Comments Add Comment

बालबालिकाको विकासमा परिवारको भूमिका कस्तो हुनुपर्छ ?

बालबालिकाको विकासमा परिवारको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको हुन्छ । बालबालिका जुन वातावरणमा हुर्कन्छन्, उनीहरुले त्यही प्रकारको कुरा र व्यवहार सिक्छन् । कहिलकाहीँ अभिभावकहरुले जानी-नजानी गरेका गल्तिको नराम्रो असर बालबालिकामा पर्छ ।

जसमा आमा-बुबाको आपसमा तालमेल नहुनु र भाषाको स्तरमा कुनै सन्तुलन नभएर घरमा तनाव हुनु प्रमुख रहेको छ । बालबालिकालाई घरको वातावरण कस्तो हुनुपर्छ भन्ने बारेमा यहाँ केही जानकारीहरु प्रस्तुत छन् ।

के-के गर्छन् अभिभावक ?

अभिभावकहरु एक-अर्कालाई सम्मान गर्दैनन्, बालबालिकाहरुको अगाडि नै झगडा गर्छन् । उनीहरुको झगडाको क्रममा प्रयोग हुने भाषाको स्तर अति नै नराम्रो हुन्छ । उनीहरु कहिलेकाहीँ अपशब्द पनि बोल्छन् । धेरै जसो एक-अर्काको परिवार र आमाबुबाको बारेमा नराम्रो कुरा गर्छन् । त्यस्तै, उनीहरु छुट्टै बस्ने र सम्बन्ध-बिच्छेद गर्ने जस्ता कुराहरु पनि बालबालिकाहरुको अगाडि गर्छन् ।

बालबालिकामा कस्तो असर पर्छ ?

बालबालिकामा त्यस्तो परिस्थितिका कारण धेरै रिसाउने भावना बढ्न थाल्छ । बालबालिकाहरुले आक्रामक व्यवहार गर्न थाल्छन् । सामान्य कुरामा पनि कराउन थाल्छन् । ठूलो-ठूलो स्व्ारले बोल्ने र कहिलेकाहीँ त आफ्नै अभिभावकलाई हात समेत उठाउने गर्छन् ।

प्रारम्भमा त बालबालिकाहरु अभिभावकको झगडामा कसैको पक्षमा हुँदैनन् । तर, बिस्तारै उनीहरु ठूला हुँदै जान्छन् । त्यो समयमा कुनै एकको पक्ष लिएर झगडामा सहभागी हुन थाल्छन् ।

बालबालिकालाई आफ्नो पढाईमा रुचि कम हुन थाल्छ । जसका कारण परीक्षामा नम्बर कम आउन थाल्छ । कहिलेकाहीँ त बालबालिकाहरु विद्यालय जान नै मान्दैनन् । कोही त विद्यालय जानै छाड्छन् र दिनभरी घरमा बसेर मोबाइल चलाउने अथवा गेम खेलेर बस्छन् ।

केही बालबालिकाहरु डिप्रेसनको शिकार हुन्छन् । उनीहरु नयाँ व्यक्तिसँग भेट्न असहज महसुस गर्छन् । स-साना कुरामा छिट्टै दुःखी हुन्छन् ।

के गर्नुपर्छ ?

अभिभावकले आपसी मतभेदहरुको बारेमा बालबालिकाहरुको अगाडि कुरा गर्नु हुँदैन । आफ्ना कुराहरु बालबालिकाहरुलाई भनेर उनीहरुबाट सहानुभूति लिने कोशिस गर्नुहुँदैन । अभिभावकले एक-अर्कालाई सम्मान गर्नुपर्छ र बालबालिकालाई पनि सम्मान गर्न सिकाउनुपर्छ ।

यदि बालबालिकामा रिसाउने, कराउने जस्ता व्यवहार देखियो भने सजग हुनुपर्छ । आफूमा नियन्त्रण राख्नुपर्छ । त्यसपछि पनि बालबालिकामा कुनै परिर्वतन आएन भने कुनै राम्रो काउन्सिलरसँग भेटेर फेमिली काउन्सलिङ गराउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment