Comments Add Comment

प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः ऋण लिएर चिनियाँ रेल नल्याइयोस्

२३ असोज, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणमा ऋण लिएर रेल बनाउने एजेण्डालाई प्राथमिकता नदिन सरकारलाई आग्रह गरेको छ ।

सीको भ्रमण एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले ऋण लिएर रेल बनाउन नहुने बताएका हुन् । ‘रेल आउने कुुरामा हाम्रो विरोध होइन, बनोस्’ बैठकमा सहभागी पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘हाम्रो लगानी प्राथमिकता होइन ।’

काठमाडौं केरुङ रेलमार्गमा धेरै लगानी चाहिने र यो नेपालले ऋण लिएर गर्न नसक्ने कांग्रेसले बताएको छ । ‘नेपाल र चीनबीच जुन स्तरको व्यापार र आवात जावत छ, यसले वर्षौसम्म लगानी फिर्ता हुने सम्भवना छैन’, महत भन्छन्, ‘यदि चीन र भारतले ब्यापारका लागि प्रयोग गरे मात्र यो रेल फिजिवल हुन्छ ।’

त्यसैले काठमाडौं केरुङ रेलमार्ग अनुदानमा बनाइदिन आग्रह गर्नुपर्ने कांग्रेसले बताएको छ । भारतले बनाउने भनेको रक्सौल काठमाडौं रेलमार्ग पनि अनुदानमा नै बनाउनुपर्ने भन्दै महत भन्छन्, ‘रेलमा हामीले अनुदान नीति रोज्नुपर्छ ।’

सहुलियतपूर्ण ऋणमा सडक कनेक्टिभिटीलाई प्राथमिकता दिनुपर्ने कांग्रेसले बताएको छ । रसुवागढी काठमाडौंमा सुरुङमार्गसहित सडक विस्तार गर्ने तथा चीनसँग जोड्ने अरु नाकाहरुलाई पनि सडकले जोड्नुपर्ने उसले बताएको छ ।

सहुलियतपूर्ण ऋणमा पनि विश्व बैंक, एसियाली विकास बैंकहरुले जस्तै १० प्रतिशतभन्दा कम ब्याज र ४०/५० वर्षसम्म तिर्दा हुने गरी समयावधी राख्नुपर्ने कांग्रेसको सुझाव छ ।

कांग्रेसले ब्यापार घाटा कम गर्न नेपालमा चिनियाँ लगानी बढाउनुपर्ने र नेपालबाट निर्यात हुने वस्तुहरुमा शून्य भन्सारका लागि पहल गर्न सरकारलाई सुझाव दिएको छ ।

जवाफमा प्रधानमन्त्री ओलीले भने रेल नेपालको प्राथमिकतामा रहेको बताएका छन् ।

तर सम्भाव्यता अध्ययन नै हुन बाँकी रहेको र त्यसपछि मात्र लगानीको मोडालिटीबारे छलफल हुने बताए । तत्कालिक कुरालाई ओझेलमा पार्ने वा सबै लगानी त्यसमा खन्याउने सरकारको नीति होइन,’ बैठकमा उनले भनेका छन् ।

यो पनि पढ्नुहोस सी को भ्रमणका क्रममा सुपुर्दगी सन्धि नहुने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment