+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

मुस्कानको मुहारमा मुस्कान ल्याउनेहरु ….

मुस्कानलाई अभिताभको सन्देश- चाँडो निको हुनोस्

सागर बुढाथोकी सागर बुढाथोकी
२०७६ असोज १९ गते २१:०१

१९ असोज, काठमाडौं । शहरदेखि गाउँसम्म दशैंले झपक्कै छोपेको छ । विदेशिएकाहरु देश फर्किरहेका छन्, शहरकाहरु गाउँतिर । बालबालिकादेखि वृद्धसम्मलाई ‘दशैं फिभर’ लागेको छ। ‘सपिङ फिभर’ उत्तिकै ।

उज्वल विक्रम थापाको पनि दौडधुप बढेको छ, यतिबेला । तर दौडधुप बजारमा होइन, अस्पतालमा । चाड मनाउन होइन, एसिड आक्रममणमा परेकी वीरगञ्जकी किशोरी मुस्कान खातुनलाई सहयोग जुटाउन ।

उज्वल पेसाले व्यावसायी हुन्, उनी आफूलाई ‘पार्ट टाइमर’ अभियन्ता भन्न रुचाउँछन् । पाँच वर्षअघि वसन्तपुरमा एसिड आक्रमणमा परेका सीमा-संगीता हुन् या केही महिनाअघि कालोपुलमा आक्रमणमा परेकी जेनी खड्का । यो वीचमा जे-जति महिला एसिड आक्रमणमा परे, अधिकाशंलाई सहयोग जुटाउन लागिपरेका छन् । र, थापाको अभियानको नारा छ – एसिड आक्रमणकारीलाई जन्मकैद ।

****

वीरगञ्जकी १४ वर्षीया मुस्कान कीर्तिपुर अस्पतालमा उपचाररत छिन् । उनकै लागि सहयोग जुटाउनु थापाको दैनिकी बनेको छ । जब शहरमा एसिड आक्रमणको घटना हुन्छ, थापाको यो दैनिकी दोहोरिहन्छ । उनी घटना भएको थाहा पाएपछि सहयोग नगरी चुप बस्न सक्दैनन्। एसिड आक्रमण विरुद्दको ‘एक्लो अभियन्ता’ भन्दा फरक पर्दैन्, थापालाई।

एसिड आक्रमणमा परेका जेनी खड्का हुन् या रौतहटका सम्झना दासका दिदीबहिनी । सीमा, संगीता हुन् या नवलपरासीकी वसन्ती परियार । सबैको अवस्था मुस्कानको जस्तै छ अर्थात सबै अल्पसंख्यक समुदायका र गरिब छन् ।

यस्तै कारणहरुले गर्दा उनीहरुका लागि सहयोग जुट्न मुस्किल भएको थियो । आवाज उठाइदिने कोही थिएनन् । निरन्तर दौडधुप गरिरहँदा पनि अवस्था नफेरिएपछि थापा निराश बने । तर पीडितको पीडा महशुस गरेका उनले साथ छाडेनन् ।

एक वर्षअघि (भदौ २६ गते) रौतहटका दुई दिदीबहिनी सम्झना दास र सुस्मिता दासमाथि एसिड प्रहार भएको थियो ।

त्यतिबेला हतारिँदै अस्पताल पुगेका थापाको मनले सम्झनालाई देख्नासाथ भनेको थियो, ‘यो नानी त….!’

यसअघि अरु घटनाका चेलीहरु देख्दा मनमा त्यस्तो भावना कहिल्लै आउँदैनथ्यो । तर, सम्झनाको केसमा उनले मन थाम्नै सकेनन् ।

त्यो विभत्स दृश्य देखेपछि रन्थनिए । पुरै अंगार बनिसकेको शरीर हेर्न नसकेर बाहिरिए । ‘कसरी पो बाँच्छे यो केटी….?’ मनमा तर्कना गर्दै सहयोग जुटाउन लागिरहेका बेला उपचारका क्रममा सम्झनाको मृत्यु भयो । उनलाई अस्पताल लिएर आएका ठूलोबुवा रामबाबु पासवान एसिड आक्रमण आरोपमा पक्राउ परे ।

सम्झनाको घटना सम्झिँदै थापा भन्छन्, ‘त्यतिबेला हामीलाई सहयोग जुटाउन एकदम गाह्रो परिरहेको थियो । कोही उनीहरुका लागि बोलेका थिएनन् ।’

तर, मुस्कानको केसमा त्यो अवस्था छैन ।

बलिउडका ‘बिग बोस’ अमिताभ बच्नदेखि युवाहरुका ‘हटकेक’ नायक वरुण धावन समेतले मुस्कानलाई हौसला दिदैँ भिडियो सन्देश पठाएका छन् ।

‘मंगोलियन हर्ट’ ब्याण्डका गायक राजु लामाले त झन अस्पतालमै पुगेर ‘तिमीलाई देखेर हिमालै हाँसेको…’ भन्दै गीत गाइदिए ।

यो सबै सम्भव तुल्याएका हुन्, थापाले ।

‘कसरी ?’

यो प्रश्नको लामो जवाफ छ, थापासँग ।

अस्पतालको बेडमा समय कटाउन मुस्कानलाई मोबाइल चाहिन्छ । प्रायः उनी वरुण धवन र कृति सेनानको भिडियो हेर्छिन्।

अक्षयकुमार पनि उनका मन पर्ने नायक ।

एक दिन उज्वलले सोधे, ‘तिमीलाई को कलाकार मन पर्छ ?’

‘वरुण, अक्षय कुमार र कृति सेनान’ अनि मुस्कानले थपिन्, ‘अभिताभ बच्चन र गायक राजु लामा पनि मन पर्छ ।’

‘कुरा गर्न चाहन्छौ उहाँहरुसँग ?’

थापाको कुरा सुनेपछि मुस्कान मुस्कुराइन् मात्र ।

थापाले उनीहरुलाई मुस्कानको कथासँगै चाहना बताइदिए । लगत्तै राजु लामाले अस्पताल पुगेर मुस्कानकै अगाडि गीत गाए ।

मुस्कानको अर्ध जलेको चेहरा मुस्कुरायो ।

भूकम्प २०७२ का बेला अभियान चलाउँदा उज्वल र बलिउड नायक अक्षय कुमारको कुराकानी भएको थियो । दुबै मिलेर काम पनि गरेका थिए । उनले अक्षयलाई पनि मुस्कानको कथा सुनाए ।

एसिड आक्रमणको कथा सुन्नासाथ भावुक बन्दै अक्षयले भिडियो कल गरेर भने, ‘हिम्मत नहार मुस्कान…।’

अक्षयको कल आएपछि उनी के चुप बस्न सक्थिन् र ? आशु रोकिएनन् । तर, त्यो खुशीको आँशु थियो ।

त्यसको लगत्तै ‘ग्याङ्स अफ वासेपुर’ जस्तो ‘डार्क’ फिल्ममा अभिनय गरेका अभिनेता जमिल खानले भिडियो कल गरे । खान उज्वलका ‘क्लासमेट’ थिए । उनीहरुले नैनीतालको सेरवुड कलेजमा सँगै पढ्थे । उज्वलको दोस्ती बलिउडका कैयौं चर्चित फिल्म लेखेका ‘स्क्रिप्ट राइटर’ जुनैद मेमोनसँग पनि थियो ।

उनले मेमोनलाई पनि मुस्कानको चाहना सुनाए । लगत्तै कृति सेनान र बरुण धावण उज्वलको सम्पर्कमा आए ।

धावनले भिडियो सन्देश पठाउँदै भने, ‘मुस्कान, मलाई तिम्रो बारेमा कृति -सेनान)ले जानकारी गराएकी थिइन् । मैले थाहा पाएअनुसार, तिमीलाई अध्ययन गर्न निकै मनपर्छ । तिमी ठीक भएपछि म तिमीलाई भेट्नेछु । तिमी चाँडै नै निको हुँदैछौ । धेरै धेरै प्रेम छ ।’

वरुणको सन्देशले मुस्कान मुस्कुराइन् ।

लगत्तै नायिका कृति सेनानले भिडियो कल गर्दै भनिन्, ‘तिमी चाँडै नै निको भएर घर फर्किनेछौ भन्ने मेरो कामना छ । आशा छ, हामी चाँडै भेट्नेछौं ।’

आफ्नो मन पर्ने कलाकारको भिडियो सन्देशले मुस्कान खुशी भइन्। उनीमा धेरै परिवर्तन देखियो। पहिलाको जस्तो निराश हुन छोडिन्। आफुलाई माया गर्ने मानिसहरु पनि छन्, भन्ने भावना जागृत भएकाले होला मुस्कुराउन थालिन्।

मुस्कान अभिताभ बच्चनको ‘कौन बनेगा करोडपति’ लगातार हेर्थिन् । त्यहीबेला उज्ववलले फेरि सोधे, ‘बोल्ने हो त अमिताभजीसँग ?’

मुस्कान फेरि पनि मुस्कुराइन् मात्र ।

बच्चन पनि नैनीतालको सेरवुड कलेजबाट ‘पास आउट’ विद्यार्थी थिए । कलेजको पूर्वविद्यार्थी संगठनको माध्यमबाट थापा र बच्चनको पहिला पनि कुराकानी भइसकेको थियो । थापाले बच्चनलाई पनि मुस्कानको कथा सुनाए ।

१४ वर्षीया मुस्कानको मार्मिक कथा सुनेपछि बच्चन पनि मन थामेर बस्न सकेनन् ।

तत्काल भिडियो सन्देश पठाउँदै भने, ‘चाँडै निको हुनुहोस् । म आशा गर्छु कि उज्वलको रेखदेखले तपाईं चाडै निको हुनु हुनेछ । जे तपाईंमाथि भयो, त्यो कुनै पनि बालिकामाथि हुन हुँदैन । यो एकदमै गलत भएको छ ।’

बच्चन यतिमै रोकिएनन्, उनले थपे, ‘म आशा गर्छु कि तपाईंको देशको कानूनले उनीहरू सबैलाई पक्राउ गरी कारवाही गर्नेछ । उज्वलले मलाई बताउनुभयो, तपाईँ मेरो फिल्महरु हेर्नुहुन्छ । हाम्रो शुभकामना सधैँ तपाईँको साथमा छ । तपाईँ चाँडै निको हुनुहोस् र सधैँ यसरी नै मुस्कुराई राख्नुहोस् ।’

बच्चनको भिडियो हेरेपछि भने मुस्कान मुस्कुराइनन् मात्र, खित्का छाडेर हाँसिन् ।

त्यसयता उनको आत्मविश्वास बढ्न थालेको छ । बोल्न थालेकी छिन् । मनपर्ने कलाकारको सन्देश ‘सञ्जीवनी बुटी’ सावित भएको छ ।
त्यस दिनदेखि भन्न थालेकी छिन्, ‘म पढेर डाक्टर बन्छु ।’

****

कीर्तिपुर अस्पतालको आईसीयू कक्षदेखि बेड भरिभरिराउ छन् । कुनै बेडमा करेन्ट लागेका घाइते छन् त कुनैमा आगोको चपेटामा परेकाहरु । सबैको लडाई मृत्युसँग । आइसीयू बाहिर बिरामीको छटपटी उत्तिकै ।

अस्पतालको अत्यन्तै संवेदनशील मानिने युनिट आइसीयूमा पूरै सन्नाटा । उज्वल आईसीयू बाहिर बसेर मुस्कानको कथा सुनाइरहेका छन् । मुस्कान ‘साइमोन वार्ड’को ५ नम्बर बेडमा सकस भोगिरहेकी छिन् । हामी बाहिर कुरा गरिरहँदा मुस्कानको भित्र ‘ड्रेसिङ’ भइरहेको छ । ड्रेसिङ पीडाको नमीठो चित्कार बाहिरसम्म सुनिइरहेको छ ।

केही क्षणपछि भित्रबाट ‘ड्रेसिङ’ सकिएको संकेत आयो ।

उज्वलसँगै हामी पनि वार्डमा छिर्यौं।

विभत्स अनुहार ! अत्यन्तै सुन्निएको । खुट्टादेखि शरीरसम्म पूरै ब्याण्डेज । दाहिनेपट्टकिो खुट्टादेखि टाउकोसम्मै जलेको । अनुहारभरि दागै दाग । आँखा मात्रै बचेको ! एसिडले पूरै कुरुप । भर्खरै ड्रेसिङ सकेकाले उनी बोल्छिन् कि भन्ने अपेक्षा गर्नु नै व्यर्थ ।

यतिमात्र कि, आँखा झिमझिम पारिरहन्छिन् ।

‘आइया …. आइया… ‘ भनेर गरेको संकेत उनकै बुवा आमाले पनि बुझ्न सकेका छैनन् ।

आमा सहनाज छोरी नजिक गएर बोल्छिन्, ‘पापीहरुले हाम्रो संसार नै उजाड पारिदिए….।’

बोल्दाबोल्दै आमाको गला अवरुद्ध हुन्छ । आँखाबाट झरेको आँशु हातले पुछ्न आवश्यक नठानिकन बाहिर निस्कन्छिन् ।

मुस्कानका बुवा रसुलको चेहराको रंग बदलिन्छ । उकुस-मुकुस जस्तो देखिन्छन् ।

‘छोरीको अवस्था देखेर उ (सहनाज) धेरैपल्ट बेहोस भइसकी । मुस्कानलाई हेर्नै सक्दिन’ श्रीमती बाहिरिएपछि रसुल बोल्छन्, ‘ड्रेसिङ गरेका बेलामा त झन टिक्नै सक्दिन । मुस्कान रोएको सुन्नै सक्दिन ।’

रसुलको कुराले त्यहाँ केही क्षण सन्नाटा छाउँछ ।

अनि मुस्कानको छेउमा गएर उज्वल बोल्छन्, ‘मेरी बहादुर छोरी हो, केही हुन्न, रुनुहुन्न है छोरी बहादुर बन्नुपर्छ ।’

‘आइइया … आइया…’ गरिरहेकी मुस्कान मुस्कुराउँछिन् ।

थापा फेरि बोल्छन्, ‘भरे म फेरि आउँछु, तिम्लाई भेट्न छोरी..प्रोमिस ..है ।’

किन हो कुन्नि ? मुस्कान झन मुस्कुराइन् ।

थापाको कारण त हो एसिड आक्रमणमा परेका चेलीहरु हाँस्न सकेका । थापाकै अभियानले त हो आर्थिक अवस्था कमजोर भएकाहरुले पनि उपचार गर्न सकेका । थापाले सहयोग नजुटाएको भए जेनीको अवस्था जे पनि हुन सक्थ्यो । सीमा संगीता अहिलेको अवस्थामा नरहन पनि सक्थे । तर उनी आफूले ठूलो काम गरेको भन्दैनन् । मनबाटै सहयोग गर्नुपर्छ भन्ने भावना जागृत भएका कारण सेवामा लागेको बताउँछन् ।

मुस्कानलाई हौसला दिन संगीताको कुरा कोट्याए थापाले ।

पाँच वर्षअघि एसिड आक्रमणमा पर्दा संगीताको अवस्था नाजुक थियो । चार वर्ष त अँध्यारो कोठाभित्रै सकसपूर्ण जिन्दगी बिताइन् । तर, अहिले निष्फिक्री हिँड्छिन् । अनुहार नछोपी हिँड्ने आत्मविश्वास पलाएको छ । एसिड आक्रमणमा परेका अरु महिलाहरुको ‘आइडल’ बनेकी छिन् । संगीतालाई सबैले सलाम गर्नुपर्छ । त्यो रुप लिएर हिँड्न भयंकर हिम्मत चाहिन्छ, जुन संगीतामा छ ।

उज्वलले संगीताको कुरा गरिरहँदा मुस्कानको बुवा बीचमा कुरा काट्दै बोले, ‘….फासीको सजायँ दिनुपर्छ एसिड हान्नेलाई । एकपछि अर्को घटना भएको भयै छ… कारवाही कडा नभएर यस्तो भा’को हो…।’

मुस्कानलाई एसिड प्रहार गरेको आरोपमा वीरगञ्जकै सम्साद आलम र मजिद आलम पक्राउ परिसकेका छन् । दुबै अभियुक्त मुस्कानकै उमेरका छन् । नाबलक भनेर कानुनले सजायँ नदेला भन्ने डर छ, रसुललाई ।

कानुनी प्रकियाका बारेमा अस्पतालको धपेडीले थाहा पाउन सकेका छैनन् । ‘यस्तो विभत्स अपराध गर्न सानोतिनो हिम्मत भएको मान्छेले कहाँ सक्छ र ? पहिला योजना बनाउनुपर्‍यो । त्यसपछि एसिड किन्न जानुपर्‍यो, एसिडले आफैंलाई पोल्ला भन्ने डर उस्तै’ मुस्काका बुवा रसुल आक्रोशित हुँदै बोल्छन्, ‘छ्याप्नलाई बाटो ढुक्नुपर्‍यो, कसैले देख्ला भन्ने डर पनि उत्तिकै । गोली ठोक्नु भन्दा गाह्रो छ एसिड छ्याप्नलाई । उच्च अपराधिक मानसिकताको मानिसले मात्रै यस्तो गर्न सक्छ…. त्यसैले यत्तिकै छाड्नुहुन्न ।’

त्यसमा सहमत थापाको थापाको अभियानका तीनवटा माग छन् ।

  • पहिलो- एसिड जथाभावी बेच्नेलाई कारवाही हुनुपर्छ ।
  • दोस्रो- एसिड प्रहार गर्नेलाई जन्मकैदको सजायँ हुनुपर्छ ।
  • र, तेस्रो- एसिड आक्रमणमा परेका महिलालाई सरकारले भरण पोषण गर्नुपर्छ ।

यी माग पूरा भए एसिड आक्रमणका घटना घट्ने थापाको विश्वास छ । तर, पीडित बढिरहेपनि कानुन निर्माणमा सरकारले ध्यान नदिएको गुनासो गर्छन् । थापा भन्छन्, ‘जुन दिन एसिड आक्रमण सम्पन्नताको घरमा पुग्छ, त्यही दिनमा मात्र देशमा कानुन बन्छ । म प्रार्थना गर्छु ..यस्तो घटना अरु नदोहोरिकन नै देशमा कानुन बनोस् ।’

मुस्कानको कुरा गर्दागर्दै थापाले विगतका घटनाहरुको स्मरण गरे । अभियानमा लाग्दाका तीता कथा सुनाउँदै गर्दा भावुक बन्दै भने, ‘एसिड आक्रमण एउटा बलियो मान्छे मारेर अर्को कमजोर मान्छे जन्माउने अपराध हो । देउताले बनाएको र डाक्टरले बनाएको मान्छे उस्तै हुँदै हुन्न । हामीले यो तथ्य स्वीकार गर्नैपर्छ ।’

यति भन्दै उनी अस्पतालबाट बिदा भए ।

एकदिन अघि…

थापालाई भेट्नु अघिल्लो दिन पनि हामी कीर्तिपुर अस्पताल पुगेका थियौं । अपरेशनका लागि मुस्कानलाई ‘प्लाष्टिक सर्जरी’ वार्डमा राखिएको थियो । सर्जरीको गर्न दिनभर लाग्ने भएकाले मुस्कानका बुवा रसुल वार्डबाहिर ओहोर-दोहोर गरिरहेका थिए ।

छटपटाहट र तनाव अनुहारमा झल्किन्थ्यो ।

हामीले सोध्यौं, ‘किन अत्तालिनु भएको ?’

‘डाक्टरले सर्जरी गर्दा जे पनि हुनसक्छ’ भनेका छन् । दाहिनेपट्टकिो कानको भित्रीसम्मको झिल्ली हेरिनसक्नु भएको छ, के हुने हो एकदम डर लागिरहेको छ ।’

यति भन्दै ‘अल्लाह…’ पुकारे उनले ।

२७ दिनअघिजस्तै डर अझै घटेको छैन । तनावमै दिन काटिरहेका छन् । अझै कति दिन अस्पताल बस्नुपर्ने हो थाहा छैन । खर्चको त हिसाबै नगरुम । सहयोग जुटेको रकम पर्याप्त छैन । सामान्य आल्मुनियमको व्यवसाय गरेका अन्सारी ‘टाट’ पल्टिसके । उक्सिने उपाय सोच्न फुर्सद छैन ।

बुवा रसुलका अनुसार मुस्कान पढाइमा मेधावी थिइन् । ९० प्रतिशत भन्दाबढी अंक ल्याएर पास हुन्थिन् । विज्ञान उनको मन पर्ने विषय । धेरै पढ्ने चाहना हुँदाहुँदै घरको आर्थिक अवस्था कमजोर देखेर भन्ने गर्थिन्, ‘म बुवालाई काममा सघाउँछु ।’

अहिले मुस्कानको सोच परिवर्तन भएको छ । अस्पतालको बेडमा जीवनसँग संघर्ष गरिरहँदा भन्न थालेकी छिन्, ‘डाक्टर बनेर समाजसेवा गर्छु ।’

मुस्कानको एकमात्र चाहना डाक्टर बन्ने छ ।

‘यो अवस्थामा पनि छोरीको इच्छा पूरा गर्न सकिनँ भने म के बाउ ?’ रसुल भन्छन्, ‘जस्तै अवस्था आइलागे पनि उसको डाक्टर बन्ने सपना पूरा गर्न लागि पर्छु । ‘

****

‘घटना कसरी भयो ?’

यो प्रश्नको जवाफ दिदाँदिदै थाकिसकेका छन्, रसुल । मिडियामा ‘प्रेमको कारण एसिड !’ भनेर ‘हेडलाइन’ छापिइसकेको छ । तर, प्रेमको कारण भन्दा पनि एकतर्फी आकर्षणका कारण दुर्घटना भएको बताउँछन् ।

‘१४ वर्षे बालबालिकामा कस्तो प्रेम ?’ रसुल भन्छन्, ‘समाचारहरु हामीलाई बदनाम गराउने गरी आइरहेका छन् ।’

रसुल त्यो दिन सम्झन्छन्……

अरु दिनजस्तै त्यो दिन पनि (भदौ २०, शुक्रबार) मुस्कान स्कुल जाँदै थिइन् । भाइ उनको पछि थियो । बाटोमा मानिसहरुको आउजाउ पनि बाक्लै ।

अकस्मात आवाज आयो, ‘ओई, मुस्कान रुक् न, मुस्कान रुक् न ! भनेको सुनिनस्..।

स्कुल जान ढिलो भएको भन्दै उनी रोकिइनन् ।

फेरि आवाज आयो, ‘ओइ मुस्कान यता हेर त… रुक् भनेको सुनिनस् ।’

उनी ‘फनक्क’ फर्किइन् ।

त्यसपछि घनघोर अन्धकार, अनि मुस्कानको चित्कार !

उनले बोकेको स्कुल ब्याग खरानी भयो !

लगाएको लुगा खरानी । एसिड परेको भित्ताको कलर नै परिवर्तन । भुई त्यस्तै ।

छिनभरमै हल्ला खल्ला मच्चियो । एसिडको राप सहन नसकी मुस्कान छटपटाइरहिन् । उनलाई त्यहीँबाट अस्पताल पुर्‍याइयो ।

मुस्कानलाई अस्पताल नपुर्‍याउँदै घरमा रहेका रसुलको फोनमा घण्टी बज्यो । उनी अत्तालिदै अस्पताल पुगे । श्रीमती सहनाजले पनि श्रीमानलाई पछ्याउँदै अस्पताल पुगिन् ।

ओ हो विभत्स !

आफ्नै छोरी चिन्न नसकिने !

रुदैँ छटपटाइरहेकी मुस्कानलाई देखिपछि दुबैजना अर्धचेत भए । लगत्तै त्यहाँबाट काठमाडौँ ‘रेफर’ गरियो । त्यो दिन सम्झदै रसुल भन्छन्, ‘फेरि त्यो कालो दिन सम्झन चाहन्न…।’

तस्वीरः चन्द्रबहादुर आले/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?