
मानौं, तपाईंको छोरालाई सामान्य चोट लाग्यो । सानी बच्चालाई आगोले पोल्यो । घरको कुनै सदस्य भर्याङबाट लडेर घाइते भए । छोरीलाई हनहनी ज्वरो आयो । छिमेकमा कसैलाई सर्पले डस्यो । अब के गर्ने ?
यस्तो अवस्थामा हामी अलमलिने गर्छौं । के गरौं, कसो गरौं भन्ने द्विविधामा फस्छौं । घरमै राख्ने कि अस्पताल पुर्याउने ? निर्णय गर्न सक्दैनौं ।
सामान्य चोटपट लागेको अवस्थामा त त्यती गाह्रो हुँदैन । तर, जब सर्पले डस्छ, हात-खुट्टा भाँचिन्छ, आगोले पोल्छ, तब हामी अत्तालिने गर्छौं । यस्तो अवस्थामा पीडितलाई के गर्ने, कहाँ पुर्याउने, कसरी उनको पीडालाई कम गर्ने, कसरी उनलाई सम्हाल्ने ? सोच्न सकिरहेका हुँदैनौं ।
यस किसिमको अलमल र ढिलाईले बेलाबखत पीडितको ज्यान नै जोखिममा पर्न सक्छ । त्यसैगरी अस्पताल टाढा छ भने पनि पीडितको स्वास्थ्य तलमाथि पर्न सक्छ । असाह्य पीडाले, रक्तश्रावले मान्छेको ज्यान जान सक्छ ।
जब यस किसिमको दुर्घटना हुन्छ, तब हामीले तत्काल केही उपचार गर्नुपर्ने हुन्छ ताकि उनीहरुले थप जोखिम मोल्न नपरोस् । अस्पताल पुर्याउन समय लाग्न सक्छ, वा अस्पताल पुर्याइरहँदा पीडितले असाहय दुखाई झेल्नुपर्छ । यस्तो अवस्था आउन नदिनका लागि प्राथमिक उपचार उपयोगी हुन्छ ।
प्राथमिक उपचार भनेको कुनैपनि दुर्घटना लगत्तै गरिने सामान्य रोकथाम विधी हो । तर, प्राथमिक उपचारले संभावित जटिलताबाट छुटकारा दिलाउन सक्छ ।

किन जान्नुपर्छ प्राथमिक उपचार ?
तपाईं, हामी, जो कोही पनि दुर्घटनामा पर्न सक्छौं । हाम्रा परिवकार सदस्यहरु पर्न सक्छन् । घरमा कुनै सदस्य लडेर चोट लाग्न सक्छ । आगोले पोल्न सक्छ । यस्तो अवस्थामा प्राथमिक उपचार जानिएको छ भने संभावित जोखिमबाट बच्न सकिन्छ ।
त्यसैले प्राथमिक उपचारबारे हरेकलाई ज्ञान हुनुपर्छ । यो एक दैनिक जीवनपायनको आधारभूत ज्ञान नै हो । घर परिवारका कुनै न कुनै सदस्यलाई प्राथमिक उपचारबारे ज्ञान छ भने कतिपय अप्ठ्याराबाट सजिलै बच्न सकिन्छ ।
प्राथमिक उपचारको उदेश्य
– संभावित जोखिमबाट बचाउँनु । जीवन बचाउनु ।
– अवस्था अरु खराब वा जोखिमपूर्ण हुन नदिनु ।
– उचित उपचारका लागि सम्बन्धित स्थानमा पुर्याउँनु ।
– अवस्थामा सुधार ल्याउनु ।
प्राथमिक उपचारको सिद्धान्त
उपचारकले सुरुमा आफ्नो सुरक्षालाई पहिलो प्राथमिकता दिनु । यो अस्थायी हेरचाह मात्र हो । मानवतामा आधारित नैतिक सहयोग, निष्पक्षता, टथस्थता, ऐच्छिक सेवा । जानी गर, हानी नगर भन्ने हो ।
प्राथमिक उपचारका मूख्य जिम्मेवारी
-सुरक्षाको स्थिती सुनिश्चित गर्ने
– उपलब्ध साधन श्रोतको उपयोग गर्ने
– जाँच, परीक्षण गर्ने ।
– प्राथमिक उपचार गर्ने ।
– ओसार्ने र विवरण दिने ।
प्राथमिक उपचारका नियमहरु
– दुर्घटनास्थलमा सकेसम्म चाडै पुग्ने प्रयास गर्ने ।
– प्राथमिक उपचार स्वयम् नहडबडाइएकन प्राथमिकताको आधारमा, सिकिस्त र जोखिम भएका घाइतेहरुलाई प्राथमिकता दिएर उपचार गर्नुपर्छ ।
– रोगी तथा नातेदारसाई सान्तवना दिनुपर्छ ।
– रत्तश्राव भएको भए त्यसलाई रोक्ने प्रयास गर्नुपर्छ ।
– घाईते वा पीडितलाई सजिलो एवं आरमसाथ सुताउने ।
– शरीरमा लगाएको लुगा असहज भए फुकाइदिने ।
– सकेसम्म चाडै विशेष उपचारका लागि पठाउने वा पहल गर्ने ।
– उपचार सेवा भएको स्थानमा पुर्याउने ।
प्राथमिक उपचारको क्षेत्र
प्राथमिक उपचारकले रोगी वा चोटपटक लागेका व्यक्तिको जाँच गरेर समस्या वा चोटका सम्बन्धमा सम्पूर्ण जानकारी लिनु ।
उपचार : रोग अथवा चोटको उचित मूल्यांकन पछि जीवन जोगाउने र पुनः चोट लाग्नसक्ने स्थितीबाट बचाउने । समस्याबाट पूर्ण रुपमा छुटकारा दिलाउन पीडितलाई सुरक्षित वा आवश्यक उपचारको निमित्त सुविधा सम्पन्न संस्थामा पठाउने ।
प्राथमिक उपचारमा तुरुन्त गर्नुपर्ने काम
-दुर्घटनास्थलमा तुरुन्तै पुगेर निरिक्षण गर्ने ।
– घाइतेलाई असुरक्षित ठाउँबाट सुरक्षित ठाउँमा राख्ने ।
– प्राथमिकता निर्धारण गरेर काम गर्ने । जस्तो सबैभन्दा चिन्ताजनक अवस्थामा रहेकालाई पहिलो प्राथमिकतामा राखेर उपचार गर्ने ।
– श्वसप्रश्वास निरिक्षण गर्ने । श्वासमार्ग खुकुलो बनाइदिने ।
– रगत बगिरहेको भए कुनैपनि उपया अपनाएर रक्तश्राव रोक्ने ।
– मुटुको चाल बन्द भएको भए तुरुन्तै कार्डियो मसाज दिने ।
– हात खुट्टा भाँचिएको भए काम्रो बाध्ने । घाइतेलाई धेरै हलचल नगराई होशियारीपूर्वक बोकेर उपचारका लागि स्वास्थ्य संस्थामा पुर्याउने ।
– दुर्घटनाको रेकर्ड राख्ने ।
– ३ देखि ४ मिनेटसम्म अक्सिजन मस्तिष्कमा पुगेन भने बे्रन डेड हुने भएकाले दुर्घटनामा परेका घाइतको श्वास प्रश्वास निरन्तर गराउन प्राथमिक उपचारको महत्वपूर्ण भूमिका छ ।
– यसमा श्वास भित्र लिने र बाहिर छाड्ने भए प्रयाप्त छ कि छैन हेर्ने ।
– यदि सास फेरिरहेको छैन भने श्वास प्रश्वासको गति ढिलो छ भने मुखबाट मुख जोडेर श्वासप्रश्वास गराउने ।
प्रतिक्रिया 4