Comments Add Comment

बेलबारी गोल्डकप उपाधि सिलिगुडीलाई

१४ असोज, विराटनगर । मोरङको लक्ष्मीमार्गमा आयोजित तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको सिलिगुडीको रोयल फुटबल क्लबले जितेको छ । लक्ष्मीमार्गको मैदानमा मंगलबार भएको फाइनल खेलमा धरान फुटबल क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै रोयलले उपाधि जितेको हो ।

विजेता सिलिगुडीले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो । उपविजेता बनेको धरानले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । सेमिफाइनलमा मदन भण्डारी स्र्पोट्स एकेडेमीलाई पराजित गरेर धरान र एपीएफलाई पराजित गर्दै सिलिगुडी फाइनल पुगेको थियो ।

मंगलबार भएको खेलमा धरानमाथि हावी देखिएको सिलिगुडीले सुरुवाती १० मिनेटमै गोलको खाता खोलेको थियो । सिलिगुडीका निरज बस्नेतको थ्रो बललाई धरानका खेलाडीले क्लियर गर्न नसक्दा कप्तान आदर्श तामाङले गोल गरेका थिए । पहिलो हाफ १–० ले अघि रहेको रोयलले ५७ औं मिनेटमा अग्रता दोब्बर बनायो ।

सिलिगुडीका निशान लिम्बूले दोस्रो गोल गरे । सिलिगुडीका अमन थापाले ६९ औं मिनेटमा टिमका लागि तेस्रो गोल गर्दै अग्रता फराकिलो पारे । सत्यम शर्माले ७१ औं मिनेटमा गोल थप्दै सिलिगुडीलाई फराकिलो अन्तरको जित दिलाए ।

फाइनल खेलको म्यान अफ दी म्याच धरानका मनोज राई घोषित भए । उनले पाँच हजार नगद पुरस्कार पाए । डाँगीहाट युथ क्लबको आयोजनामा भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सिलिगुडीबाट खेलेका निशान लिम्बू घोषित भए । उनले २५ हजार नगद पुरस्कार पाए ।

प्रतियोगिताको उदीयमान खेलाडी आयोजक डाँगीहाट युथ क्लबका शंकर राई घोषित भए । विजयी खेलाडीलाई संघीय सरकारका कानुन मन्त्री भानुभक्त ढकाललगायतले पुरस्कार वितरण गरे । गत असोज ४ गतेबाट सुरु प्रतियोगितामा नेपाल र भारतका गरेर आठवटा टिमको सहभागिता रहेको थियो । फाइनल खेल गत शनिबार हुने तय गरिएको भए पनि वर्षाका कारण मंगलबारलाई सरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment