Comments Add Comment

क्रिकेट संघको अधिवेशन: नेपाली क्रिकेट लयमा फर्किने प्रस्थानविन्दु

चन्द र पाण्डेमा को बलियो ?

९ असोज, काठमाडौं । नेपाल क्रिकेट संघलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले निलम्बन गरेको साढे ३ वर्ष भयो । अब चाहिँ निलम्बन फुकुवा हुन सक्ने आशा बलियो बनेको छ ।

भोलि शुक्रबारबाट सुरु हुने विशेष साधारणसभाले नयाँ नेतृत्व चयन गरेपछि निलम्बन फुकुवाको बाटो खुल्नेछ । अक्टोबर १३ मा बस्ने अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को बोर्ड बैठकले निलम्बन फुकुवा गर्ने अपेक्षा छ ।

यस्तो छ कार्यक्रम

क्रिकेट संघ, स्वतन्त्र टोलीकाअनुसार अधिवेशनका लागि प्रतिनिधिहरु काठमाडौं आउने क्रममा छन् । स्वतन्त्र टोलीमा रहेका आईसीसीका प्रतिनिधि पनि भोलि आइपुग्नेछन् । अधिवेशनको उद्घाटन समारोह मेरियट होटलमा राखिएको छ । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवाललाई पनि बोलाइएको छ ।

चुनावी प्रक्रिया भने पर्सी विहान ८ बजेबाट सुरु हुनेछ । पर्सी नै नतिजा आउने अनुमान छ । जिल्लाबाट आएका ३९ र प्रदेशबाट आएका २० गरी ५९ मतदाता छन् ।

चतुर र पाण्डेमा को बलियो ?

क्रिकेट संघको अध्यक्षका लागि चतुरबहादुर चन्द र विनयराज पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । दुबैले प्यानल नै बनाएका छन् । चन्द समूहबाट उपाध्यक्षमा राजुबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुरेल र कोषध्यक्षमा रोशन सिंह उम्मेदवार बन्ने पक्का भएको छ ।

पाण्डे भने छलफलमै छन् । उनले उपाध्यक्षमा उपेन्द्र भट्टराई र सचिवमा पवन अग्रवालको नाम प्रस्ताव गरेका छन् । तर प्रदेश १ अध्यक्ष मिङ्ग्मा डण्डू शेर्पा र पूर्वउपाध्यक्ष विनोद मैनालीलाई कसरी मिलाउने भन्ने टुंगिएको छैन ।

यदि दलीय भागवण्डामा सहमति भयो भने पाण्डे, शेर्पा र मैनालीको एउटै समूह बन्नेछ ।

दुबै पक्षले आफूहरु बलियो भएको दाबी गरेका छन् । यदि सबै मतदाता आएमा चुनाव जित्न ३० भोट चाहिन्छ । चन्द समूहले आफ्नो पक्षको मत सहजै ४० कट्ने दाबी गरेको छ भने पाण्डे समूहले पनि चुनाव जित्ने दाबी गरेको छ ।

जिल्ला र प्रदेशको चुनावलाई नजिकबाट हरेका एक अधिकारीले भने अहिलेसम्म चन्द समूह बलियो देखिएको दाबी गरेका छन् । ‘पाण्डे, शेर्पा र मैनाली तीनै जना एक ठाउँमा उभिए भने कडा प्रतिस्पर्धा होला, नभए गाह्रो छ’ उनले भने ।

लयमा फर्किने सुरुवात

यो अधिवेशनले क्रिकेट संघको चार पदाधिकारीसहित १७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।

लगतै निर्वाचित क्यानले पदभार हस्तान्तरण गरेपछि औपचारिकरुपमा प्रतिबन्ध हटाउने बाटो खुल्नेछ ।

‘१३ अक्टोबरमा बस्ने आईसीसी बैठकले निलम्बन फुकुवा गर्नेमा अब कुनै शंका छैन’ स्वतन्त्र कमिटीका एक सदस्य भन्छन् ।

फुकुवा हुन्छ भन्ने दाबी यसकारण पनि स्वभाविक छ कि क्रिकेट संघको विधान संशोधनदेखि जिल्ला, प्रदेशका चुनाव पनि उसकै प्रत्यक्ष संलग्नतामा भएको छ । २०७३ वैशाख दोस्रो साता क्रिकेट संघलाई निलम्बन गरेपछि आईसीसीले राष्ट्रिय टिम व्यवस्थापनको जिम्मेवारी आफैं लिएको थियो भने सल्लाहकार समूह बनाएर विधान संशोधन गराएको थियो । त्यस क्रममा भएका हरेक गतिविधिमा आईसीसी प्रत्यक्ष संलग्न छ र आईसीसीका प्रतिनिधिहरु नै रहेको स्वतन्त्र टोलीले विशेष साधारणसभा गरेर केन्द्रको चुनाव गराउँदैछ ।

तर क्रिकेट संघको चुनाव र निलम्बन फुकुवा नेपाली क्रिकेटका लागि सबथोक होइन, लयमा फर्कने सुरुवात मात्र हुनेछ । किनकी नयाँ नेतृत्व आउनासाथ आईसीसीले आर्थिक लगायतका सबै विषय क्रिकेट संघलाई दिने छैन ।

एक अधिकारी भन्छन्, ‘उसका केही लिखित सर्तहरु छन् । त्यो पुरा भएपछि मात्र फण्ड लगायतका विषय संघमा आउँछ । संघको संरचना, आर्थिक अनुशासन लगायतका विषयमा सम्बोधन नहुँदासम्म आईसीसी पर्ख र हेरकै अवस्थामा रहनेछ ।’

जानकारहरुका अनुसार संक्रमणकालीन अवस्था ६ महिनादेखि एक वर्षसम्म रहनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment