Comments Add Comment

विप्लव समूहका उपत्यका इञ्चार्ज पक्राउ

७ असोज, काठमाडौं । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका उपत्यका ब्युरो इञ्चार्ज नवीन बीके पक्राउ परेका छन् । पक्राउ परेका बिक पूर्व राज्यमन्त्रीसमेत हुन् ।

नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले बीकेलाई ललितपुरबाट पक्राउ गरेको हो ।

प्रहरी स्रोतले गएराति बिक पक्राउ परेको पुष्टि गरेको छ । उनलाई कहाँ राखिएको छ भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।

यसअघि प्रहरीले उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गरेको थियो । त्यसपछि विप्लव समूहले विकलाई लामाले सम्हाल्दै आएको उपत्यका इञ्चार्जको जिम्मेवारी दिएको थियो । तर, जिम्मेवारी सम्हालेको केही महिनामै बिक पनि पक्राउ परेका छन् ।

बिक तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा प्रत्यक्ष संलग्न भएका व्यक्ति हुन् । शान्ति प्रक्रियामा आएपछि एकीकृत माओवादीले उनलाई भेरी–कर्णाली राज्य समितिको सचिवालयको जिम्मेवारी दिएको थियो । ०६४ मा बनेको प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा त उनी तत्कालीन माओवादीको तर्फबाट स्थानीय विकास राज्यमन्त्री नै  बनेका थिए ।

मोहन वैद्यले माओवादी विभाजन गराउँदा प्रचण्डसँगै रहेका उनी पछि वैद्यतिरै लागेका थिए । वैद्यबाट विप्लव अलग भएपछि उनले विप्लवको साथ रोज्दै त्यसका गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment