Comments Add Comment

उद्योगीको दशैं योजना : कोही चंगा उडाउने, कोही युरोप घुम्ने

१७ असोज काठमाडौं । यस वर्षको दशैं हाम्रो घर आँगनमा भित्रिसकेको छ । यतिबेलासम्म तपाईंले दशैं कसरी मनाउने भनेर योजना बुनिसक्नुभएको होला ।

मुलुक आधुनिकतातर्फ अघि बढ्दै गर्दा दशैं मनाउने शैली पनि क्रमशः परिवर्तन हुन थालेको छ । ठाउँ, परिवेश र पारिवारिक पृष्ठभूमिअनुसार दशैं मनाउने चलन फरक छ । खासगरी सम्भ्रान्त वर्गमा पर्ने परिवारहरू दशैंमा देशभित्र वा बाहिर घुमघाम गर्न थालेका छन् । तर, परम्परागत तवरबाटै आफन्तजनसँग भेटघाट तथा टीकाटालो गरेर दशैं मनाउनुपर्छ भन्ने सोच राख्नेहरूको पनि कमि छैन ।

सम्भ्रान्त वर्गमा नै पर्ने देशका प्रतिष्ठित उद्योगी–व्यापारी तथा यस वर्षको दशैं कसरी मनाउने उनीहरूले योजना बनाएका छन् त ? सुनौं, उनीहरूकै शब्दमा :

‘छोरासँग बसेर चंगा उडाउँछु’
भवानी राणा
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

मैले नेपाली मौलिक परम्परा र संस्कृतिअनुसार नै हरेक वर्ष दशैं मनाउने गरेको छु । म सधंै नेपालमै दशैं मनाउँछु । दशैं मनाउनका लागि कहिले पनि विदेश जाने गरेको छैन । दशैंमा मेरो पूजा हुन्छ । म नवरात्रिभर ब्रत बस्छु ।

सप्तमीको दिन म नेपालगञ्ज जान्छु । नेपालगञ्जमा हाम्रो मूल घर छ, दशैं उतै मनाउँछु । बाल्यवस्थामा दशैं जति रमाइलो हुन्थ्यो, त्यति अहिले हुँदैन । बाल्यावस्थामा मनाउने दशैं छुट्टै किसिमको हुन्थ्यो । दक्षिणामा बढी चासो हुन्थ्यो । अहिले लिनेभन्दा दिने धेरै हुन्छ ।

म सानोमा होस्टलमा बस्थे । दशैंमा घर जान पाइन्छ भनेर धेरै खुशी हुन्थ्यौं । चंगा उडाउँदा अझै रमाइलो हुन्थ्यो । अहिले पनि म दशैंमा छोरासँग चंगा उडाउँछु ।

‘यस वर्षको दशैं युरोपमा’
चन्द्र ढकाल
अध्यक्ष, आईएमई ग्रुप

नयाँ कपडा लगाउने, मिठो खाने कुराले गर्दा बाल्यकालमा दशैं अत्यधिक रमाइलो हुन्थ्यो । म बच्चा छँदा यिनै कुरामा बढी रमाउँथे । अझ मामाघर जान पाइन्छ भन्ने कुराले मनमा छुट्टै खुसी सिर्जना हुन्थ्यो । दशैंमा खसी ढालेर मासु खाने कुरामा पनि अर्को आकर्षण थियो ।

अहिले व्यवसायिक जीवनले व्यस्तता बढाएको छ । हुन त हाम्रो पालामा जस्तो अहिलेका बालवालिकाहरूमा दशैंको रौनक नहोला । किनकि अचेल राम्रो लगाउन र मीठो खान उनीहरूले दशैं पर्खनु पर्दैन । बच्चा बेला सम्झेर पनि हामी खुशी हुन पाएका छौं ।

अब यस वर्षको दशैंमा चाहिँ मैले टिका लगाउने नपाउने भएँ । यस वर्ष मेरो दशैं युरोपमै बित्नेछ । अन्तर्राष्ट्रिय श्रम संगठनको एउटा महत्त्वपूर्ण कार्यक्रमका लागि भोलि १८ गते त्यसतर्फ प्रस्थान गरेर २५ गतेसम्म उतै रहनेछु । रोजगारदाता परिषद्को सभापतिसमेत भएका कारण मैले त्यो कार्यक्रममा जानुपर्नेछ ।

‘वर्षभरिको थकान मेटाउने गर्छु’
उमेश श्रेष्ठ
उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

नेपालीहरूको महान् चाड दशैंको मुख्य विशेषता भनेको नै रमाइलो गर्ने हो । हामी वर्षभरि काम गर्छौं । थकानमा हुन्छौं । हो, त्यो थकान मेटाएर आराम गर्ने समय हो, यो ।

म सधैंंजसो दशैं काठमाडौंमै मनाउँछु । मेरा आफन्तहरू काठमाडौंमै हुनुहुन्छ । साथीभाइहरूसँग खानपिन र रमाइलो गर्छु । दशैंमा तास खेलेर पनि रमाइलो गर्ने चलन छ । मचाहिँ धेरै खेल्दिनँ । खाएर र आराम गरेरै दशैं मनाउँछु ।

दशैंमा टाढा जान फुर्सद हुँदैन । सबै आफन्त काठमाडौंभित्रै हुनुहुन्छ । टीका लगाउँदा–लगाउँदै दशैं सकिन्छ ।

‘२५ वर्षपछि नेपालमा दशैं’
कमला श्रेष्ठ
महिला उद्योगी

२५ वर्षदेखि म दशैंमा सधैं देशबाहिरै भएँ । कहिले अमेरिका त कहिले युरोपमा मेरो दशैं बित्ने गरेको छ । मेरा छोराछोरीहरू बाहिर भएका कारण म सधैं बाहिर गइरहन्छु ।

अर्को कारण भनेको चाहिँ दशैंमा कामबाट थोरै फुर्सद पाइन्छ । दशैंको बिदामा अलिकति समय थप गर्यो भने प्रशस्त घुम्न पाइन्छ । अरू बेला जानका लागि त बिदा मिलाउनै गाह्रो हुन्छ ।

यसपालिचाहिँ मेरो दशैं नेपालमा नै बित्ने छ । २५ वर्षपछि नेपालमै दशैं मनाउन पाउँदा निकै उत्साहित छु । अर्को महिना हामी ब्यूटी एक्स्पो पनि आयोजना गर्दैछौं । यसको तयारीका लागि पनि म बाहिर जान पाउँदिनँ । आफ्नो व्ययवसायसँगै महासंघलाई पनि समय दिनुपर्छ । जे होस, यसपालि दशैंमा रमाइलो हुन्छ ।

‘काठमाडौंमै मनाउने योजना छ’

मोहन कटुवाल
उपाध्यक्ष, ग्रिल तथा स्टिल व्यवसायी महासंघ

म ६ वर्षको हुँदा नै मेरो आमा बित्नु भएको थियो । १८ वर्षको हुँदा बुवाले पनि छाडेर जानुभयो । मेरा भाइबहिनी पनि छैनन् ।

मेरो पुरानो घर पूर्वमा हो । तर यसपालि म पूर्व नजाने सोचमा छु । यो दशैं म काठमाडौंमा नै मनाउनेछु ।

दशैंअघि नै धेरै दौडधुप भयो । कहिले कामको सिलसिलामा कहिले कता कहिले कता पुग्नुपर्ने । परिवारलाई समय दिन पनि पाएको छैन । मेरो छोरा दुबईमा र छोरी अमेरिकामा छन् ।

यसपालि छोरा पनि दशैं मनाउन आउछु भनेको छ । यसकारण यस वर्षको दशैं म परिवासँग बसेर काठमाडौंमै मनाउनेछु ।


‘देशभित्रै घुमघामको योजना छ’

अनिलकेशरी साह
सीईओ, नविल बैंक

मेरो एक मात्र छोरी यसपालिको दशैंमा घरमा छैनन् । अध्ययनका लागि उनी अमेरिकामा छिन् । यस वर्ष हाम्रो दशैं अलि फरक हुनेछ । म परिवारसहित दशैंको बेला काठमाडौं बाहिर जाँदैछु । सबभन्दा पहिले म काठमाडौंबाट भरतपुर जान्छु । हामी त्यहाँ केही दिन घुमघाम गर्दै रमाउनेछौं ।

त्यसपछि हामी लुम्बिनी जान्छौं । त्यहाँ केही दिन बस्नेछौं । त्यसपछि पोखरा जाने योजना छ । पोखरामा केही दिन बिताएर टीकाको भोलिपल्ट घर फर्कनेछौं ।

मेरो मुमा होइबक्सिन्छ । टीकाको भोलिपल्ट म मुमाको हातबाट टिका थाप्न काठमाडौं आइपुग्ने योजनामा छु ।

यसपालि किन बाहिर त भन्नु होला । मलाई यसपालि दशैंको सदुपयोग गरेर धेरै फोटोहरू खिच्नुपर्ने छ । म मेरो क्यामेरा लिएर जान्छु । चितवन पुग्दा पनि म धेरै फोटोहरू खिच्नेछु भने लुम्बिनी र पोखरामा पनि नयाँ–नयाँ तस्वीरहरू क्यामेरामा कैद गर्ने योजना छ ।

‘आमाको हातबाट टिका लगाउन गाउँ जान्छु’

प्रकाशराज शर्मा
सीईओ, लक्ष्मी लघुवित्त

म धर्म र संस्कृतिमा एकदमै कट्टर मान्छे हुँ । हाम्रो चलिआएको परम्परा र संस्कृति अनुसार नै दशैं मनाउने गरेको छु । यस वर्ष पनि त्यसरी नै मनाउने योजना छ । म काठमाडौं बसे पनि मेरो मुख्य घर दाङ हो । त्यहाँ मेरी आमा हुनुहुन्छ । म दशैं बिदा भएपछि परिवारसहित दाङ जान्छु ।

दाङमा सबै परिवारका सदस्यहरू भेला भइन्छ । अष्टमी–नवमीसम्म चलिआएको परम्परा अनुसार नै रमाइलो गर्छौं । त्यसपछि दशमीको दिन आमाको हातबाट टीका लगाउँछौं । अन्य मान्यजनहरूबाट समेत टीकासहित आशीर्वाद लिएर दशैं बिदा सकिएलगत्तै काठमाडौं फर्किने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment