Comments Add Comment

टिप्स : स्वस्थ खसी कसरी छान्ने ?

डा.राम नन्दन तिवारी

८ असोज, काठमाडौं । दशैं आएपछि नेपालमा मासुको विक्री ह्वात्तै बढ्छ । थोरै उपभोग गर्ने वा आर्थिक स्थिति कमजोर भएकाहरु तौलेर मासु किन्छन् भने धेरै उपभोग गर्नेहरु खसी नै ढाल्छन् ।

मासु मानिसका लागि महत्वपूर्ण पौष्टिक आहार पनि हो । तर, मान्छेका लागि मात्र नभएर किटाणुका लागि पनि यो उत्तिकै पौष्टिक हुन्छ । त्यसैले मासुको सेवन गर्दा स्वस्थतामा ध्यान दिइएन भने मानिसका लागि विष खाए भन्दा कम हुँदैन ।

मानव शरीरमा किटाणूको सबैभन्दा छिटो आक्रमण मासुकै कारण हुन्छ । त्यसैले दशैंको मासु उपभोक्ताका लागि स्वस्थकर हुनु जरुरी छ । मासुलाई गोठदेखि ओठसम्म पनि भन्ने गरिन्छ । गोठबाट विभिन्न प्रक्रिया हुंदै ओठसम्म आईपुग्दा यसको दूषित मात्रा कम हुनु जरुरी छ ।

किसानले गोठमा पालेको वस्तु उपभोक्ताले कुनै पनि तरिकाबाट मासुको रुपमा प्राप्त गर्दा स्वस्थ हुनुपर्छ । पहिलो त किसानले निरोगी पशु बजारमा पठाउनु पर्छ ।

सामान्यतया घरमा पालेको पशु स्वस्थ छ कि छैन भन्ने ज्ञान किसानलाई हुन्छ । तथापि ठूलो चाड र पैसा आउने भएकाले यो समयमा रोगी पशुहरु पनि बजारमा आईपुगेका हुन्छन् । मासुको धरै माग हुने ठूला शहरहरुमा टाढा–टाढादेखि ढुवानी गरेर खसीबोका लगायतका पशु ल्याईदा उनीहरु बिरामी पर्ने, मर्ने गर्छन् ।

त्यसैले खसी किन्दा उपभोक्ता सचेत हुनु अति आवश्यक छ । पहिलो त किन्ने खसी अस्वस्थ हुन सक्छ भने दोस्रो पसलबाट किन्ने मासु पनि त्यस्तै हुनसक्छ । स्वस्थ खसी के र कस्तोलाई मान्ने ? पसलबाट किन्ने मासु स्वस्थ छ कि छैन कसरी थाहाँ पाउने । यहाँ तपाईंका लागि केही टिप्स दिइएको छ:

स्वस्थ खसी कसरी छान्ने ?

· बाहिरबाट हेर्दा टाठो देखिने

· उभिएको छ र फूर्तिकासाथ हिंडडुल गर्न सक्ने्

· आखाँबाट कचेरा ननिस्कीएको

· नाकबाट सिंगान नबगेको

· मुखबाट र्‍याल नझारेको

· खुट्टाहरु नसुन्निएको, भुँडी नढाडिएको

· सामान्य रुपमा दिशा पिसाब गर्ने गरेको

· बाख्रा प्रजातीको औषत तापक्रम १०२ देखि १०४ सम्म हुने भएकाले तपक्रम छामेर पनि कति स्वस्थ छ अनुमान लगाउन सकिन्छ

· राम्रोसंग घाँस–पात पिठो खाने

· सकभर दूब्लो दूब्लो खसीको मासु स्वास्थकर हुन्छ ।

ढुवानीकर्ताले कसरी स्वस्थ खसी ग्राहकसम्म पुर्‍याउने ?

खाजा–पानी र दिसा–पिसाव गरेर यात्रा गर्ने मानिसलाई त यात्रा अवधिभर तनाव र अस्वस्थता रहन्छ भने पशु स्वस्थ रहने कुरै भएन । लगानी गरेर ल्याएका वस्तु नास हुने अवस्था नआउनका लागि र उपभोक्तालाई राम्रा वस्तु बेच्नका लागि पशुको ढुवानी पनि स्वस्थकर हुनु पर्छ । त्यसका लागि निम्न कुराहरुमा ध्यान दिनुपर्छ ।

– किसानबाट खरिद गरेको पशुलाई आरामसँग वधशाालसम्म पुर्याउनु पर्छ

– सार्वजनिक सवारी साधनको डिकी, छत वा भित्र कहिँ पनि राखेर पशु ढुवानी गर्नु हुँदैन

– यात्रा अवधिभरमा ठाउँ–ठाउँमा रोकेर पशुलाई घाँस–पात खुवाउने तथा आराम गराउने गर्नुपर्छ । यात्रा गराएर ल्याउने बितिक्कै पशुलाई बध गर्नु हुन्न

– यात्राकै क्रममा बिरामी भएका पशु छन् भने त्यसलाई उपचार गरेर मात्रै बध गरिनु पर्छ ।

– बध गरिनु २४ घण्टा अगाडिबाट पशुलाई अन्न खान नदिए राम्रो तर पानी खुवाउन मिल्छ ।

– खसीको निश्चित आयु नभएकाले कुनै न कुनै कारणले उ मर्छ भने त्यो कारण हानिकरक नै हुन्छ । मरेका वस्तुको मासु मानिसको स्वास्थको लागि पनि हानिकारक मानिन्छ

स्वस्थ मासु कसरी चिन्ने ?

पसलबाट मासु किनेर खानेहरुले स्वस्थ मासु कसरी चिन्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । मासु स्वस्थ भए नभएको मूख्य गरेर मानवीय ज्यानेन्द्रीयबाटै जान्न सकिन्छ ।

· मासु गन्हाएको वा नगन्हाएको सुँघेर थाहा पाइन्छ ।

· मासुबाट सेतो पानी बगेको वा मासु चिप्लो भए नभएको हेरेर पनि जान्न सकिन्छ । धेरै दिनदेखिको बासी मासु राम्रो फ्रीजिङ नभएको अवस्थामा त्यस्तो हुन्छ ।

· कहिलेकाहीँ कालो वा धेरै निलो भएको अवस्थामा मासु बिग्रीएको प्रष्टै देख्न सकिन्छ ।

· काटेको मासु डिप फ्रिजमा राखेको छैन भने त्यो मासु पनि स्वस्थ नरहन सक्छ ।

(पशु चिकित्सक तिवारीसँग गरिएको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment