Comments Add Comment

तिलोत्तमामा लगानी सम्मेलन शुरु

९ असोज, बुटवल । रुपन्देहीको तिलोत्तमामा लगानी सम्मेलन शुरु भएको छ । काठमाडौं बाहिर पहिलोपटक आयोजित लगानी सम्मेलनको पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गरे । सम्मेलन उदघाटन समारोहमा बोल्दै प्रचण्डसहित विभिन्न दलका नेताहरुले रुपन्देहीमा गरिने लगानी सुरक्षित हुने र उच्च प्रतिफल प्राप्त हुने बताएका छन् ।

करिब ५० अर्ब लगानी भित्र्याउने लक्ष्यसहित २२ परियोजना अघि सारेर नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा नेपाल, भारत र चीनसहित विदेशी मुलुकबाट समेत गरी पाँच सय जना लगानीकर्ता सहभागी छन् ।

सम्मेलन आयोजक तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सम्मेलनमा कृषि, उद्योग, पर्यटन, यातायात र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित २२ परियोजनाहरु प्रस्ताव गरिएको र कम्तिमा १० परियोजनामा सम्झौता हुने अपेक्षा रहेको बताए ।

सम्मेलनमा तिलोत्तमा एकीकृत कृषि उपज संकलन तथा प्रशोधन केन्द्र -कोल्ड स्टोरसहित), तिलोत्तमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र, तिलोत्तमा ११ गणेशनगरमा ढाक्रेबास एकीकृत पर्यटकीय आयोजना, मिनी नेपाल, तिलोत्तमा क्यान्सर अस्पताल, तिलोत्तमा रेल्वे (रिङरोडमा) लगायत प्रस्ताव राखिएको छ ।

सम्झौता हुने परियोजनालाई नगरपालिकाले ३०-४० वर्षसम्म भाडामा जमिन उपलब्ध गराउने छ । जग्गा भाडा प्रतिकट्ठा पाँच हजार रुपैयाँ मात्र तोकिएको छ ।

नगरपालिकाले न्यूनतम ५० जनासम्मलाई रोजगारी दिने उद्योग तथा परियोजनालाई पाँच वर्षसम्म व्यावसायिक करमा ५० प्रतिशत छुट दिने जनाएको छ ।

यस्तै, तीन सयसम्मलाई रोजगारी दिनेलाई १० वर्षसम्म व्यावसायिक करमा ७५ प्रतिशत छुट दिइने नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

पाँच सय जनासम्मलाई रोजगारी दिने परियोजनालाई १२ वर्षसम्म व्यावसायिक करमा ९० प्रतिशत छुट दिने र पाँच सयभन्दा बढीलाई रोजगारी दिने परियोजनालाई १५ वर्षसम्म व्यावसायिक करमा शतप्रतिशत छुट दिने निर्णय नगरपालिकाको बैठकले गरेको छ ।

कृषिमा आधारित दुग्ध उद्योग, माछाभुरा उत्पादन, मत्स्यपालन, प्रशोधन एवं प्याकेजिङ, कोल्ड स्टोरलगायत परियोजनालाई स्थापनाको सात वर्षसम्म व्यवसायिक कर र नक्शा पासमा ५० प्रतिशत छुट दिइने नीति बनाइएको छ ।

उदघाटन सत्रपछि कृषि, पर्यटन, उद्योग र यातायात क्षेत्रमा लगानीका संभावना र चुनौतिका समूहगत छलफल हुने तिलोत्तमा नगरपालिकाका प्रवक्ता श्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment