
९ असोज, रामेछाप । लिखु तामाकोसी गाउँपालका सर्वसाधारणले स्थानीय सरकारले दिने सेवा सहजरुपमा नपाएको गुनासो गरेका छन् ।
गाउँपालिको वडानम्बर १ र २ मा स्थानीयको समस्याबारे जिल्ला प्रशासन कार्यालय रामेछापले आयोजना गरेको कार्यक्रममा उनीहरुले प्रमुख जिल्ला अधिकारीसमक्ष यस्तो गुनासो गरेका हुन् ।
कार्यक्रमा लिखु तामाकोसी-१ दुरागाउँका स्थानीय बासिन्दाले वडा सचिव नभेटिने, पशु सेवा कार्यालयमा कर्मचारी नहुने, कृषिका प्राविधिक गाउँमा नआएको, भूकम्पले घर भत्किएकाहरु अझै पनि लाभग्राहीको सूचीमा नपरेको गुसानो गरे ।
गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुको विवादको कारण विकास योजना प्राभावित भएको स्थानीय बासिन्दाको आरोप छ ।
यस्तै वडानम्बर २ सैपुका सर्वसाधारणले जिल्ला सदरमुकामदेखि गाउँसम्म आउने सडक मर्मत हुन नसकेको, गाउँपालिकाको आन्तरिक विवादले विकासका काम अघि बढ्न नसकेको र कर्मचारीले समेत तलव खान नपाउने अवस्था रहेको गुनासो गरेका छन् ।
कार्यक्रममा स्थानीय बासिन्दाको गुनासोपछि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लिलाकुमारी केसीले रिक्त रहेको वडा सचिवको लागि लोकसेवा आयोगमा माग गरी पठाइ सकिएको र दशैंपछि हाजिर हुने जानकारी गराइन् ।
अन्य गुनासोका सम्बन्धमा सरोकारवालाई बोलाएर छलफल गरी समस्या समाधान गरिने प्रजिअ केसीले बताइन् ।
कार्यक्रममा सहभागी लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द खड्काले गाउँपालिकाको आन्तरिक समस्याको कारण हाललाई विकास बजेट रोकिएको भए पनि त्यो सधै कायम नरहने बताए । उनले समस्या समाधानको लागि आफूले काम गरिरहेको दावी गरे ।
प्रतिक्रिया 4