Comments Add Comment

अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आग्रह : हाम्रो क्षमतामा विश्वास गर

१५ असोज, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायको विषय नेपालले मौलिक ढंगले सम्पन्न गर्नेमा अन्तर्राष्ट्रिय समुदाय आश्वस्त भएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर बुधबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री ज्ञवालीकाअनुसार अनौपचारिक फोरमहरुमा यसबारे कुराकानी भएको थियो ।

सर्वोच्च अदालतको फैसला, नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा जनाएको प्रतिवद्धता र द्वन्द्व पीडितहरुको भावनालाई सम्बोधन गर्ने गरी संक्रमणकालीन न्यायको विषय टुंगो लगाउने उनले बताए । ‘राजनीतिक र लडाकू व्यवस्थापनलाई हामीले जसरी सम्पन्न गरेका छौं, यो विषय पनि नेपालले आफ्नै मौलिक ढंगले टुंग्याउँछ । नेपालको क्षमता र पहलकदमीलाई यहाँहरुले विश्वास गर्नुपर्छ भनेको छु’ मन्त्री ज्ञवालीले त्रिभुवन अन्तराष्ट्रिय विमावस्थलमा सञ्चारकर्मीहरुसँग भने, ‘यसमा सबैको सद्भाव पाएको छु ।’

सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग लामो समयदेखि पदाधिकारीविहीन छ । पदाधिकारी सिफारिस गर्न समिति बनेपनि द्वन्द्व पीडित तथा अधिकारीकर्मीहरुले प्रश्न उठाएपछि नाम टुंगो लागेको छैन ।

यस्तै दुबै आयोगसम्बन्धी ऐन संशोधन पनि हुन सकेको छैन ।

यस्तै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई सक्रिय बनाउन पनि सहमति जुटेको मन्त्री ज्ञवालीले बताए । महासभाका क्रममा नेपालको पहलमा सार्क विदेशमन्त्रीहरुको अनौपचारिक बैठक न्यूयोर्कमा बसेको थियो ।

तर भारत र पाकिस्तानका मन्त्री एकअर्का सहभागी भएको बेला बैठकमा आएनन् । मन्त्री ज्ञवालीले भने यो घटना अपेक्षित भएको बताए । उनका अनुसार बैठकमा पाकिस्तानले सार्क शिखर सम्मेलनको नयाँ मिति प्रस्ताव गर्न आग्रह गरेको थियो ।

तर सार्क अध्यक्षको हैसियतमा नेपालले अनौपचारिक बैठकबाट निर्णय नगर्ने, कूटनीतिक माध्यमबाट छलफल गर्ने प्रस्ताव गरेको मन्त्री ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment