Comments Add Comment
यात्रा अनुभव :

दशैंको यात्राः ठूलालाई मस्ती, सानालाई सास्ती

Photo Credit : फाइल फोटो । नागढुंगाको सवारी जाम ।

यसपटक दसैंमा घर जान अलि ढिलो भयो । प्रायजसो म परिवारसहित फूलपातीभन्दा पहिले नै घर पुगिसकेको हुन्थें । त्यसैले दसैं यात्राको कष्ट त्यति थाहा थिएन । यसपटक काम बिशेषले गर्दा फूलपातीको अघिल्लो दिन साँझ मात्रै उकुसमुकुस काठमाडौँबाट भाग्ने मौका मिल्यो । श्रीमती र कान्छी छोरी तिन दिन अगाडि नै घर पुगिसकेका थिए। ठूली छोरीले मसँगै जान्छु भनेर बसेकी थिई ।

टिकट नै नपाएर हैरान । मेयर काकालाई भनेर एउटा टिकट मिलाइदिन भनूँ कि जस्तो पनि लागेको थियो । तर, जाबो टिकटको लागि पनि के फोन गर्नु भनेर गर्न सकिन। वास्तवमा मेयर काकालाई मैले एक दिन अगाडि मात्रै काठमाडौँमा देखेको थिएँ । जनप्रतिनिधि जस्तो मान्छे सरकारी गाडीको सुविधा हुने नै भयो, त्यही गाडी लिएर आएका थिए । दसैंमा त पक्कै घर फर्कलान् भन्ने सोचेर उनकै गाडीमा जान पाए त मस्ती होला नि भन्ने सुन्दर विचार पनि आयो । तर त्यो विचारले पनि मेरो मनमा धेरैबेर बास गर्न सकेन, उठाएको फोन पनि मैले गर्न सकेन । पछि आफ्नै बलबुताले टिकट लिएँ । बाबु छोरीको दुईवटा टिकट हात परेपछि ठूलै विजय हासिल गरे जस्तै भयो ।

फूलपातीको अघिल्लो दिन दिउँसो चार बजे छुट्ने सबभन्दा पहिलो रात्रिबस समातेर छोरी र म दसैं मान्न अरु लाखौँ नेपालीहरु जस्तै काठमाडौँबाट बाहिरिने यात्रा शुरु गर्‍यौं । सबभन्दा पहिलो बस भएपछि अलि छिटो जाला र जाममा नपरिएला भने पनि कलंकीमा यात्रु कुर्दाकुर्दै बसले काठमाडौँ छोड्दा साढे पाँच बजिसकेको थियो। पहिलेदेखि नै भरिभराउ बसमा अरु यात्रु राख्न बसले छोडेन । कतिपयले उभिएरै यात्रा तय गर्ने निश्चय गरेर बस चढेका थिए । उनीहरुलाई हेर्दा त आफू निकै भाग्यमानी जस्तो लाग्थ्यो ।

कछुवाको गतिमा नागढुङ्गा पुगेको बस त्यहाँ पुगेपछि त ठ्याक्कै रोकियो । कछुवाको गतिमा भए पनि अन्तिममा त जित्ने कछुवा नै हो नि भनेर मन थामेर बसेको थिएँ । बस त्यहाँ खरायोले बिश्राम लिए जस्तै रोकिएपछि समयमा गन्तव्यमा पुगिन्छ भन्नेमा मलाई शंका लाग्न थाल्यो । नागढुङ्गाबाट तल हेर्दा नेपालमा साँच्चै रेल चल्न शुरु गरेछ जस्तो लाग्थ्यो । तर नढाँटी भन्नुपर्दा त्यो दृष्य निकै सुन्दर देखिएको थियो । झिसमिसे साँझमा पश्चिम क्षितिजमा डढेको रातो बादल र रंगीचंगी बसहरु नाग बेली परेको पहाडको त्यो सडकमा कुनै लामो किरा बिस्तारै अगाडि बढे जस्तो त्यो दृष्य निकै मनोरम देखिन्थ्यो ।

मलाई रात्री बसमा यात्रा गर्न त्यति मन पर्दैन। मुख्य कारण त म बसमा निदाउन सक्दिन । अनि, दोश्रो कुरो रातमा यदि बस दुर्घटनामा पर्‍यो भने निकै दुःख पाइन्छ भन्ने लाग्छ । त्यसैले सम्भव भएसम्म म जहिले पनि दिउँसोको बसमा यात्रा गर्छु । तर यसपालि उपाय थिएन । टिकट पाउनु नै ठूलो कुरो थियो । रात्रि र दिवा छनौट गर्न पाउने स्थिति थिएन ।

‘मलाइ यो रात्रि बसमा यही भएर यात्रा गर्न मन पर्दैन’, मैले आफ्नो दुखेसो पोखें ।

‘अर्को दसैंमा त प्लेनबाट जाने है पापु’ , छोरीले आग्रह पारामा भनि । उसलाई पनि बसको लामो यात्रा मन पर्दैन । उसको समस्या चाहिँ बसको गन्ध र चालले रिंगटा लाग्छ ।

‘हेरौं के हुन्छ। बसमा ८-१० पटक ओहोर दोहोर गर्ने पैसा लाग्छ एक पटक प्लेनमा ओहोर दोहर गर्दा ।’ मैले त्यो भन्दा बढि के नै भन्न सक्थेँ र ? चार/चार जनालाई प्लेनबाट आवत जावत गर्ने पैसाले मेरो कति महिनाको घर खर्च टर्छ ।

छोरीले पनि सायद बुझिहोली मैले के भन्न खोजेको भन्ने त्यसैले उसले अरु टिप्पणी गरिन ।

हुन त अहिले तुलसीपुरमा दिनमा दुईवटा फ्लाइट त छन् । तिनै मेरा काका पर्ने मेयर भएपछि चलाएका हुन् तर आकाशमा उडेको हेर्नु बाहेक प्लेनलाई छुने औकात पनि छैन आफूसँग, चढ्नु त परै जाओस् ।

तर, ठिकै छ, त्यही गतिमा बस हिंडेपनि भोलि बिहान घर पुग्नेमा शंका थिएन । नागढुंगाको जाम कटेपछि नारायणघाटसम्म सबै कुरा राम्रै थियो । तर, नारायणघाट कटेपछि बुटवल नपुग्दै दाउन्नेको जंगलमा बाटो बिग्रिएर जाम परेको रहेछ । निकै ठूलो जाम थियो । त्यसै पनि दसैंको यात्राको चापका गाडी त्यसमाथि बिग्रेको बाटो ।

लगभग तीन घण्टा जति जंगलको बीचमा बस टस मस नगरेर उभिइरह्यो। छोरी निदले चुर भएकी थिई, भोकाएकी पनि । धन्न चाउचाउ लगिएको रहेछ, त्यसैलाई निस्तै चपाएर छोरीले आफ्नो भोक मेटाई । त्यो अँध्यारोमा मैले छोरीलाई सफा आकाशमा चम्किरहेका ताराहरु देखाएँ । हामी बच्चा हुँदा दसैंको बेलामा कस्तो मजाले आकाश अवलोकन गर्थ्यौं । त्यो आनन्द काठमाडौँमा कहाँ पाउनु ? त्यसैले मैले त्यही आकाश र ताराहरुमा भुलाउन कोशिश गरें ।

यात्रुहरु कसैले सरकारलाई गाली गर्दै थिए भने कसैले महराको यौनकाण्ड, रवि लामिछाने प्रकरण र ज्ञानेन्द्र शाहीको बारेमा पनि कुरा गर्दै थिए । तर, मलाई केही दिलचश्पी थिएन । तर, ताराहरुको अवलोकनले पनि छोरीलाई धेरैबेर भुलाउन सकेन । रात छिप्पिसकेको थियो उसलाई निद्राले च्यापेको थियो । ‘बसमै सुत्’ भनेको लामखुट्टेले उसलाई सुत्नै दिएन ।

बसभित्र लामखुट्टे कम थिएनन्, धन्न डेंगुको लामखुट्टे परेनछ । बसमा सुत्न नसकेपछि झोला बाहिर निकालेर स्वच्छन्द आकाश मुनि छोरीलाई त्यही झोलामाथि आफ्नो काख सिरानी बनाएर उसलाई एकछिन सुताएँ । आफू पनि एकछिन झकाएछु । जाम खुलेपछि बसको कर्मचारीले सबैलाई उठाएपछि हामी उठ्यौं।  उठ्दा प्यान्टको पछाडि पुरै भिजेको थियो, माटोको चिसोले । बस चल्न शुरु गरेपछि मन प्रशन्न भयो । घडी हेरें,रातिको एक बज्न लागेको थियो,

हाम्रो यात्रा फेरि शुरु भयो । बिग्रेको त्यो बाटो काट्न हामीलाई ठ्याक्कै चार घण्टा लाग्यो ।

बसमा विरलै निदाउने म पनि थकानले होला, अलिकति निदाएछु । एकाएक बम पड्केको जस्तो आवाजले सबैलाई ब्युंझायो अनि बस पनि असन्तुलित भएर रोकियो । मलाई दूर्घटना भयो कि जस्तो लागेको थियो तर धन्न टायर मात्र फुटेको रहेछ ।

टायर फेर्दा लगभग एक घण्टा त्यहीं खर्च भयो । टायर फेरेर तीन बजे तिर फेरि यात्रा सुरू भयो । बुटवल पुग्दा बिहानको आठ बजेको थियो । चिया नास्ता गरेर यात्रा जारी राखियो । छोरी थकान र भोकले लखतरान भएकी थिई । अब दुई/तीन  घन्टामा त घर पुगिएला भन्ने आशलाई घर पुग्नु भन्दा ५० किलो मिटर जति दूरी बाँकी रहँदा भालुबाङ नेरै बस नै बिग्रियो ।

सबैलाई रिस उठ्ने नै भयो। बिचरा बस मालिक पनि दिक्क हुँदो हो । कति समय लाग्छ भनेर एक जनाले सोध्दा उसले रिसाउँदै ‘थाहा छैन’भन्यो ।

‘उसो भए पैसा फिर्ता दिनुस्’ भनेर यात्रुहरुले हङ्गामा मचाउन थालेपछि उसले अर्को बसमा पठाइदिने भन्दै आनाकानी गर्दै थियो । त्यसपछि नेकपाका कार्यकर्ता हौँ भन्ने चार पाँच जना अरिंगालहरुले वाईसीएलको पारामा बस मालिकलाई दुई झापट लगाएपछि ऊ ठाउँमा आयो । अनि, बुटवलतिरबाट आएको बसमा हामीलाई कोचेर आफ्नो बस मर्मत कार्य जारी राख्यो ।

कछुवाको गतिमा काठमाडौँबाट हिंडेका हामी लोकल बसमा चढे पछि त्यसले शंखे किराको गतिमा आफ्नो यात्रा शुरु गर्‍यो । बीचबीचमा यात्रुहरु कोच्दै ५० किलोमिटरको यात्रा गर्न उसलाई पूरै तीन घण्टा लाग्यो । तर, धन्न फूलपाती भित्र्याउनु अगाडि नै घर चाहिँ पुगिन्छ भन्नेमा चाहिँ शंका थिएन । हिजो साँझ चार बजे बसमा चढेका हामी फूलपातीको दिन दिउसो चार बजे नै २४ घन्टामा घोराही पुग्यौं ।

मैले बसबाट सामान ओरालेर घरसम्म पुग्न अटो रिक्सा खोज्दै थिएँ मेयर काकालाई देखें । ‘नमस्कार काका’ भनेपछि उनले पनि नमस्कार फर्काए ।

मेयर र मेरो घर नजिकै छ । पहिले त्यति चिनाजानी थिएन, तर गएको स्थानीय चुनावमा उनी उम्मेदवार भए पछि मात्र उनैले भनेर थाहा पाएँ म त उनको टाढाको मामाको छोरोको छोरो पो रहेछु । त्यो भन्दा पहिले मेरो बुवालाई पनि थाहा रहेनछ । काका मेयर भएपछि मेरो पनि घिरौला जस्तो नाक भएको थियो ।

‘ए दसैं मान्न फर्किनु भयो ?’ मैले काका भने पनि उनले मलाई ‘तपाई’ नै भनेर सम्बोधन गर्थे ।

‘हजुर घर त आउनै पर्‍यो नि। यही दसैंमा त हो नि घर आउने भनेको’ मैले सामान मिलाउँदै भने ।

‘कति छिटो ल्याएछ त आज ?’ हामी चार बजे नै आइपुगेको देखेर उनले आश्चर्य मान्दै सोधे ।

‘हिजोको रात्री बसबाट आएको बाटो बिग्रेर बल्लबल्ल आइपुगियो नि । हजुर कहिले आउनु भयो नि ? मैले अस्ति काठमाडौँमा देखेको थिएँ त।’

‘म पनि आजै आइपुगेको हुँ । अलिकति काठमाडौँमा काम पनि थियो, छोरो पनि अमेरिकाबाट दसैं मान्न आउँदै थियो, त्यसैले उसलाई लिन पनि गएको थिएँ’, उनले विस्तार लगाए ।

‘हजुर त नगरपालिकाको गाडीबाट आउनु भयो होला, हाम्रो त गाडी पनि बाटोमा बिग्रेर निकै दु:ख पाइयो ।’ मैले सामान अटो रिक्सामा राख्दै भने ।

‘अँ जाँदा त गाडी मै गएको थिएँ, आउँदा बाटो बिग्रेको भन्ने सुनें अनि फेरि फूलपाती भित्र्याउन ढिला होला भनेर बाउ छोरा आज दिउँसो प्लेनबाट आयौं । गाडी लिएर काठमाडौँबाट ड्राइभर आउँदै छ ।’

‘ए, हो त, ठिक गर्नु भएछ। प्लेन चल्न थालेपछि कति सजिलो भएको छ है ।’ मसँग त्यो भन्दा बढि भन्नको लागि अरु केही थिएन । त्यति भन्दै आफ्नो सामान अटो रिक्सामा राखेर मैले हात जोडेर उनीसँग बिदा मागें ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment