Comments Add Comment

प्रदेशमा लगानी भित्राउन संघीय कानून बाधक : मुख्यमन्त्री राउत

९ असोज, बुटवल । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय ऐन कानूनहरु झन्झटिलो र लगानीमैत्री नभएको गुनासो गरेका छन् । तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनलाई बिहीबार रुपन्देहीमा सम्बोधन गर्दै उनले केन्द्रीकृत र एकात्मक मानसिकता संघीय सरकारले नत्यागेसम्म लगानीमैत्री वातावरण बन्न नसक्ने बताए ।

स्थानीय तहमा पहिलोपटक तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेर संघीयतामा स्थानीय तह पनि सक्षम छन् भन्ने सन्देश दिएको बताउँदै उनले भने, ‘स्थानीय, प्रदेश र संघीय सरकारबीच कानून निर्माण र सोंचमा एकरुपता हुनुपर्छ ।’

कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय र स्वदेशी उत्पादन अनिवार्य प्रयोगको नीति तीनै तहका सरकारले बनाउनुपर्नेमा जोड दिए ।

पूर्व अर्थमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल, रुपन्देही ३ का प्रतिनिधिसभा सदस्य एवं नेकपा स्थायी समिति सदस्य घनश्याम भुसाल, नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खांण र रुपन्देही क्षेत्रनम्बर १ का प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले नेपाल-भारत सीमा नाका, देशको मध्यभाग, ६ लेन सडक, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी जस्ता पूर्वाधार र सम्पदाले तिलोत्तमामा गरिने लगानी सुरक्षित हुने धारणा राखे ।

भारतले गरेको नाकाबन्दीका बेलामा समेत बेलहिया नाका अवरुद्ध नभएको स्मरण गर्दै उनीहरुले रुपन्देही भारतसँग मात्र नभई चीनसँगको अन्तर्राष्ट्रिय ब्यापारिक नाका हुन सक्ने औंल्याए ।

तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनको पूर्वप्रधानमन्त्री एवम् नेकपा अध्यक्ष प्रचण्डले उदघाटन गरे । करिब ५० अर्ब लगानी भित्राउने लक्ष्यसहित २२ परियोजना अघि सारिएको सम्मेलनमा नेपालका साथै भारत, चीनसहितका विदेशी मुलुकबाट समेत करिब पाँच सय जना सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment