Comments Add Comment

अन्तर्वार्तामा तपाईं अस्वीकृत हुने कारण के हो ?

हरेक विद्यार्थी पढाई पुरा भएपछि राम्रो जागिर पाइयोस् भन्ने सोच्दछन् । तर, कहिलेकाहीँ राम्रो योग्यता भए पनि जागिरको अन्तर्वार्ताको क्रममा अस्वीकृत हुने अवस्था आउन सक्छ । जसका कारण हाम्रो डिग्री, कलेज अथवा इन्स्टिच्युटमा कमी भएर होइन, हामी भित्रको सफ्ट स्किल्सको कमीको कारण त्यस्तो भएको हो ।

जागिरको अन्तर्वार्ताको अन्तर्वार्तामा तपाईंको सफ्ट स्किल्सलाई नियाल्ने गरिन्छ । जब तपाई अन्तर्वार्ताका लागि जानुहुन्छ, अन्तर्वार्ता लिने मध्येका एक जना व्यक्तिले तपाईंको हाउभाउ, बस्ने तरिका, कोठा भित्र पस्ने र निस्कने तरिका, बोल्ने तरिकालाई पनि नियालिरहेको हुन्छ । त्यसैले तपाईंको प्रोफेशनल र पर्सनल लाइफ दुवैको लागि तपाई भित्र सफ्ट स्किल्स हुनु अति नै आवश्यक छ ।

शारीरिक ढाँचा

अन्तर्वार्ता दिने क्रममा तपाईंको शारीरिक ढाँचा नै तपार्इंको व्यक्तित्वको बारेमा जानकारी दिन्छ । धेरै मानिसलाई शारीरिक ढाँचाको सही तरिकाको बारेमा थाहा छ, तर यसलाई कमैले मात्र अपनाउने गर्छन् । तपाईंको राम्रो शारीरिक ढाँचाले अर्को व्यक्तिलाई सकारात्मक रुपले आकर्षित गर्छ ।

आँखाको हेराई

हाम्रो आँखाले पनि बोल्छ भन्ने कुरा त सबैले सुनेकै होलान् । जहिले पनि हामी अरुसँग कुरागर्दा आँखामा हेरेर कुरा गर्नु आवश्यक छ । यसले  भित्रको आत्मविश्वासलाई झल्काउँछ भने तपाईंभन्दा अगाडिको व्यक्तिलाई प्रभावित पनि गर्छ ।

संवादको शैली

हाम्रो संवाद गर्ने तरिकाले हाम्रो व्यक्तित्व र हाम्रो निजी जिन्दगीमा अति नै महत्व राख्छ । ऊ चाहे  सहकर्मी होस् अथवा बरिष्ठ अधिकारी, तपाईंको संवादले नै तपाईंको व्यक्तित्वको बारेमा थाहा हुन्छ । कुन स्थानमा, कस्तो प्रकारले कुरा गर्ने, कस्तो प्रकारको कुरा गर्ने र शब्दहरुको उच्चारण सही छ कि छैन भन्ने कुराको विशेष ध्यान दिनुपर्छ । यदि तपाईं सही हुनुहुन्छ भने आफ्नो पक्षलाई पूर्ण आत्मविश्वासका साथ अरुको अगाडि राख्नुपर्छ । यसले तपाईंको सकारात्मक छविलाई दर्शाउँछ ।

ध्यानले सुन्नुपर्छ

जब तपाईं कोहिसँग कुरा गर्नुहुन्छ भने उसको कुरा पनि ध्यान दिएर सुन्नुपर्छ । यसो गर्दा तपाईं उसको कुराको जवाफ राम्रोसँग दिन अथवा आफ्नो विचार उसको अगाडि राख्न सक्नुहुन्छ ।

आत्मविश्वासी हुनु

यदि तपाईं घरमा हुनुहुन्छ अथवा कार्यालयमा, आफ्ना सहकर्मीहरुलाई सधैं प्रोत्साहित गर्नुपर्छ र उनीहरुको सर्वश्रेष्ठ प्रदर्शनको लागि उनीहरुलाई प्रेरित गर्नुपर्छ । यदि तपाईं अरुसँग सकारात्मक व्यवहार गर्नुहुन्छ भने हरेक व्यक्ति तपाईसँग कुरा गर्नको लागि उत्साहित हुन्छ र तपाईसँग कुरा गरेर उसलाई आफ्नो मन हलुका भएको महसुस पनि हुन्छ । यसले तपाईको कुनै समस्या समाधान गर्न सहयोग पनि हुन सक्छ ।

सहकर्मीलाई सहयोग

यदि तपाईं कुनै फर्ममा उच्च पदमा हुनुुहुन्छ भने अथवा तपाईंको कामसँग अरु व्यक्तिहरु पनि जोडिएका छन् भने तपाईंले एक्लैले काम पुरा गर्छु भनेर सोच्नु हुँदैन । आफुसँग  काम गर्ने सहकर्मीहरुलाई पनि काम गर्न दिनुपर्छ । यसो गर्दा सबै मिलेर गरेको काम सजिलो हुनुको साथै केही नयाँ सिक्ने पनि मौका प्राप्त हुन्छ । यसले सहकर्मीबीचमा एकता पनि रहिरहन्छ र तपाई अन्य काममा पनि ध्यानदिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment