Comments Add Comment

नक्कली लालपूर्जा बनाएर अर्काको जग्गा बेच्ने प्रयास

एक करोड बैना दिएपछि खुल्यो रहस्य

१९ असोज, काठमाडौं । ललितपुरको इमाडोलमा नक्कली लालपूर्जा देखाएर अर्काको जग्गा विक्री गर्ने प्रयास भएको छ ।

तर, शंका लागेर खरिदकर्ताले मालपोत कार्यालयमा परीक्षण गर्दा अर्कैको नाम भेटिएपछि संलग्न गिरोह पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर, ललितपुरले शुक्रबार भक्तपुर सूर्यविनायककी सुष्मा श्रेष्ठ, बाङ्गेमुडाकी निर्मला श्रेष्ठ, सितापाइलाकी निलिमा श्रेष्ठ र इमाडोलका निरज ताम्राकारलाई घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेको छ ।

उनीहरुको साथबाट कम्प्युटर सेट, मोबाइल सेट, ब्लु प्रिन्ट, ट्रेस नक्सा, जग्गा धनी प्रमाणपत्रमा प्रयोग हुने १० वटा रातो कभर, कीर्ते कागज तयार गर्न प्रयोग हुने ४ वटा रबर स्ट्याप, प्याड र अन्य विभिन्न व्यक्तिको नाममा रहेको १५ वटा कीर्ते लालपूर्जा बरामद भएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए ।

नक्कली कागजबाट ऋण !

राईका अनुसार पक्राउ परेका मध्ये ताम्राकारले इमाडोलमा १३ आना जग्गा भएको बताएर विक्री गर्न खरिदकर्ता खोजिरहेका थिए । उनले पक्राउ परेका अन्य महिलालाई प्रयोग गरेर ८ आना जग्गा विक्रीका लािग ग्राहक भेट्टाए ।

जसअनुसार जग्गा खरिदका लागि १६ असोजमा एक करोड रुपैयाँ वैना दिइएको थियो । बैना दिने क्रममा ताम्राकारसँग शंका लागेपछि पीडित मालपोत कार्यालय पुगेका थिए । त्यसक्रममा जग्गा अर्कै व्यक्तिको नाममा भेटिएपछि घटना प्रहरीसमक्ष पुगेको थियो ।

प्रहरी अनुसन्धानका क्रममा ताम्राकारले विभिन्न सरकारी संस्थामा लालपूर्जा देखाएर ऋण लिने प्रयोजनका लागि नक्कली कागज बनाएको बयान दिएका छन् । उनको मोबाइलमा पनि ती लालपूर्जाको ‘इलेक्ट्रोनिक डकुमेन्ट’ भेटिएको प्रहरी अधिकृत बताउँछन् ।

ताम्राकार जग्गा व्यवसायी पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment