Comments Add Comment

आजबाट ३२ जिल्लामा फोरजी सेवा, प्रधानमन्त्रीले शुभारम्भ गर्ने

१५ असोज, काठमाडौं । नेपाल टेलिकमले महत्त्वकांक्षी फोर जी/एलटीई सेवाको नेटवर्क आजदेखि विस्तार गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेको महत्त्वकांक्षी फोरजी सेवा विस्तारको बुधबार औपचारिक रूपमा शुभारम्भ गर्दैछन् ।

बुधबार साँझ ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकैपटक भिडियो कल गरेर सेवा विस्तारको औपचारिक उद्घाटन गर्ने तय भएको नेपाल टेलिकमले जनाएको छ ।

यसअघि काठमाडौं र पोखरामा मात्र उपलब्ध फोर जी सेवा हाल सातै प्रदेशका कुल ३२ जिल्लाका प्रमुख शहरमा विस्तार गरिएको छ ।  मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा वृहत् सुधार हुने अपेक्षा छ ।

चौथो जनेरेसनको मोबाइल डाटा सेवा (फोरजी) उच्च गतिको हुन्छ । नेपाल टेलिकमका अनुसार, यसको न्यूनतम गति नै ३५ एमबी प्रतिसेकेन्ड छ । ‘यसको प्रयोग पश्चात् उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियो लगायतका नवीनतम सेवाहरुको प्रवाह पनि सहज हुने छ,’ नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन् ।

फाइभजी सेवाको पनि प्रारम्भिक परीक्षण सञ्चालन गर्न सकिने 

विस्तारित फोरजी/एलटीई सेवा एलटीई एड्भान्स्ड प्रविधिमा आधारित हुने भएकाले केही स्थानमा भविष्यमा ल्याइने फाइभजी सेवाको पनि प्रारम्भिक परीक्षण सञ्चालन गर्न सकिने छ । ‘हाल सञ्चालनमा ल्याइएको नयाँ फोरजी/एलटीई सेवा विद्यमान मोबाइल सेवाको स्तरोन्नति मात्र नभएर उच्च क्षमताको र सबै वस्तीहरुमा सेवा पुर्‍याउने गरी संरचना तयार गरिएकाले दीर्घकालसम्म कम्पनीको सेवा विस्तारका लागि समेत महत्वपूर्ण पूर्वाधार सावित हुनेछ,’ टेलिकमकी प्रवक्ता वैद्यले भनेकी छन् ।

नेपाल टेलिकमले देशमै पहिलो पटक वि.सं. २०७३ पुस १७ मा काठमाडौं र पोखराबाट फोरजी/एलटीई सेवाको शुरुवात गरेको थियो । यस सेवाको विस्तारका क्रममा देशभर सातै प्रदेशमा सेवा सञ्चालनका लागि गत २०७५ माघ २० मा तीन वटा सम्झौता सम्पन्न भएको थियो । यसमध्ये कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईले जिम्मेवारी पाएका थिए ।

कम्पनीले सम्झौताको एक वर्षभित्रै देशभर फोरजी नेटवर्क विस्तार गर्ने लक्ष्यका साथ कार्य अघि बढाइरहेको छ । सम्झौता अन्तर्गतको कार्य तदारुकताका साथ भइरहेको र सो अनुसार हालसम्म देशका सातै प्रदेशमा सो सेवाको नेटवर्क पुगिसकेको टेलिकमले जनाएको छ ।

यो पनि पढ्नुहोस ३२ जिल्लामा फोर जी सेवा विस्तार, ग्राहकलाई आकर्षक इन्टरनेट प्याकेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment