Comments Add Comment

घट्न थाले उर्लिएका नदी, तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाए पुग्ने

Photo Credit : onlinekhabar/file

१३ असोज, काठमाडौं । बर्खा सिजनमा उर्लिएका देशका अधिकांश नदीहरूको बहाव विस्तारै घट्न थालेका छन् । वर्षामा कमी आएसँगै देशका अधिकांश नदीको बहाव विस्तारै कम हुन थालेको हो । यद्यपि, केही नदीको बहाव भने अझै सतर्कता तह आसपासमै रहने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार, सोमबार बिहान कन्काइ, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सतर्कता तहभन्दा तल पुगेको छ । देशका यी मुख्य नदीको बहाव भोलिदेखि अझै निरन्तर घट्दै जाने महाशाखाको भनाइ छ ।

नदीको बहावका कारण यी नदी आसपासका बासिन्दा त्रासमा रहने गरेका थिए । महाशाखाले नदीको बहाव घट्दो क्रममा रहेकाले सामान्य सतर्कता मात्रै अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

‘भोलिदेखि देशका प्रमुखख तथा सहायक नदीहरू कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकालीमा बहाव घट्दो क्रममा हुने तथा सबै नदीमा बहाव सतर्कता तहमै हुने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाऔं’, महाशाखाले सोमबार बिहान बाढी पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै भनेको छ ।

साना सहायक नदीमा भने केही दिन बहाव बढ्ने

देशका मुख्य नदीहरूको बहाव घट्ने प्रक्षेपण गरेको महाशाखाले केही सहायक नदी भने केही दिन उर्लिन सक्ने अनुमान गरेको छ । केही दिन वर्षाको सम्भावना रहेकाले उसले ती नदीको सतह बढ्ने प्रक्षेपण गरेको हो । महाशाखाका अनुसार, कन्काई नदीका स-साना सहायक नदीमा सोमबार उल्लेख्य मात्रामा बहाव बढ्ने सम्भावना छ । बहाव सतर्कता तह आसपासम्मै पुग्ने भएकाले यी नदी आसपासमा केही सजग रहन उसले सुझाएको छ । असोज १४ देखि भने यी नदीको बहाव विस्तारै घट्दै जाने महाशाखाले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी र यस आसपासका क्षेत्रमा आज हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण गरेको छ । यी क्षेत्रमा पानी पर्ने भएकाले मेची, विरिङ, निन्दा, मावा-रतुवा, लोहन्दा, चिसाङ खोला, त्रियुगा, माउतीलगायत साना नदीमा बहाव बढ्ने र केहीमा बहाव सतर्कता आसपास पुग्ने अनुमान छ ।

आजै धनकुटा, खोटाङ, ओखलढुंग्ा, सिन्धुली, मकवानपुर, रोल्पा, सल्यान, जाजरकोट, दैलेख, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेल्धुरा भई बहने केही स-साना नदीहरूमा बहाव सामान्य बढ्ने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment