Comments Add Comment

क्रिकेट संघको अध्यक्ष चतुरबहादुर चन्द विजयी

११ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्ष चतुरबहादुर चन्द विजयी भएका छन् ।

उनले पूर्व अध्यक्ष समेत रहेका विजयराज पाण्डेलाई भारी मन्तान्तरले पराजित गरेका हुन् । शनिबार भएको निर्वाचनमा चन्दले ४४ मत ल्याएका छन् भने पाण्डेले १५ मत पाए ।

यस्तै उपाध्यक्ष, सचिव, कोषाध्यक्षका साथै केन्द्रीय सदस्यहरु पनि उनकै समूहको आएका छन् ।

उपाध्यक्षमा रालुबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुरेल र कोषध्यक्षमा रोशन सिंह विजयी भए । श्रेष्ठले ४१ मत पाउँदा उनका प्रतिद्वन्द्वी मिङ्ग्मा डण्डू शेर्पाले १७ मत पाए । चन्द समूहबाट सचिवमा निर्वाचित प्याकुरेलले ४३ मत पाउँदा उनका प्रतिस्पर्धी विनोद मैनालीले १५ मत पाए । कोषध्यक्षमा विजयी सिंहले ४५ मत पाउँदा उपेन्द्र भट्टराईले १२ मत मात्र पाएका छन् ।

प्रदेश १ बाट कैलाश विष्ट र ३ बाट अमितवीर पाण्डे केन्द्रीय सदस्य चुनिएका छन् ।

खुलातर्फबाट दुर्गाराज पाठक, वीरेन्द्रबहादुर चन्द, माधवकुमार कर्माचार्य, सञ्जय सिंह र कख महोत्रा क्षेत्री विजयी भएका छन् । केन्द्रीय सदस्यको चुनाव लडेका प्रशिक्षक जगत टमाटा र पूर्व कप्तान पवन अग्रवाल भने पराजित भएका छन् ।

यस्तै केन्द्रीय सदस्यहरमा महिलाबाट जयन्ती भट्ट, प्रदेश २ बाट दाउद अन्सारी, ४ बाट ऋषिराम गौतम, ५ बाट प्रशान्त विक्रम मल्ल, ६ बाट पदमबहादुर खड्का र ७ बाट विक्रम विष्ट निर्वारोध निर्वाचित भएका थिए ।

निलम्बन फुकुवाको बाटो खुला

क्रिकेट संघले नयाँ नेतृत्व पाएसँग नेपालको निलम्बन फुकुवाको बाटो खुलेको छ ।

अक्टोबर १३ मा बस्ने अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को बोर्ड बैठकले निलम्बन फुकुवा गर्ने अपेक्षा छ । क्रिकेट संघ निलम्बनपछि विधान संशोधन र चुनाव आईसीसीकै संलग्नतामा भएकाले निलम्बन फुकुवा हुने पक्का जस्तै छ ।

चन्दकै नेतृत्वमा रहेको क्रिकेट संघमा आर्थिक पारदर्शीता लगायतका आईसीसीले प्रश्न उठाइरहेका बेला सरकारले छुट्टै तदर्थ समिति बनाएको थियो । लगतै आईसीसीले सरकारी हस्तक्षेप भएको भन्दै २०७३ वैशाखमा क्रिकेट संघलाई निलम्बन गर्‍यो तर, राष्ट्रिय टोलीलाई भने खेल्न दिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment