
बार्सिलोना। स्विट्जरल्याण्डका लागि नेपाली राजदूत मणीप्रसाद भट्टराईले इमान्दारीपूर्वक सबैले आफ्नो कर्तव्य निर्वाह गरेमा ‘समृद्ध नेपाल सुखी नेपालीको’ नारा सफल हुने बताएका छन्। जेनेभास्थित नेपाली दूतावासले चौंथो संबिधान दिवस तथा राष्ट्रिय दिवसको अबसरमा राजदूत भट्टराईले यस्तो बताएका हुन्।
आइतबार दूताबासले जेनेभामा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले सबैले आ-आफ्नो ठाउँवाट इमान्दारीपूर्वक कर्तब्य निर्बाह गर्न जरुरी रहेको बताए। राजदूत भट्टराईले भने, ‘चार वर्षअघि जारी भएको यो संविधानले नेपाली जनतालाई अधिकार सम्पन्न बनाएको छ। अधिकारको दृष्टिकोणले पनि विश्वको उत्कृष्ट संबिधान हो। त्यसैले अब समृद्ध नेपाल निर्माणका लागि सबै मिलेर हातेमालो गरौ ।’
मुलुकले राजनीतिक स्थिरता पाइसकेको भन्दै मुलुकमा लगानी गर्न उनले गैर आवासीय नेपालीहरुलाई अनुरोध समेत गरे। ‘राजनीतिक बाहेकको आर्थिक र सामाजिक हकसहितको नागरिकता गैर आवासीय नेपालीहरुलाई प्रदान हुने ब्यबस्था संविधानले गरिसकेको छ। नेपाल कानून आयोगले यहाँहरुकै परामर्शमा कानून निर्माण पनि गरिरहेको छ। यहाँहरु पनि नेपाली नागरिक सरह नै अधिकार सम्पन्न हुनुहुनेछ,’ राजदूत भट्टराईले भने।
एनआरएनहरुको लगानी, प्रविधि, पुँजी, र ज्ञान र सीपलाई सरकारले बिशेष महत्व दिएको भन्दै उनले यसका लागि दूतावासले साझेदारीमा आर्थिक कुटनीतिको कार्यक्रम संचालन गर्दै आएको समेत बताए। भिजिट नेपाल २०२० को कार्यक्रमलाई सफल पार्न सक्रिय सहभागिताका लागि पनि राजदूत भट्टराईले जोड दिए।
दूतावासका उपनियोग प्रमुख तीर्थराज वाग्लेले स्वीसवासी नेपालीसँग समन्वय गरेर नै अगाडि बढ्ने बताए। कार्यक्रममा स्विट्जरल्याण्डस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरुले बोलेका थिए।
मन्जु फूयाँलको नृत्यसँगै राष्ट्रगानबाट आरम्भ गरिएको समारोहमा लक्ष्मण देवकोटाले कविता वाचन गरेका थिए । दिपेन्द्र रावत, नीता कपूर, गौरी गुभाजुलगायत स्थानीय कलाकारहरुले गीत संगीत प्रस्तुत गरेका थिए ।
यसैबीच बैधानिक रुपमा रहने प्रक्रियामा पुगेका केही नेपालीहरुलाई स्वीस सरकारले नेपाल फिर्ता पठाइदिएकोबारे एनआरएनले दूतावासको ध्यानआकर्षण गराएको छ।
वैधानिकरुपमा रहने अधिकारको पर्खाइमा रहेका नेपालीहरुलाई फिर्ता पठाइएको बारे संघले दूताबासलाई चासो राख्न अनुरोध गरेको हो। एनआरएनए स्विटजरल्याण्ड अध्यक्ष शिव सुब्बा र प्रस्तावित आइसीसी सदस्य भूमिराज गुरुङले यसबारे दूतावासको ध्यानआकर्षण गराएका हुन्।
प्रतिक्रिया 4