Comments Add Comment

नलगाड जलविद्युत् आयोजनामा लगानी गर्न जाइका तयार   

९ असोज, काठमाडौं । सरकारले जाजरकोटमा आयोजनास्थल रहेको नलगाड जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउने गरी जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग समझदारी भएको जनाएको छ । जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जाइकाका उच्च अधिकारीसँग बिहीबार भएको छलफलमा त्यस्तो समझदारी भएको हो ।

मन्त्री पुन र जाइकाका कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावाबीच बिहीबार भएको भेटवार्तामा उक्त परियोजनालाई अघि बढाउने विषयमा सैद्धान्तिक सहमति भएको मन्त्री पुनको सचिवालयले जनाएको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको क्रममा रहेको सो आयोजनाको क्षमतासमेत सात मेगावाटले बढेर ४१७ मेगावाट पुगेको छ । यसअघि सो आयोजनाको क्षमता ४१० मेगाबाट हुने बताइएको थियो । डिपिआर तयार भएपछि आयोजानलाई अगाडि बढाउने विषयमा छलफल भएको बताइएको छ ।

ऊर्जामन्त्री पुनले जाइकासँग सार्वजनिक निजी साझेदारीमा उक्त आयोजना अघि बढाउने गरी प्रस्ताव गरेको र जापानी पक्षले सकारात्मक जवाफ दिँदै सहमति जनाएको थियो । सो आयोजनालाई जाइकाले उच्च प्राथमिकतामा राखेको छ । “जाइकासँगको छलफल अत्यन्तै सकारात्मक भएको छ, डिपिआरको अध्ययनलगत्तै परियोजनालाई अघि बढाउने गरी पहल थाल्ने प्रतिबद्धता जनाएकाले पनि चाँडै यसले मूर्तरुप पाउनेमा म आशावादी छु”, मन्त्री पुनले भने ।

छलफलको क्रममा जाइकाका उपाध्यक्ष कोशिकावाले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्ने प्रतिबद्धतासमेत जनाए । मन्त्री पुनले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्ध, नेपालमा जापानले गरिरहेको लगानीलगायतका विषयमा छलफल गरेका थिए । यस्तै, उक्त परियोजनालाई अघि बढाउने विषयमा बुधबार जापानका संसदीय, परराष्ट्र, उपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वन तथा मत्स्यपालन राज्यमन्त्री योसिताका इता र जापान संसदीय मैत्री समूहका अध्यक्ष तथा लिबरल डेमोक्रयाटिकक पार्टीका महामन्त्री तोसिहिरो निकाइसँग छलफल गरेका थिए । भेटवार्तामा ऊर्जा मन्त्रालयका सहसचिव तोया अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतका उच्च अधिकारी सहभागी थिए ।

भेटमा मन्त्री पुनले नेपालमा हाल स्थायी सरकार रहेको भन्दै थप लगानीका लागि आग्रह गरेका थिए । उनले नेपालमा जलविद्युत्को बजारसमेत सुरक्षित रहेको र नाफासमेत सजिलै लिन सकिने अवस्था सरकारले बनाएको तथ्य पेश गरेका थिए ।

आगामी १० वर्षमा नेपालले १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र उत्पादित बिजुली बेच्नका लागि भारत र बङ्गलादेशसँग सम्झौता भइसकेको मन्त्री पुनको भनाइ थियो । उनले उत्पादित बिजुलीका लागि आन्तरिक र बाह्य बजार बनाउन सरकारसक्षम रहेको धारणासमेत राखेका थिए ।

मन्त्री पुनले जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्न समेत आग्रह गरेका थिए । नेपालको जलविद्युत् क्षेत्रमा लगानीको लागि सरकारले उपयुक्त वातावरण बनाएको भन्दै नेपालमा लगानी गर्न उनले आग्रह गरे । कार्यक्रममा मन्त्री पुनले जापानी लगानीकर्तालाई नेपाली लगानीकर्तासरह सुविधा दिने प्रतिबद्धता जनाए । उनले भने, “तपाईहरुले नेपालमा लगानी गर्नुभयो भने हामी नेपाली लगानीकर्तासरह नै सुविधा दिन्छौँ । उत्पादित बिजुली पनि हामीले नै खरीद गर्छौं, बजारको पनि चिन्ता नगर्नुहोस् ।”

मन्त्री पुनले उत्पादकले चाहेमा छिमेकी देशमा बेच्ने वातावरणसमेत बनाइदिने प्रतिबद्धता जनाए । अन्तरक्रियामा जापानमा जलविद्युत्को क्षेत्रमा काम गरिरहेका तोसिबा, कान्साइ, टोकियो इलेक्ट्रोनिक्स, न्युजेक इलेक्ट्रोनिक्सलगायत कम्पनी सहभागी थिए । कार्यक्रमको संयोजनसमेत जाइकाले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment