Comments Add Comment

नेपालसँग हवाइ सम्झौताप्रति अष्ट्रेलियामा असन्तुष्टि

Photo Credit : iStock

२३ असोज, काठमाडौ । नेपाल र अष्ट्रेलिया सरकारबीच भएको हवाई सेवा सम्झौतामा त्यहाँका एयरलाइन्सहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले आफूहरुसँग सल्लाह नै नगरी सरकारले हवाई सेवा सम्झौता गरेको गुनासो गरेका छन् । अष्ट्रेलियाका एयरलाइन्सहरुले नेपालमा उडानप्रति पनि चासो देखाएका छैनन् ।

असोज १४ गते भएको हवाइ सेवा सम्झौतालाई अष्ट्रेलियाका उपप्रधानमन्त्री मिचेल म्याककोरमाकले महत्वपूर्ण उपलब्धी बताएका थिए । उनले नेपाल अष्ट्रेलियाका लागि धेरै यात्रु भएको देश पनि भनेका थिए ।

उक्त सम्झौताअनुसार अष्ट्रेलियन एयरलाइन्सहरुले एक हप्तामा सात पटकसम्म काठमाडौंमा र देशका सबै विमानस्थलमा गरी हप्तामा २८ पटकसम्म उडान गर्न पाउँछन् ।

तर अष्ट्रेलिययन एयरलाइन्सहरुले नेपाल यात्रुको संख्याका आधारमा आकर्षक गन्तब्य नभएको बताएका छन् । अष्ट्रेलियाको तथ्यांक विभागका अनुसार चालु वर्षको सात महिनामा ३१ हजार अष्ट्रेलियन नागरिकले नेपाल भ्रमण गरेका छन् ।

तर यसै अवधिमा १४ लाखले न्युजील्याण्ड, १३ लाखले इन्डानेसिया र १० लाख अष्ट्रेलियनले अमेरिका भ्रमण गरेका छन् । त्यस्तै ४ लाख १६ हजार अष्ट्रेलियनले भारत भ्रमण गरेका छन्, जहाँ अहिलेसम्म अष्ट्रेलियन जहाजको सिधा हवाई सम्पर्क छैन ।

क्वान्टास ग्रुपकी प्रवक्ताले क्वान्टास र जेटस्टार नेपालमा हवाइ उडानका लागि इच्छुक नभएको बताएकी छन् । त्यस्तै भर्जिन अष्ट्रेलियाका प्रवक्ताले पनि नेपालमा उडान गर्ने तयारी नभएको बताए ।

संघीय पर्यटनमन्त्री सिमन बर्मिंघमले हवाईसम्झौताले नेपाल र अष्ट्रेलियाको जनस्तरको सम्बन्ध बलियो बनाउने बताए । ‘नेपालमा जन्मिएका ५० हजार जना अष्ट्रेलियामा बसोबास गर्छन् र ५२ हजार नेपाली विद्यार्थी यहाँ अध्ययनरत छन्’ उनले भने ‘मलाई शंका छैन, यो सम्झौताले हामी दुई देशको हवाई यात्रुको संख्या बढाउनेछ ।’

द अष्ट्रेलियन डट कमले आफ्नो समाचारमा नेपाल धेरै हवाइ दुर्घटना हुने देशको रुपमा पनि उल्लेख गरेको छ । यहाँ ३० वर्षमा २७ वटा डरलाग्दो हवाइ दुर्घटना भएको उसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment