Comments Add Comment

रियल मड्रिड ब्रुगससँग बराबरीमा रोकियो

Photo Credit : च्याम्पियन्स लिग

१५ असोज, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलमा बेल्जियम क्लब ब्रुगससँग बराबरीमा रोकिएको छ ।

मंगलबार राति भएको समूह ‘ए’ को खेलमा रियलले ग्रुगससँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । रियलका लागि कप्तान सर्जियो रामोस र कासिमिरो गोल गरे । यता, क्लब ब्रुगसका लागि भने दुवै गोल इमान्युएल डेनिसले गरे ।

पहिलो हाफमा नै दुई गोलअन्तरले पछि परेको रियल मड्रिडले दोस्रो हाफमा दुई गोल गर्दै खेल बराबरीमा सकाएको हो । खेलको नवौं मिनेटमा डेनिसले गोल क्लब ब्रुगसलाई अग्रता दिलाए । उनले खेलको ३९ औं मिनेटमा अर्को गोल थप्दै रियल मड्रिडविरुद्ध २-० गोलको अग्रता दिलाए ।

५६ औं मिनेटमा रामोसले गोल गर्दै रियललाई २-१ गोलको स्थितिमा ल्याए । ८४औं मिनेटमा रुड भोर्मेरले दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि क्लब ब्रुगस १० खेलाडीमा सीमित भएको थियो । यसको एक मिनेटपछि अर्थात खेलको ८५औं मिनेटमा रियलका लागि कासिमिरोले गोल गरेपछि रियलले क्लब ब्रुगससँग २-२ गोलको बराबरी खेलेको हो ।

यसै समूहमा भएको अर्को खेलमा पेरिस सेन्ट जर्मेनले गलतासारेलाई १-० गोलअन्तरले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment