Comments Add Comment

राष्ट्रिय टिममा इशानको प्रयोग ‘असफल’

२२ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय टिममा इशान पाण्डेको प्रवेश निकै आकस्मिक रुपमा भयो । उनलाई आपनिङमा ब्याटिङ गराउने सोचका साथ टोलीमा समावेश गरिँदा धेरै नेपाली क्रिकेटप्रेमीले उनको नामै सुनेका थिएनन् ।

तर ईशानलाई जुन विश्वासका साथ टिममा ल्याइएको थियो, त्यसअनुसार प्रदर्शन भएन ।

हुन त एकाध खेलको भरमा कुनै पनि खेलाडीको समग्र मूल्यांकन हुन नसक्ला । तर ओमानमा खेलेको तीन वटा खेलबाट यति भन्न सकिन्छ, राष्ट्रिय टिमको ओपनिङको देखिएको संकट टार्ने खेलाडी बन्न इशानले अझै मेहनत गर्नुपर्छ ।

तीनमध्ये दुई खेलमा उनले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् भने रन गति पनि कमजोर छ ।

सिंगापुरमा आयोजित त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले तीन म्याच खेल्दा इशानले पहिलो दुईमा ओपनिङ गरेका थिए । दुवैमा उनी असफल भए । पहिलो खेलमा जिम्बाबेविरुद्ध ८ बलमा ४ रन बनाए, जसमा एक चौका समावेश थियो । सिंगापुरविरुद्ध एक चौकाका साथ उनले ६ बलमा ५ रन बनाए । दुईवटा खराब प्रदर्शनपछि जिम्बाबेविरुद्ध तेस्रो खेलमा उनले मौका पाएनन् ।

जिम्बाबेविरुद्ध पवन सर्राफलाई पारसको जोडी बनाएर पठाइयो । ओमानमा भएका दुई खेलमा पनि पवनले नै ओपनिङ गरे । उनी पनि तीनवटै म्याचमा असफल भए । त्यसपछि बुधबार फेरि इशानलाई टिममा समावेश गरिएको थियो ।

टेष्ट नेशन आयरल्याण्डविरुद्ध ओपनिङमा मौका पाउका इशानले ३० बलको सामना गर्दै २२ रन बनाए, जसमा २ चौका सामेल थिए । उनले स्टार्ट त पाएका हुन् तर ‘कन्भर्ट’ गर्न सकेनन् । यद्यपि यो उनको व्यक्तिगत उच्च स्कोर हो ।

अहिलेसम्म तीन टी-२० मा इशानको औसत करिब १० रन छ भने रनरेट ७० को हाराहारीमा छ । टी-२० को ओपनिङ ब्याट्सम्यानको लागि यो तथ्यांक निकै दयनीय मानिन्छ । अब बाँकी म्याचमा इशान र पवनमध्ये कसलाई खेलाउने भन्ने टाउको दुखाईको विषय बनेको छ नेपाली प्रशिक्षकका लागि ।

ओपनिङमा संकट यथावत्

नेपाली राष्ट्रिय क्रिकेट टिममा लामो समयदेखि ओपनिङ जोडीको संकट छ । बिगतमा केही समय महबुब आलम र परेश लोहनीको जोडीले टप अफ दि अर्डरमा स्थिरता प्रदान गरेको थियो । उनीहरु पछिको पुस्तामा कुनै पनि जोडी टिकाउ भएनन् ।

यसबीचमा केहीले आशा नदेखाएका होइनन् । जस्तो कि सुवास खकुरेललाई लामो रेसको घोडा ठानिएको थियो । उनले धेरै म्याचहरुमा राम्रो गरेका पनि हुन् । तर, र्फम गुमाउनुका साथै चोटको समस्याले गर्दा उनी लामो समयदेखि टिमबाहिर छन् ।

सुवासको जोडीका रुपमा अनिल मण्डल र नरेश बुढायरले केही समय खेले । यो जोडी भत्किएपछि तीव्र रुपमा ओपनरहरु परिवर्तन गर्ने क्रम चलिरहेको छ । यसबीचमा ज्ञानेन्द्र मल्ललाई तेस्रो नम्बरबाट उकालेर ओपनिङमा ल्याइयो । आधा समस्या त हल भयो, तर आधा बाँकी नै रह्यो । महेश क्षेत्री, सागर पुन, प्रदिप ऐरी, अनिलकुमार शाहलगायत ब्याट्सम्यानहरुलाई प्रयोग गर्दा पनि समस्या समाधान भएन । टी-२० मा बेलाबखत विनोद भण्डारीलाई पनि ओपनिङमा खेलाइएको छ भने पछिल्लो समयमा यू-१९ बाट आएका पवन सर्राफलाई पनि ओपनिङमा मौका दिइएको छ ।

नयाँ प्रशिक्षक उमेश पटवालले कप्तान पारस खड्कालाई समेत ओपनिङमा लगेका छन् । उपकप्तान ज्ञानेन्द्र मल्ल यो अनुपस्थित छन् । यदि नयाँ प्रयोगहरु असफल हुँदै जाने हो भने कप्तान पारस र उपकप्तान ज्ञानेन्द्रले नेपालको ओपनिङ एउटा विकल्प हुनसक्छ हुन्छ ।

तर, टिमका दुई उत्कृष्ट ब्याट्सम्यानलाई ओपनिङमा लगिँदा मध्यक्रममा ठूलो रिक्तता पैदा भएको छ । मध्यक्रममा केही ब्याट्सम्यान प्रतिभाशाली छन्, तर उनीहरुमा अनुभवको कमी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment