Comments Add Comment

विदेशी विनिमय सञ्चितिमा सुधार, १० महिनाको वस्तु आयात धान्ने

७ असोज, काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा विदेशी विनिमय सञ्चितिमा सुधार भएको छ ।

आर्थिक वर्ष २०७५/७६ को अन्तिम महिना ८.९ महिनाको वस्तु र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति थियो । तर आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा बढेर विदेशी विनिमय सञ्चितिले १०.२ महिनाको वस्तु आयात र ८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

कुल विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँ रहेकोमा बढेर २०७६ साउन मसान्तमा १० खर्ब ६४ अर्ब ६४ करोड पुगेको छ ।

अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ साउन मसान्तमा ९ अर्ब ३८ करोड रहेको राष्ट्र बैंकले बताएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रहेकोमा २०७६ साउन मसान्तमा रु.९२१ अर्ब ५३ करोड रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको छ विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १३६ अर्ब ४७ करोड रुपैयाँ रहेकोमा २०७६ साउन मसान्तमा १४३ अर्ब ११ करोड रुपैयाँ रहेको छ । २०७६ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.२ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १०.२ महिनाको वस्तु आयात र ८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः ३०.७ प्रतिशत, ७३.५ प्रतिशत र २९.८ प्रतिशत रहेका छन् । २०७६ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment