Comments Add Comment

‘ओलम्पिक कमिटी नेकपाको भ्रातृ संगठन होइन’

अब भौतिक संरचनाले साग अड्काउँदैनः जीवनराम श्रेष्ठ

४ भदौ, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (मंसिर १५-२४) नजिकिँदै जाँदा भौतिक पूर्वाधारको पिरलो बढ्दो छ । पूर्वाधारमा सरकारको काम गराई हेर्दा समयमै निर्माण सम्पन्न हुनेमा आश्वस्त हुन सकिँदैन । यही बीचमा दशैं-तिहार पनि पर्ने भएकाले तयारीका कामहरु प्रभावित बन्नेछन् । लामो समयदेखि निर्माणाधीन दशरथ रंगशाला सकिएको छैन भने पोखरा रंगशालाको काम प्रारम्भिक अवस्थामै छ । अन्य खेलकुद संरचनाको अवस्था पनि सन्तोषजनक छैन ।

समयमै नेपालले प्रतियोगिता आयोजना गर्न सक्छ भन्नेमा समेत प्रश्नहरु पनि उठ्न थालेका छन् । यही अन्योलबीच नेपाल ओलम्पिक कमिटीले नयाँ नेतृत्व पाएको छ । जीवनराम श्रेष्ठ कमिटीका अध्यक्ष बनेका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत युवा तथा खेलकुद उपसमितिका संयोजकसमेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले गत हप्ता दशरथ रंगशालालगायत विभिन्न खेलस्थलको अवलोकनसमेत गरे ।

अध्यक्ष श्रेष्ठ सागको तयारीमा केन्द्रित भएर अनलाइनखबरका सरोज तामाङले गरेको कुराकानी :

१३ औं साग खेलकुदका लागि निर्माणाधीन भौतिक संरचनाको यसै साता निरीक्षण गर्नुभयो । के पाउनुभयो ?

सागको लागि तोकिएको काठमाडौं र ललितपुरका खेलकुद पूर्वाधारहरु निरीक्षण गरियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट ब्रिफिङ पनि सुनियो । राखेप सदस्यसचिव रमेश सिलवाल, ठेकेदार कम्पनी र इन्जिनियरसँग पनि मैले छलफल गरेँ ।

सागको उदघाटन र समापन हुने दशरथ रंगशाला निर्माणाधीन अवस्थामै छ । कतिपय संरचनाहरु कुनै अन्तिम चरणमा छन् भने कुनै निर्माणाधीन छन् । समग्रतामा भन्दा १३ औं सागको लागि खेलकुद संरचना निर्माणको अवस्था सन्तोषजनक नै छ । आयोजना गर्नका लागि कुनै पनि भौतिक संरचनाले असर नगर्ने प्रतिबद्धता पाएका छौं ।

बि्रफिङअनुसार सबै कामहरु समयमै पूरा भएमा प्रतियोगिता हामी भव्यताका साथ सम्पन्न गर्न सक्छौं । निरीक्षणपछि अझ विश्वास बढेको छ ।

दशरथ रंगशालाकै धेरै काम त बाँकी नै छ नि होइन र ?

मैले भनेँ नि, उहाँहरुको ब्रिफिङ र हाम्रो फिल्ड भिजिटमा आफ्नै आँखाले हेरेका छौं । त्यहाँ इन्जिनियरदेखि ठेकेदारसँगको कुराकानी गर्दा समयमै सकिने दाबी छ । अब भीआईपी प्याराफिटतर्फको छानाको सामग्री आउँदै छ भन्ने सुनेको छु । अरु त त्यहाँ मसिना काम मात्रै हुन् । कुर्सी राख्ने, साउन्ड सिस्टम, रङ्गरोगन र डेकोरेसन तथा मैदान राम्रो बनाउनमा समस्या देख्दिनँ ।

सरकारले पनि कात्तिक दोस्रो साता सबै भौतिक संरचना निर्माण सम्पन्न गर्ने भन्ने छ । निरीक्षणकै क्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा पनि उपस्थित हुनुहुन्थ्यो । विश्वकप फुटबलको दोस्रो चरणको कुवेतविरुद्धको होम खेल रंगशालामै खेलाउने उहाँहरुको प्रस्ताव छ ।

भनेपछि नेपाल र कुवेतबीचको ‘होम गेम’ रंगशालामा होला त ?

कुनै पनि ठूला इभेन्टहरु गर्नुभन्दा अगाडि परीक्षणको लागि परीक्षण इभेन्टहरु पनि गर्नुपर्ने हुन्छ । त्यसैले विश्वकप छनोटको कुवेत र नेपालबीच कात्तिक २९ गते हुने खेललाई १३ औं साग खेलकुदको लागि परीक्षणको रुपमा लिनेछौं ।

पोखरा रंगशाला, अन्य खेल मैदान र कभर्ड हलहरुमा चाहिँ कत्तिको ध्यान दिनुभएको छ ?

निर्माणाधीन अवस्थामा रहेका संरचनाहरु केही त सम्पन्न पनि भइसकेका छन् । केही फिनिसिङ हुँदैछन् धमाधम ।

कतिपय नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ), निजी क्षेत्रको खेलकुद संरचना पनि प्रयोग गर्ने भनिएको छ । यसमा खेलको स्तरअनुसार स्तरोन्नती गर्ने र सजावट गर्ने भन्ने कुरा मात्रै हो ।

पोखराको हामीले हेर्न बाँकी छ । तर त्यहाँ पनि मुख्य कुरा त रंगशाला नै हो । मैदानमा प्राकृतिक गाँस कि कृत्रिम भन्ने विवाद टुंगिएर प्राकृतिकमै जाने सहमतिअनुसार काम भइरहेको भन्ने रिपोर्ट पाएका छौं । रंगशाला समयमै सम्पन्न हुन्छ भन्ने आश्वासन पाएका छौं ।

समग्रतामा मलाई भौतिक संरचना निर्माणकै कारण १३ औं सागमा कुनै बाधा अड्चन हुन्छ भन्ने लाग्दैन ।

साग आयोजना गर्न भौतिक संरचनासँगै व्यवस्थापकीय पक्षका चुनौतिहरु पनि छन् । यसमा के भइरहेको छ ?

चुनौती त हरेक तहमा हुन्छ नै । हामीसँग समय सीमित छ । कुनै पनि कामलाई फेरि पुनरावलोकन गरेर नयाँ ढंगबाट गर्न भ्याइन्न । हामी जे गर्छौं एकैपटक फाइनल गर्छौं । त्यो गर्नै पर्छ ।

१३ औं सागको लागि समिति बनाउने र जिम्मेवारी दिने मुख्य काम हो । यसको लागि कार्यविधि नभएको हुनाले केही अप्ठ्यारो पर्न आएको छ भन्ने कुराहरु हामीलाई सरकारको तर्फबाट जानकारी आएको थियो ।

कार्यविधि पनि गएको हप्ता मन्त्रिपरिषदबाट पास भएर आइसकेको छ भन्ने हामीले जानकारी पायौं । चाँडै नै तयारी समितिको बैठक राखेर बाँकी कामहरु सम्पन्न गर्ने सदस्य सचिवबाट जानकारी पाएको छु ।

 तर साग अगाडि दशैं-तिहार छ । यो समयमा त काम प्रभावित होला नि ?

हामीसँग समयको छुट छैन । दशैं, तिहार, छठजस्ता पर्वहरु यही बीचमा छ । यो बेलामा कामदारलाई कसरी परिचालन गर्नु हुन्छ भनेर हामीले ठेकेदारहरुसँग पनि कुरा गर्‍यौं । उहाँहरुले कामलाई निरन्तरता दिने र निर्धारित मितिमै सक्ने भनेर वैकल्पिक योजना सुनाउनुभएको छ ।

सागको कामसँग जोडिएर जिम्मेवारीमा रहने व्यक्तिहरुले यो सबै कुरालाई मध्यनजर राखेर तयारीका कामहरु अगाडि बढाउनु पर्छ । बजेटको कुरामा पनि सरकारले निकासा स्वीकृत गरेको भन्ने जानकारी पाएको छु । यी सबै कुराहरु समयमै हुँदा हामीलाई समस्या छैन ।

साग खेलकुद तोकिएकै समयमा हुन्छ त भनेर बन्द प्रशिक्षणमा रहेका खेलाडीले नै सोध्ने गरेका छन् । आयोजनाको विषयमा उनीहरु नै आश्वस्त हुन नसकेको देखिन्छ नि ?

तपाईंले महत्वपूर्ण प्रश्न गर्नुभयो । यो प्रश्न मलाई पनि गरेका छन् । यो शंका पैदा हुनुको कारण भनेको हामीले विगतमा पटक-पटक मिति सार्‍यौं । त्यसले गर्दा यसपालि पनि आशंका उत्पन्न हुनु स्वाभाविक हो । तर, मलाई लाग्छ अबचाहिँ आशंका गर्नुपर्ने अवस्था छैन ।

डिसेम्बर १ देखि १० तारिखसम्म हामीले अन्तिमपटक भनेर मिति सारेका हौं । योभन्दा पनि पछाडि मिति सार्नसक्ने अवस्था नै छैन । २०२० मा १३ औं साग हुनै सक्दैन । किनभने नेपालको मौसमको हिसाबले भन्ने हो भने डिसेम्बरमै चिसो सुरु भइसकेको हुन्छ ।

अर्को कुरा २०२० मा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरु छन् । कुनै पनि देशहरु तयार हुँदैनन् । पाकिस्तान, श्रीलंका, भारतले सल्लाह गरेर हामीलाई पत्र पनि पठाइसकेका छन् । हामी सबै सागको लागि अभ्यासमा छौं, तर त्योभन्दा पछिको समयमा सक्दैनौं भनेर हामीलाई सूचना पनि दिइसकेका छन् ।

अब कसैले पनि यो मितिमा हुँदैन कि भनेर आशंका गर्नु पर्दैन । खेलाडीले अन्यौल बोकेर बस्नु पर्दैन । राम्रोभन्दा राम्रो प्रदर्शन गर्दै मेडल जित्नेतर्फ ध्यान पुर्‍याउनुपर्छ ।

तपाईँ त खेलकुदको दोहोरो भूमिकामा हुनुहुन्छ । नेपाल ओलम्पिक कमिटीले सागको लागि कतिको समन्वयकारी भूमिका खेलेको छ ? राखेप सदस्यसचिव र तपाईंबीच खासै सौहार्दता छैन भनिन्छ नि ?

तपाईंले यो कसरी सुन्नुभयो ? गलत हल्ला हुन् । हामीबीचमा कुनै मनमुटाव छैन । हाम्रा आफ्ना-आफ्ना कामका क्षेत्रहरु छन् ।

नेपाल ओलम्पिक कमिटीको तर्फबाट गर्नुपर्ने कामहरु हामीले गरेका छौं । यो आयोजनालाई सुनिश्चित गर्ने कुरा हो । राष्ट्रिय गौरव र नेपालीको प्रतिष्ठासँग जोडिएको यो ऐतिहासिक अवसर हो ।

नेपालबाटै सुरु भएको साग खेलकुद नेपालले तेस्रोपटक आयोजना गर्ने अवसर प्राप्त गर्दैछ । यो अवसरलाई कुनै पनि हिसाबले गुम्न दिनु हुँदैन भन्दै हामीले धेरै मेहनत गरेर मिति तय गरेका छौं । सबै राष्ट्रहरुलाई निमन्त्रणा पठाइसकेका छौं । सहभागिताको सुनिश्चितता उहाँहरुले गरिसक्नु भएको छ ।

अब नेपाल ओलम्पिक कमिटीको कुरा गरौं । दोस्रोपटक अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । पहिलेभन्दा यो कार्यकालमा के फरक हुनेछ ?

हामी लामो समयदेखि अनेक खालका उतारचढाव तथा द्वन्द्वमा पर्‍यौं । वैधानिक र अवैधानिकको विवादका कारण पनि हामीले राम्रोसँग काम गर्न पनि पाएनौं ।

म अध्यक्ष भइसकेपछि करिब डेढ वर्ष कार्यालयमा तालाबन्दी भएर बाहिरै बसेर काम गर्नु पर्‍यो । यस्तो परिस्थितिमा पनि नेपाल ओलम्पिक कमिटीले आफ्नो काम र कर्तव्यलाई निरन्तरता नै दियो ।

यहाँ विवाद भयो भन्दैमा हामीले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुनबाट बञ्चित गराएका छैनौं । अहिले पनि सन् २०२० मा हुने जापान ओलम्पिकको लागि १२ जना खेलाडीलाई मासिक पाँच सय डलरको छात्रवृत्ति दिइरहेका छौं । उहाँहरु अभ्यासमा हुनुहुन्छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट सोलिडारिटी प्रोग्राम ल्याएर छात्रवृत्ति, प्रशिक्षणलगायतका कार्य गरेका छौं ।

वैधानिकताको विवादचाहिँ अब अन्त्य भएको हो ?

अन्त्य गर्दैछौं । नेपाल ओलम्पिक कमिटीमा देखिएको विवादलाई सदाको लागि अन्य गर्दै अब एउटै ओलम्पिक भएर अगाडि बढ्ने भन्ने समझदारी विकास भइसकेको छ ।

नेपालमा अब हामी ओलम्पिक अभियानलाई अझ प्रभावकारी ढंगबाट लान्छौं । सरकारसँग पनि हामी हातेमालो गरेर खेलकुदको विकास गर्न प्रभावकारी ढंगबाट अगाडि जानेछौं ।

यो पटक निर्वाचित भएर आउनु भएका अन्य साथीहरु कत्तिको जुझारु पाउनुभएको छ ?

सबै राम्रै साथीहरु आउनुभएको छ । खेलकुदमा योगदान दिएकै साथीहरु हुनुहुन्छ । त्यसकारण उहाँहरुले कामको दौरानमा धेरै कुरा बुझिसक्नु भएको छ । केही नयाँ साथीहरुले पनि कामकै दौरानमा बुझ्नु हुनेछ ।

अब हामी योजनाबद्ध ढंगले अगाडि बढ्ने छौं । पारदर्शी ढंगबाट सबैलाई महसुस हुने तरिकाले जानेछौं । मुलुकमा विवादलाई अन्त्य गरेर एउटै ओलम्पिकसहित ओलम्पिक अभियानलाई प्रभावकारी ढंगबाट लैजान्छौं ।

ओलम्पिक चुनावलाई नेकपाभित्रकै दुई गुटको प्रतिस्पर्धाका रुपमा पनि हेरियो । खेलकुदमा यसरी राजनीति घुस्नु दुःखद कुरा होइन ?

केका आधारमा यस्ता समाचारहरु आए भन्ने मैले बुझ्न सकेको छैन । यो पार्टीको शाखा त होइन । पार्टीको भातृ संगठन पनि होइन । यो त अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको नेपाल च्याप्टर हो ।

समाचार अलिक रोचक बनाउन मिडियाले त्यो ढंगबाट पस्केको हो कि मलाई थाहा भएन । होइन भने त खेलकुदको हिसाबले नै विधान, मान्यता, आवधिक निर्वाचनलगायतका पक्ष छन् । हामीले आफ्नो परिवारभित्र नै लोकतान्त्रिक पद्धतिबाट निर्वाचन सम्पन्न गरेका हौं । यहाँ कुनै पार्टीको कुरै आउँदैन । त्यो गर्न पनि मिल्दैन ।

फोटो/भिडियो : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment