युएई । आइतबार साँझ आबुधाबीको बब अल कासर होटलमा विभिन्न देशका पाहुनाहरु आइरहेका थिए । सभाहलमा नेपाली संस्कृति झल्कने प्रस्तुति सुरु भयो । पाहुनाहरुको ध्यान त्यतै केन्द्रित थियो ।
नेपाली दूतावास युएईले चौथो संविधान दिवसको अवसरमा कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी युएई सरकारका परराष्ट्र तथा अन्तर्राष्ट्रिय सम्बन्ध मामिला मन्त्रालयका सचिव अहमद सरी अल मजोरोईले दूतावासले कार्यक्रम स्थलमा राखेको फोटो, नेपाली उत्पादन सामग्री तथा प्रदशनी कलाको रुचिपूर्वक अवलोकन गरे ।
साथै अन्य विदेशी पाहुनाहरुले नेपाली कला सँस्कृतिले मिनी नेपालको झल्को दिएको भन्दै नेपाल घुम्नै पर्ने प्रतिकृया जनाए ।
सहभागी मध्येका एक विदेशी पाहुनाले भने, ‘नेपाल स्वर्गको टुक्रा रहेछ । हामीले यहाँ महसुस गर्यौं तर प्रत्यक्ष हेर्न आफ्नो जीवनकालमा एकपटक नेपाल पुग्नै पर्ने भयो ।’

ध्यानपूर्वक नेपाली कला संस्कृतिको अवलोकन गरिरहेका पाहुनालाई यहाँ कार्यरत नेपाली तथा दूतावासका कर्मचारीले नेपालबारे जानकारी गराउँदै थिए ।
कार्यक्रममा सहभागी विदेशी पाहुनालाई चिया कफी तथा नेपाली उत्पादन कोशेली दिइएको थियो । नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै निर्यातजन्य सामग्री कोशेली स्वरुप प्रदान गरिएको हो । यसले उनीहरुलाई झनै आकर्षण गर्यो । र, नेपाल घुम्न लोभ्यायो ।
शुक्रबार यहाँ सार्वजनिक विदा भएकाले आइतबार कार्यक्रम आयोजना गरियो । युएईमा रहेका अन्य १०५ देशका नियोगहरुलाई आमन्त्रण गरिएको कार्यक्रममा ५१ देशका राजदूत तथा ५४ उपनियोग प्रमुख तथा अन्य मुलुकका बिभिन्न निकायका प्रतिनिधि सहभागी थिए ।
नेपाली उत्पादन र नेपालको कला संस्कृति झल्किले नाच तथा झाँकीको अवलोकन गरे ।

‘नेपाल र नेपालीको समृद्धि युएईको चहाना’
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी युएई सरकारका परराष्ट्र तथा अन्तर्राष्ट्रिय सम्बन्ध मामिला मन्त्रालयका सचिव अहमद सरी अल मजोरोईले नेपाल र नेपालीको समृद्धि चाहेको बताए ।
उनले भने, ‘युएईमा कार्यरत नेपालीको श्रमलाई उच्च सम्मान गर्दै नेपालको विकासमा युएईले सहयोग गर्न चाहेको छ ।
मजोरोईले द्विपक्षीय कुटनीतिक तथा कलासँस्कृति र पर्यटन प्रबर्धनमा समेत चासो राख्नेको राजदूत कृष्णप्रसाद ढकालले बताए ।
कार्यक्रममा विशेष स्वागत मन्तव्य राख्दै राजदूत ढकालले युएई तथा अन्तर्राष्ट्रिय समुदायले नेपाललाई गर्दै आएको सहयोगको प्रशंस गरे ।
नेपाल सधैं स्वतन्त्र मुलुक भएका कारण संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरेको जनाए ।
साथै नेपालको सविधान दिवसको अवसरमा संसारकै अग्लो भवन बुर्ज खालिफामा निःशुल्क नेपाली झन्डा फरफहराई दिएकोमा युएई सरकारलाई धन्यवाद समेत व्यक्त गरे ।
कार्यक्रममा दूतावासकी उपनियोग प्रमुख तथा प्रवक्त्ता रिता धिताल, द्वितीय सचिव बिष्णु अधिकारी, श्रम काउन्सिलर भेषबहादुर कार्की, श्रम सहचारी मोतिराम भुसाल, दूतावासका स्थानीय कर्मचारी, संघसंस्था र राजनीतिक दलका प्रतिनिधि तथा यहीँ कार्यरत केही नेपालीहरुको सहभागिता थियो ।
  
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4