Comments Add Comment

प्रचण्डलाई पीडा छ !

५ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले ‘पीडा’मा छन् । उनलाई पीडा दिने तत्व हुन्– अधुरो शान्ति प्रक्रिया, सामाजिक सञ्जालबाट भइरहेको प्रहार अनि नेकपाभित्रको असजिलो ।

प्रचण्डलाई पीडा छ भन्ने कुरा कुनै बाहिरी आरोप होइन । आफूभित्र निकै ठूलो पीडा मडारिइरहेको स्वयं प्रचण्डले स्वीकारेका छन् । भलै, उनले ती पीडाका सबै कारकतत्वको व्याख्याचाहिँ गरेका छैनन् ।

पछिल्ला दिनमा प्रचण्ड पीडामा रहेको प्रमाण उनको ‘बडी ल्याङवेज’ र उतार–चढावपूर्ण अभिव्यक्तिले पनि दिने गरेकै छ । विगतमा निकै कडारुपमा प्रस्तुत हुने क्रान्तिकारी नेता प्रचण्ड अचेल भावुक, गम्भीर एवं चिन्तित प्रतीत हुन थालेका छन् ।

अध्यक्ष प्रचण्ड आइतबार काठमाडौंबाट बिराटनगर विमानस्थल हुँदै सुनसरीको झुम्का पुगे । त्यहाँ थारु समुदायले जितिया पर्वका अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका प्रचण्डले आफूभित्रको पीडा सबैका सामु व्यक्त गरे ।

प्रचण्डले भने, ‘म माओवादी आन्दोलनको नेता । म दुईचोटि प्रधानमन्त्री भइसकें । म अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्ष छु, जसको नेतृत्वमा सरकार छ । मेरै आन्दोलनका दर्जनौं साथी अहिले पनि जेलमा छन् । भनेपछि त्यो पीडा मभित्र कति धेरै होला भन्ने कुरा म सबै नेताज्यूहरुलाई आग्रह गर्न चाहन्छु ।’

जनयुद्धका अगुवा प्रचण्डलाई देशभित्र र बाहिर रहेका विशेष गरी द्वन्द्वको चपेटामा परेकाहरुले बढी आलोचना गर्ने गरेका छन् । यस्तो अवस्थामा आफूले कम बोल्ने र धैर्यता अपनाउनुपर्नेमा प्रचण्डले भावुक अभिव्यक्तिहरु दिने गरेकाले उनका आलोचकलाई थप उत्साहित बनाउने गरेको छ । यही कारण उनी सरकारमा नभए पनि प्रधानमन्त्री, मन्त्रीहरुभन्दा बढी तारो बन्ने गरेका छन्

आखिर नेकपाको दुई तिहाइ बहुमतको सरकार स्थापना हुँदा पनि किन प्रचण्डका कार्यकर्ताहरु जेल परिरहेका होलान् ? ०६३ सालमा शान्ति प्रक्रियामा आउँदै गर्दा ६० दिनमा टुंगो लगाउने भनिएको शान्ति प्रक्रिया अहिलेसम्म टुंगो लाग्न नसकेका कारण प्रचण्डले अहिले पीडाको अनुभूति गर्नु परेको कुरामा कुनै शंका छैन । समयमा काम नगर्ने र फर्सदमा पछुताउने नेपाली नेताहरुको बानीका कारण अहिले प्रचण्डले आफ्नै पार्टीको सरकार चलिरहँदा पनि यस्तो पीडा व्यक्त गरेका हुन् ।

केपी ओली नेतृत्वको सरकारले अलिहेसम्म पनि सत्य निरुपण तथा मेलमिलाप अनि बेपत्ता आयोगलाई पूर्णता दिलाउन सकेको छैन । शान्ति प्रक्रिया टुंगो लगाउने विषयमा ओली सरकार उदासीन देखिँदै आएको छ । यो मुद्दालाई थाती राखेर प्रचण्डमाथि दबाव दिने रणनीतिमा ओली पक्ष रहेको भित्री आंशका पूर्वमाओवादी नेताहरुले गर्दै आइरहेको अवस्था छ ।

यसैबीच टीकापुर काण्डमा जेल परेका राजपा सांसद रेशमलाल चौधरीलगायत अन्यलाई जेलबाट निकाल्ने बारेमा बालुवाटारमा भर्खरै सहमति भएको प्रचण्डले बताएका छन् । तथापि शान्ति प्रक्रियालाई पूर्णता दिनेबारे बालुवाटारमा अझैसम्म किन सहमति हुन सकेन ? यसबारेमा प्रचण्डले केही पनि बताएका छैनन् ।

सुनसरीको कार्यक्रममा आइतबार प्रचण्डले टीकापुर घटनाबारे बालुवाटारमा भएको छलफललाई उद्धृत गर्दै भने, ‘टीकापुर घटनामा जे भएको छ, अस्ति भर्खरै हामीले बालुवारमा यो विषयमा छलफल गरेर सबै झूठा मुद्दाहरु खारेज गर्नुपर्छ भन्ने सैद्धान्तिक निर्णयसहित खारेजीको प्रक्रियामा अगाडि बढिएको छ । मलाई विश्वास छ, केही समयपछि झूठा मुद्दाहरु खारेज हुन्छन् र थारुहरु जो अहिले पनि बन्दी अवस्थामा रहेका छन्, उनीहरु मुक्त हुन्छन् र जनताको मतबाट जितेका माननीयहरुलाई ससम्मान ल्याउने वातावरण बन्छ । मेरो विश्वास पनि म तपाईहरुका अगाडि राख्न चाहन्छु । यो बहस चलिराखेको छ ।’

सामाजिक सञ्जाल, परिवारको जञ्जाल

पछिल्लो समयमा प्रचण्डमाथि सामाजिक सञ्जालमा चर्को प्रहार हुँदैछ । प्रचण्डका पटक–पटकका अभिव्यक्तिलाई लिएर उनीमाथि गाली बर्सिने गरेका छन् । उनको परिवार एवं व्यक्तिगत विषयलाई जोडेरसमेत सामाजिक सञ्जालमा प्रहार हुँदै आएको छ । यद्यपि प्रचण्डले यस्ता आलोचना सुन्ने र त्यसबाट जोगिने उपायको खोजी गरेको भेटिँदैन ।

प्रचण्डले यसअघि पूर्वराजा ज्ञानेन्द्रलाई ‘धेरै बकबक गरे नागार्जुनबाट पनि लखेट्ने’ उदघोष गरे, जसले राजावादीहरुलाई उनीविरुद्ध थप उत्तेजित बनायो । त्यसैगरी उनले अराजक एवं प्रतिगामीहरुविरुद्ध देशव्यापी प्रतिवादमा उत्रन कार्यकर्तालाई आह्वान गरे, जसले उनको आलोचनाको पारो सामाजिक सञ्जालमा अरु बढायो ।

चिनियाँ विदेश मन्त्रीसँगको भेटमा इण्डो प्यासिफिक रणनीतिबारे अमेरिकाको नामै लिएर आलोचना गरेका कारण प्रचण्ड कूटनीतिक क्षेत्रबाट आलोचित बने । भलै उनको लाइन नेपाल सरकारसँग मिल्ने भनिए पनि आलोचनाचाहिँ प्रधानमन्त्री वा मन्त्रीतिर नभएर प्रचण्डतिरै बढ्ता सोझियो ।

जनयुद्धका अगुवा प्रचण्डलाई देशभित्र र बाहिर रहेका विशेष गरी द्वन्द्वको चपेटामा परेकाहरुले बढी आलोचना गर्ने गरेका छन् । यस्तो अवस्थामा आफूले कम बोल्ने र धैर्यता अपनाउनुपर्नेमा प्रचण्डले भावुक अभिव्यक्तिहरु दिने गरेकाले उनका आलोचकलाई थप उत्साहित बनाउने गरेको छ । यही कारण उनी सरकारमा नभए पनि प्रधानमन्त्री, मन्त्रीहरुभन्दा बढी तारो बन्ने गरेका छन् ।

भारतीय गुप्तचर संस्था रअका प्रमुखले केही समय पहिले काठमाडौं आउँदा प्रधानमन्त्री केपी शर्मा ओलीसँग डिनर बैठक गरेको प्रचण्डको सचिवालयका सदस्यहरुको दाबी रहँदै आएको छ । तर, प्रचण्डले मात्रै रअका प्रमुखलाई भेटेको विषय चर्चामा आयो । यसमा वास्तविकता के भएको हो, नेकपा अहिलेसम्म मौन बसिदिँदा प्रचण्ड कोपभाजनको शिकार बने ।

प्रचण्डका घरबेटीले मेलम्चीको ठेक्का पाएको चर्चा बजारमा छ । उनका घरबेटीले प्रक्रियाअनुसार प्रतिस्पर्धा गरेर नै ठेक्का हात पारेका हुन् भने पनि प्रचण्डको नाम जोडिनु स्वाभाविकै हो । किनभने, प्रचण्डले पहिले नै कस्तो व्यक्तिको घरलाई आफ्नो निवास बनाउने भन्ने सोच्नुपर्दथ्यो । उनी बसेको घर छिन्ती पास गरेर किनेको हो या कति रुपैयाँ भाडामा, या नि:शुल्क बसेको भन्ने पनि पारदर्शी ढंगले जनसमक्ष राख्ने काम प्रचण्डको सचिवालयले गर्न सकेको छैन ।

प्रचण्डले आलोचनाको शिकार हुनुपर्ने अर्को विषय हो खानेपानी मन्त्री विना मगर । मन्त्री विना मगरले मन्त्रालयमा राम्रो काम गर्न नसक्दा यसमा प्रचण्डको नाम जोडिने गरेको छ । मेलम्चीमा काम भएन भने प्रचण्डलाई जोड्ने गरिन्छ । प्रचण्डको यो पीडाको एउटै स्रोत हो– बुहारीलाई मन्त्री बनाउनु ।

वीना मगरले आफ्नै क्षमता र योग्यताले मन्त्री खाएको प्रचण्ड निकटस्थहरुको तर्क छ, जुन तर्क जनताको भावनासँग मेल खाँदैन । वीनाको भन्दा बढी त्याग र क्षमता भएका पूर्वमाओवादी नेताहरुले मन्त्री किन पाएनन् र विनाले पाइन् ?

वीनालाई संसदमा टिकट दिँदा नै आलोचना भएको थियो । सांसदको टिकटसम्म त उनले पाउनुसम्मलाई ठीकै मान्न सकिन्थ्यो होला । सांसदको तलब भत्ताबाट उनको जीवन निर्वाहमा पनि समस्या पर्ने थिएन । तर, उनी जब मन्त्री भइन्, यसले ससुरालाई आनन्द हैन, पीडा दिने काम गरिरहेको छ ।

प्रचण्ड तुलनात्मक रुपमा केपी ओलीलगायतका नेताहरुभन्दा मधेसी, आदिवासी जनजाति समुदायका पनि विश्वासपात्र हुन् । प्रचण्डको यो लचकता देशभित्र मेलमिलापपूर्ण वातावरणका लागि सकारात्मक पक्ष हो ।

तर, विगतमा सेना र राजालाई हाँक दिन सक्ने अहिले यति कमजोर भइसकेका छन् कि उनी आफ्नी बुहारी वीना मगरलाई राजीनामा देऊ र अर्को सक्षम नेतालाई खानेपानी मन्त्री बनाऔं भन्न सक्ने अवस्थामा छैनन् ।

प्रचण्डको कमजोरी नै यही रहने गरेको छ कि उनी आफ्नो परिवारप्रति अलि बढी नै उदारवादी छन् । माओवादी पार्टीमा खासै योगदान नभएका कान्छा ज्वाइँलाई उपराष्ट्रपतिको सल्लाहकार बनाउनु यसको पछिल्लो उदाहरण हो । यस्तो कार्यले प्रचण्डप्रति आलोचक र विरोधीहरुले मात्र होइन, पार्टीभित्रैका कार्यकर्ताले पनि प्रश्न उठाउने गरेको पाइन्छ ।

प्रचण्डका निटस्थहरु अर्को एउटा ठूलो भ्रम छ, उनीहरु ठान्छन् कि प्रचण्डलाई जसले आलोचना गरिरहेका छने, उनीहरु सबै प्रतिगामी तत्व हुन् । तर, त्यसो नभएर प्रचण्डले पनि सच्याउनुपर्ने केही चिजहरु छन् भन्ने महसुस न प्रचण्डले गर्न सकेको देखिन्छ, न त उनका निकटस्थहरुले नै । परिवारका सदस्यहरु त झनै उनलाई विवादरहित बनाउनेतिर भन्दा पनि विवादको सुरुङतर्फ धकेल्न उदत्त देखिन्छन् ।

प्रचण्डको दुःखको अर्को स्रोत हो– नेकपाभित्रको असजिलो । लामो समयसम्म पार्टीको प्रथम पुरुष भएर बसेका प्रचण्ड अहिले केपी ओलीको छायाँमा छन् । उनी कहिले ओलीसँग नजिक बन्छन् त कहिले दूरी बढ्छ । नजिक हुँदा सुखी नै रहन्छन्, दुरी बढ्दा पीडामा पर्छन् । तर, यो भवितव्यबाट अन्त जाने विकल्पहरु पुलहरु सबै भत्किइसकेको अवस्था छ ।

यही भएर प्रचण्डले झुम्कामा आफ्नो परम्पारगत भनाइ दोहोर्‍याउँदै भने, ‘फेरि पनि हामीले प्राप्त उपलब्धीको रक्षा गर्ने, त्यहाँ टेकेर फेरि उपलब्धी हासिल गर्न अगाडि बढ्नुको कुनै विकल्प छैन ।’

यति हुँदाहुँदै पनि प्रचण्डका कतिपय सकारात्मक पक्षहरु पनि छन् । सशस्त्र संघर्ष छाडेर शान्ति प्रक्रियामा इमान्दारितापूर्वक आएका उनले अहिलेसम्म हिंसात्मक बाटोको वकालत नगरी आफूलाई इमान्दारितापूर्वक लोकतान्त्रीकरण गर्ने प्रयासमै छन् । विगतलाई छाडेर भन्ने हो भने पछिल्लो समयमा केपी ओली प्रचण्डको तुलना गर्दा प्रचण्डचाहिँ बढ्ता लोकतान्त्रिक संस्कारका प्रतीत हुन्छन् ।

सशस्त्र द्वन्द्वकालको शत्रु नेपाली कांग्रेससँग पनि प्रचण्डको राम्रो सम्बन्ध छ । नेपाली सेनासँग पनि उनको छुद्रपन देखिँदैन । नेकपाभित्र पनि उनको भूमिका पार्टी एकतालाई टुंगोमा पुर्‍याउनेतर्फ नै केन्द्रित देखिन्छ । प्रचण्ड तुलनात्मक रुपमा केपी ओलीलगायतका नेताहरुभन्दा मधेसी, आदिवासी जनजाति समुदायका पनि विश्वासपात्र हुन् । प्रचण्डको यो लचकता देशभित्र मेलमिलापपूर्ण वातावरणका लागि सकारात्मक पक्ष हो ।

तर, बेला–कुबेलामा असान्दर्भिक अभिव्यक्तिहरु दिएर विवादमा तानिइरहने र आफ्नो सचिवालयलाई संस्थागत गर्नुको साटो परिवारको घेरामा सीमित गर्ने कमजोरीकै कारण उनी विवादमा तानिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment