्दै लग्दछ । आफ्नी परीको अनुहार चिउँडो उठाउँदै एक टक लगाएर हेरिरहन्छ झिमिक्कै नगरी ।

शरिरभरी उसमा कामदेव विष्फोटन हुन थाल्छन् । टाउकोबाट घुम्टी झिकिदिन्छ मुख वरीपरि छरिएका गौरीका कपालहरू पन्छाइ दिन्छ । घाँटी छेउमा झरेको कपाल मुखले च्यापेर पन्छाउँछ र सुस्तरी सुस्तरी गर्धनमा, घाँटीमा, चिउँडोमा चुम्बन गर्छ ।

बिस्तारै आफ्नो आलिंगनमा समाहित गर्दै-गर्दै गौरीका छातीमा चलबलाउन थाल्छन् उसका हात । गौरी समर्पणको भावमा साथ दिँदै जान्छे सहमति स्वरूपमा विना हलचल । यो क्रम बिस्तारै शरीरका विभिन्न भागहरूसम्म सलबलाउन थाल्छन् ।

जति नलजाऊँ भने पनि गौरी लाजले रातो हुन थाल्छिन् । उनको पनि यस मिलनमा ब्यग्रता थियो । धेरै अघिदेखिको सपना यथार्थमा परिणत हँुदै थियो आज ।

हेमांङ्गको छातीमा पूर्णरूपमा आफ्नो शरीर छोडिदिन्छे गौरी । सम्वादहीन हुन्छन् दुवै । तर, शारीरिक अवयवहरू बोलिरहन्छन् एकअर्का माथि धावा बोल्दै ।
पर कतैबाट रेडियो गुञ्जिरहेको हुन्छ…

‘आज म म होइन, अर्कै जस्तो
तिमी तिमी होइन अर्कै जस्तो’

एक वृद्ध आवाजले गौरी झल्याँस्स हुन्छिन् । ‘दुलहीलाई केही खान दिन्छौ कि हेरी मात्र रहन्छौ ?’

आफ्नै मनभित्रको कल्पना भए पनि उनी लाजले रातो हुन्छिन् ।

‘मेरी सबैभन्दा सानी नातिनीबुहारी कति राम्री रहिछे,’ भन्दै छेवैमा बसेर गौरीको टाउकोलाई मुसार्न थाल्दछिन् यी वुद्धा ।

कल्पना यथार्थमा परिणत हुने यो क्षणमा उनलाई अब त्यहाँको हूल उकुसमुकुस हुन थाल्दछ । यो भीडबाट अलग आफू र हेमांग मात्रको कल्पनामा सिँगौरी खेल्न थाल्छ उनको मथिङ्गल । त्यस हूललाई छोडेर एकान्तमा छुट्टएिर आफ्नो कल्पनाको राजकुमारको अँगालोमा बेरिन पाए… सम्झना मै उत्तेजित हुन्छिन्, आगामी परिकल्पित घटनाले ।

‘समयको तन्काइ रिलको धागो झैं चुढाउन पाए हन्थ्यो नि,’ लामो निस्वास छोड्दै कल्पिन्छिन् । एक क्षण अगाडिको डर, लाज न्यास्रो केही कम भएको महसुस हुन्छ । यस छोडिएको निस्वासमा । अब बिस्तारै त्यस कोठामा भएको आवाजले उनलाई झिँझो गरेजस्तो लाग्न थाल्दछ ।

त्यहाँको वस्तुस्थितिलाई पर पन्छाएर उही पुरानो कल्पनामा मग्न हुन थाल्दछिन् । उनको मन ती बेहुली बनेका नारीहरूका मन सरह नै कल्पिरहेछ मिलनको प्रतिक्षामा आज । कल्पनाको यस मीठो मञ्जरीलाई उनी दोहोर्‍याउँछिन्, तेहर्‍याउँछिन् ।

कसैकी बेहुली भएर कल्पनाभन्दा पर यथार्थको धरातलमा आइपुगी सकेकी छन् । पराइको कोठाभित्र जमिसकेकी कसैको नासो बनेर । एउटा नयाँ पुरुषको नयाँ कोठामा जुन उनको बिहानसम्मको पुरानो कोठाभन्दा पृथक ।

केहीछिन अघिसम्म आफन्तसँगको वियोगले छटपटिएको मन अहिले कसैको मिलनको प्रतीक्षामा तड्पिएको छ बेस्सरी । तिनलाई अनौठो लागेको छ यो समय । वियोग अनि प्रतिक्षाको दुरी बीचको खाडल देखेर ।

‘भाउजू खाना खानुस् ।’

उनी कल्पनाबाट यथार्थमा झसङ्ग हुन्छिन् । बिस्तारै लाजमिश्रित स्वरमा भन्छिन् ‘आज मलाई भोक छैन ।’

‘त्यसो भनेर कहाँ हुन्छ ? हाम्रो लाज लाग्यो होला । सबै जना बाहिर जाउ“m अनि भाउजूले खाना खानुहुन्छ ।’
‘होइन, होइन, हजुरहरू बस्नुहोस् ।’

‘समय धेरै बितिसक्यो…, भाउजूलाई थकाइ लागेको होला । सुत्न नदिएर किन यिनीहरू त्यहाँ बसिरहन्छन् ? भोलिको दिन नै नआउने जस्तो, बतुर्नीहरू ।’

तल मझेरीबाट अलि पाको आवाजमा शब्द गुन्जन्छ । सायद सासू बोलेको हुनुपर्दछ । उनी त्यस नितान्त नौलो ठाउँमा अड्कलसँगै आफ्नो सोच मन्थन गर्दै परिचय दिँदै जान्छिन् ।

उनको यौवनका फूल फूलेदेखिको सपना आज साकार हुने बेला नजिकिँदै छ । उनको धड्कन झन्-झन् तीव्र गतिले धड्कन थाल्दछ ।

‘नयाँ मान्छे जोसँग एक शब्द पनि बोलेको छैन, आज उसैको बेहुली भएर यथार्थमा आएकी छु । के कुरा गर्ने होला, मैले कसरी उसको सामना गर्ने होला,’ फुसफुसाउँछिन् ।

आफैैं झस्किन्छ मन । तर, तुरुन्तै सम्भावित विपरीत लिङ्गीको स्पर्शले तरङ्गित हुन थाल्छ पनि । यही लाज र खुसीको सम्मिश्रणमा उनको मन गुज्रिँदै छ । जुन सेकेन्ड सेकेन्डमा झन्-झन् तीव्र र व्याकुल बन्दै छ ।

‘के मेरोजस्तै उहाँको मन मुटु पनि यस मिलनमा तड्पिएको होला त ?’ उनी आफैसँग प्रतिप्रश्न गर्छिन् ।

‘तिमीलाई कस्तो लाग्यो त हाम्रो ठाउँ र यहाँका मान्छे ?’ यो हेमांगको दुलहीसँग कुरा सुरु गर्ने माध्यम मात्र थियो ।

भीडको कोलाहाल पछिको शून्य कोठाको माहोलमा आफैंभित्रका तरंगमा हराउँदा पुरुषको आवाजले झसङ्ग हुन्छिन् ।

शीर उठाएर हेर्छिन् । आफ्नो मिलनका लागि भएको व्यग्रताको अन्तिम पल सुरु भइसकेको पाउँदा उनी लाज र सरमले झन् निहुरिन्छिन् । जसमा एक किसिमको खुसी अनि आनन्द भेट्टाउँछिन् समागमको ।

‘मेरो यो विवाह…’ केही क्षण अडि्कन्छ हेमाङ्ग ।

झया्लनिर गएर एउटा हातले उघि्ररहेको झ्यालको खापामा समाएर अँध्यारोमा बाहिरको ताराहरूलाई हेदैँ बोल्छ हेमांग, ‘बाहिर कोही उभिएको छ । म तिमीलाई परिचय गराउन चाहन्छु ।’

आकाशको एउटा चम्किलो तारालाई आँखै नझिम्काई एकटक लगाएर हेरिरहन्छ हेमांङ्ग केही समयसम्म ।

फेरि बोल्छ, ‘मैले आजको विवाह बाबुआमाको साह्रै करकापले गर्दा उहाँहरूको मन राख्न र उहाँहरूको बुहारी पूर्तिको लागि मात्र गरेको हुँ ।’

‘तिमीलाई विवाह अगाडि धेरै पटक भन्न खोजेको थिएँ तर….।’ अगाडि फर्कन्छ र गौरीको मुखतिर हेर्दै बोल्छ ऊ ।

आजको युगमा यस्तो कुरा गर्ने लोग्ने मानिस हुन सक्छ भन्ने उसले कल्पना पनि गरेकी थिइन । गौरी सपना हो की विपना अलमल्ल पर्छे । अगाडि उभिएको पुरुषको अनुहार तिर हेर्छे- देख्दै छे आजको बेहुला उसको सपनाको राजकुमार जसका आँखामा कुनै उत्साह अनि खुसीको तरंग देख्दिन । गौरी सुहागरातको यो पल ।

झ्याल छेउमै उभिरहन्छ हेमाङ्ग । ‘मेरो यथार्थ कुरा थाहा पाएर पनि कोही केटीले स्वीकार्छ भने मात्र विवाहको लागि स्वीकृति लिन्छु भन्ने थियो । सायद तिमीले यस विवाहलाई स्वीकार्थ्यौ या अस्वीकार गर्थ्यौ । त्यो समय रहेन अब ।’

‘मेरो घरबाट बुहारीका रूपमा पाउने अधिकार र समाजमा मेरो श्रीमतीको रूपमा पाउने अधिकार सबै तिमीले उपभोग गर्न पाउनेछौ । तिमीले चाहृयौ भने तिमी आमा पनि बन्न सक्छौ । यो तिमी र मसँग मात्र सीमित रहन्छ । मात्र एउटा नाटक अनि सम्झौता तिमी र मैले खेल्नुपर्ने छ त्यो पनि जिन्दगीभरको लागि । तर, मैले दिने माया अनि हामी बीचको पति-पत्नी बीचको सम्बन्ध भने तिमीले पाउन सक्दिनाँैं त्यसका लागि मलाई माफ गर । तर तिमीबाट जन्मिएको बच्चाले मेरो नाम पाउने छ ।’

एकछिन अघिसम्म गौरीका मनभित्रका खाली पानाहरूमा मायारूपी उठेका ज्वारभाटाहरू र समर्पणका भावहरू, श्रद्धाका सुमनहरू, प्रेममय सुगन्धहरू अनि यौवनमा फुलेका मालारूपी शृङ्गारहरू अनि समागमको चरणोत्कर्षको अवस्था एकै निमेषमा चिरा-चिरा परेर छिन्नभिन्न भए । उनको मुटुबाट मुटु नै चुँडिएर युद्धमा छिनाइएको शत्रुका टाउका र गिँड छुट्टएिर असिम पीडामा चल्मलाएजस्तो भयो । मन, मुटु अनि शरीर आफैँसँग हराएझै भयो । हैन के सुन्दैछु ? म सपनामा छु कि विपनामा ऊ बरबराउँछे बेहोसिमै । चिमोट्छे पाखुरामा । तर, दुखाइले होस फर्काउँछ ।

जुन प्रेमको तृष्णाले लालायित भएको उनको मुटु, प्रेमका मूल फुटेर शरीरभरि तरङ्ग बनेर फैलिएका रतिरागहरू अनि विपरीत लिङ्गको स्पर्शको रोमाञ्चले भरिएर छिनछिनमा स्वखलित भएको उनका प्यास एकै निमेशमा जेठको चर्काे धुपमा खडेरीमा मुर्झाइएका हरिया सागका मुनाझैँ भए । हेमाङ्गको शव्दसँगसँगै मन अनि शरीरका अंगहरू ।
उनको दिमागले केही सोच्नै सकेन, अकल्पित घटनाले मस्तिष्क शून्य भयो ।

स्वर्गको त्यो आनन्द अनि चाँदनीको चाँद टिपेर चुल्ठो सजाइदिने बाचाजस्तै जीवनका हरेक यात्रामा बाचाबन्धन बाधिँदै जालान् । यस सुहागरातको विस्ताराबाट ती बाचाहरू बाँधिने क्रम सुरु हुँदै जालान्, आफ्नो नितान्त आफ्नो मात्र हक लाग्ने पुरुषसँगको आशा यहाँ तुहिँदै थियोे यही समयदेखि त्यही पुरुषको शव्दहरूले ।

हेमाङ्गले भने जस्तो कुनै बाध्यताहरू र सम्झौताहरूको नाममा करार नामा लेख्नुपर्ने थिएन र पनि लेखियो उनको जीवनमा । मेरो विश्वासमाथि घात किन भयो यो पनि सोच्न सकिनन् यो बेला । दिमाग नामको यन्त्र कसरी गायब हुँदो रहेछ अकल्पित घटनाहरूको मोडमा । त्यही शून्य भोग्दै छे ऊ ।

केही निमेष अगाडि जिन्दगीका बारेमा फुलेका गौरीका सपनाका सुन्दर फूलहरू- चैते हुरीबतासले आरूका फूलहरू उडाएझैँ कसरी उडायो हेमाङ्गको एउटै बाक्यले । अनि कसरी निभायो कल्पनाको मीठो दीपावली परालको आगोसरि एकै निभेषमा झर्‍यापझरूप ।

शून्य मस्तिष्कमा पनि चस्स घोच्दै छ बिउँतने प्रयासमा पीडाले । आखिर सबै सिद्धिइसकेको थियो । उनको जीवनमा कालो छाँया बोकेर हिँडिरहेको थियो रात । निस्पट्ट कालो अँधेरी रात । झन्-झन् निस्पट्ट गाढा अँधेरो हुँदै थियो बाहिर ।

उसको चेतनाले सात पटकसँगै घुमेको जग्गे । जहाँ वेदका मन्त्रसँगै पुरेत बाहुनले मन्त्रहरू फुक्दै दुवैलाई दुवैका लागि खुवाएको कसम । उसको आमाबाबुले ‘हाम्रो मुटुको टुक्रा, हाम्री प्यारी छोरी तपाईंलाई सुम्पियौं, मारे पाप पाले पुण्य’ भनेर खुवाएको कसम । ऊ घरिघरि त्यहीँ पुग्छे र खाएका कसम र वेदका मन्त्र के हो सुल्झाउन सक्दिनँ ।
जन्मँदै लिएर आएको भर्खरै छुटेको गोत्र र अहिले जोडिएको भनिएको गोत्र कहाँनेर ऊ छे, त्यो पनि फेला पार्न सक्दिनँ ।

निर्निमेष भएर हेरिरहँदै छ त्यो ढोकातर्फ जहाँबाट देखिँदैछ उसको लोग्ने भनिएको पुरुषले अर्काे पुरुषलाई अंकमाल गरेर शरीरका विभिन्न अंगमा चुमेको दृश्य । जुन कोठामा उसको यही कोठाबाटै छिर्न मिल्छ । जहाँ किताबका र्‍याकहरूमा फिलोसोफीको किताबहरू पनि देखिरहिछे ऊ यतैबाट । उसको लोग्नेको जीवनको फिलोसोफी जस्तै पल्टिरहेछन् किताबहरू ।

अब उसले जीवन नामको पुस्तकमा नयाँ अध्याय लेख्नु छ । यसका लागि उसले यही बेलादेखि तयारी गर्न थाली ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?