Comments Add Comment

मेडिकल काउन्सिलको छानविनमा ग्राण्डी अस्पताल दोषी ठहर

१२ असोज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सञ्जीव न्यौपाने र एकता घिमिरेको शिशुको उपचारमा ग्रान्डी इन्टरनेशनल अस्पतालले गल्ती गरेको बताएको छ ।  छानविनका क्रममा उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनको कमजोरी भेटिएको काउन्सिलको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

२०७५ असार १२ गते एकताको शल्यक्रिया गरी बच्चा जन्मिएको थियो । बच्चा जन्मेको आधा घन्टामै एनआईसीयूमा राखिएको थियो ।  ब्याक्टेरियाको संक्रमण भएर शिशुको टाउकोमा ५ पटकसम्म अपरेशन गरिएको थियो । उपचारको क्रममा लापरबाही भएको भन्दै एकताका श्रीमान सञ्जीवले मेडिकल काउन्सिलमा उजुरी दिएका थिए ।

उक्त उजुरीमा काउन्सिलले छानविन गर्दा मानवीय संवेदनशीलता र सावधानी नअपनाउनुको साथै अस्पतालले आचारसंहिता विपरीतको कार्य गरेको जनाएको छ ।

‘अल्ट्रा साउन्ड’ गर्दा बच्चाको मस्तिष्कमा देखिएको ‘हाइड्रोसेफालस’को आकारबारे ‘रेडियोलोजिस्ट’ र ‘न्युरो सर्जन’को बुझाइमा फरक देखिएको काउन्सिलको छानविनको निष्कर्ष छ । अस्पतालले यसबारे बिरामी पक्षलाई राम्ररी नबुझाइएको काउन्सिलले ठहर गरेको छ ।

त्यस्तै मस्तिष्कको ‘अल्ट्रासाउन्ड’पछि ‘रेडियोलोजिस्ट’को सुझावअनुसार सिटी स्क्यान र एमआरआई गर्न ढिलाइ भएकोसमेत काउन्सिलको निष्कर्षमा उल्लेख छ।

डा गणेश राई नेतृत्वको विज्ञ समूहले उक्त घटना अध्ययन गरी प्रतिवेदन दिएको थियो । सोही आधारमा काउन्सिलले उपचारमा संलग्न, न्युरो शल्य चिकित्सक एवं बालरोगसँग सम्बन्धित चिकित्सक टिम, स्वास्थ्यकर्मीहरु र अस्पताल व्यवस्थापन समेतलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको प्रतिवेदनमा जनाइएको छ ।

काउन्सिलमा उजुरी गर्दा बिरामी पक्षले पारासिटामोलको ओभरडोज भएको दावी गरेका थिए । काउन्सिलको छानविनले त्यो दावीलाई पनि सही भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment