Comments Add Comment

प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेटवार्ता

७ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ विदेश विभाग प्रमुख सोङ ताओबीच मंगलबार विहान भेटवार्ता भएको छ । काठमाडौंको होटल मेरिओटमा भएको भेटमा दुबै देशका कम्युनिष्ट पार्टीका गतिविधि बारे कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटका क्रममा नेकपा अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल र नेपाली जनतामा गरेको सहयोग र सद्भावप्रति धन्‍यवाद दिएका छन् ।

उनले दुई कम्युनिष्ट पार्टी बीचको आपसी सम्बन्धलाई नयाँ स्तरमा विकास गर्ने र एकअर्काका अनुभवहरु साटासाट गरेर अगाडि बढ्ने पनि बताए । ‘नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिष्ट पार्टीको सहयोग आगामि दिनमा अझ बढ्ने मैले विश्वास लिएको छु’ भेटघाटमा प्रचण्डको भनाइ उधृत गर्दै उनको सचिवालयले भनेको छ ।

चिनियाँ विदेश विभाग प्रमुख ताओले दुबै पार्टीका अनुभव साटासाट गर्ने साझा कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका छन् । उनले कम्युनिष्ट पार्टीका लागि सिद्धान्त ठूलो कुरा भएको बताउँदै यसलाई अझै मजबुत बनाउनुपर्ने औल्याए । ‘देशको आर्थिक विकास मुख्य कुरा हो, विकास गरेर नै जनताको मन जित्न सकिन्छ, ’ ताओले भेटका क्रममा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment