Comments Add Comment

नागढुंगामा रेल ! निस्सासिए यात्रु (फोटो फिचर)

सडकको दुरावस्थाले ८/९ घन्टासम्म जाम

१० असोज, काठमाडौं । ‘माथिबाट गाडीको लस्कर हेर्दा त रेलजस्तै देखिन्छ है ?’ जाममा फसेको बसबाट बाहिर निस्किएका विशाल थापाले पसिना पुछ्दै भने, ‘सरकार रेल ल्याउँछु भन्छ, यहाँ गाडीकै रेल बनिसक्यो ।’

राजधानी काठमाडौं छिर्ने प्रमुख नाका नागढुंगामा एक हप्तादेखि अत्यासलाग्दो जाम छ । दशैंमा घर फर्किने हजारौं यात्रुहरु ९ घन्टासम्म जाममा फसेर निसास्सिएका छन् ।

‘ल है खुल्यो,’ भन्दै गाडीका सहचालकले बोलाउँछन् । सडकमा निस्केका यात्रुहरु खुशी हुँदै गुरुरु गाडीभित्र पस्छन् । गाडी २० मिटरजति अघि बढ्छ अनि, रोकिन्छ । यात्रुहरु फेरि विरक्त हुँदै बाहिर निस्किन्छन् । यो क्रम बारम्बार चलिरहन्छ ।

जाम यति भयानक छ कि नौबिसेबाट काठमाडौं आइपुग्न १० घण्टासम्म लागेको  छ । यसले यात्रु मात्र होइन, सवारीचालकदेखि प्रहरी पनि दिक्क छन् ।

 पोखराबाट बस चढेको १८ घण्टापछि विहान ७ बजे नागढुंगा चेकपोस्ट छिचोलेका रमण सुवेदीलाई देशमा सरकार छ जस्तो पटक्कै लागेन ।

‘३० किलोमिटरको जाम छिचोल्न ११ घण्टा लाग्ने देशमा सरकार छ भन्नु नै बेकार छ,’ उनी भन्छन्, ‘यहाँ प्राकृतिक विपद पनि आइलागेको छैन, यस्तो उदेकलाग्दो अवस्था आउँदा जनताप्रति उत्तरदायी कोही पनि हुनुनपर्ने ? देश भनेको सिहंदरबार मात्रै हो ?’

सवारीचालकको पीडा आफ्नै छ । चितवनबाट दैनिक कुखुरा लिएर विहान ३ बजे काठमाडौं आईपुग्ने राकेश लामा ९ बजेसम्म जाममै फसेका छन् । ५ दिनदेखि लगातार नियति दोहोरिँदा गाडीमा हालिएका कुखुरा ज्युँदै पुर्‍याउन निकै कठिन बनेको छ उनका लागि ।

‘आज पनि कतिवटा कुखुरा मरिसके,’ उनी भन्दैथिए, ‘कुखुरा मरेको के भन्नु, यो त जनताको रगत–पसिना खेर गएको हो ।’

धादिङको महादेवबेसीबाट गाडी चढेकी रमिला तामाङले जाममा १० घण्टा बिताइसकिन् । उनी भन्छिन्, ‘पिसाव लाग्दा फेर्ने ठाउँ छैन । होटलवालाले खानेकुराको मनलाग्दो मूल्य तोकेका छन् । यात्रुले दुन पाएको बेला उनीहरुलाई कमाउने अवसर बनेको छ ।’

पर्वतबाट आएका बृद्ध तेजुराम रिमाललाई घुँडाको समस्या छ । उनी बसभित्र निस्सासिईसके । एकोहोरो जाममा पर्दा रिमाललाई ब्यथाले च्यापिसक्यो ।

‘काठमाडौं पुग्दा त कुँजो भइएला जस्तो छ,’ उनले भने, ‘न ठम–ठम हिँडेर जान आँट गर्न सकिन्छ, न गाडीमा बसेर कुर्न सकिन्छ ।’

प्रहरीलाई पनि सास्ती

प्रहरीलाई पनि यो बाटोमा कम्ता सास्ती छैन । नागढुंगाबाट खटिएको प्रहरी टोली उकालोका विभिन्न भागमा सवारी व्यवस्थापन त गर्दैछ, तर जाम एक प्रतिशत घट्दैन । कारण हो, जीर्ण सडक ।

नागढुंगाको सडक दुई लेनको मात्रै छ । उकालो लाग्ने भागतर्फ चक्का बस्ने ठाउँमा २ फिटसम्मका खाडल परेका छन् । साना सवारीलाई त यो सडक अफरोडभन्दा खराब छ ।

ठूला सवारीहरु लोड बोकेर उकालो लाग्दा कति ठाउँमा चिप्लिएर ब्याक सर्छन् । धेरै माल बोकेर आएका सवारीसाधन विभिन्न ठाउँमा अघि बढ्न नसकेर रोकिन्छन् । त्यसकै असरले जाम विकराल बन्दो छ । अब दशैंअघि यो समस्या घट्ने हैन, बढ्ने अवस्था देखिएको सडक विभागकै अधिकारी बताउँछन् ।

नागढुंगाको उकालोमा सवारी बिग्रँदा वा तान्न नसक्दा गाडी छेउ गलाउन नागढुंगा प्रहरीसँग एउटा मेसिन छ । तर, सबै ठाउँमा मेसिन लगाएर सम्भव पनि हुन्न ।

त्यसैले गाडी हिलोमा फस्नासाथै प्रहरी नै सडकमा बेल्चा लिएर आउँछ । सडक विभागले पिचका लागि मोडहरुमा थुपारेको गिट्टीको चिप्स प्रहरीरुले गाडीको मुनि बिछ्याउँछन् र सवारी साइड लगाउँछन् ।

प्रहरी निरीक्षक रुकबबहादुर खड्का जामका कारण यात्रुले निकै दुःख पाएको बताउँछन् । आफूहरु २४ घण्टा नै सडकमा खटिएको भन्दै उनले सडकको अवस्था जीर्ण भएका बेला पानी पनि परिरहेकाले समस्या भएको बताए ।

‘ठूला सवारीहरु काठमाडौं आउने–जाने भइरहेको छ, दशैंको मालसमान पनि आउँदैछ,’ खड्काले भने, ‘प्रकृतिले पनि साथ दिएन, हामीले गर्न सक्ने सबै गरेका छौं । तर, सकिएन ।’

सडक विभाग भने वर्षा नरोकिँदा जामको समस्या घटाउने गरी मर्मतको काम गर्न नसकिएको बताउँछ । विभागमा उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटा ५ दिनदेखि सडकमा सवारी आवागमनमा प्रभाव पर्ने गरी कुनै निर्माण तथा मर्मतको काम नभएको बताउँछन् ।

‘केही अत्यावश्यक भागमा ट्राफिक प्रहरीसँगको सहकार्यमा उपयुक्त समयमा काम गरिरहेका छौं,’ उनले भने, ‘जीर्ण सडक बनाउन पर्ने पनि छ र त्यसका कारण जाम नहुने सुनिश्चित पनि गर्नुपर्ने छ । त्यसैअनुसार हामीले काम गर्दैछौं ।’

थप तस्वीहरु हेर्नुहोस् 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment