Comments Add Comment

अमेरिकामा लुम्बिनी चिनाउँदै रुपन्देहीका पत्रकार पन्त

२४ असोज, बुटवल । रुपन्देहीका पत्रकार चेतन पन्त अमेरिका पुगेर बुद्धजन्मस्थल लुम्बिनी र नेपालको पर्यटन प्रवद्र्धनमा सक्रिय छन् । प्रदेश–५ बाट नेपाल भ्रमण वर्ष २०२० का सदस्य समेत रहेका पन्तले एक महिनादेखि अमेरिकाको उत्तर क्यालिफोर्निया राज्यका विभिन्न शहरमा लुम्बिनी र नेपाललाई चिनाउँदै प्रचार गतिविधि गर्दै आएका छन् ।

पन्तले फेयर फिल्ड शहरको थाई र भियतनाम मन्दिर तथा एउटा कृषि बजारमा लुम्बिनी सम्बन्धी कार्यक्रम गरेर लुम्बिनी भ्रमण वर्ष र नेपाल भ्रमण वर्षको प्रचार गर्दै अमेरिकीहरुलाई नेपाल भ्रमणको निम्ता दिएको बताए । उनले गत शनिवार भलेहो शहरको रमाइलो मेलामा पनि नेपाल भ्रमण वर्षको ब्यानर, नेपालको झण्डा र लुम्बिनी लगायत नेपालका पर्यटकीय क्षेत्रका पोष्टर प्रदर्शन गरेको बताए । त्यहाँको मेलामा पन्तका छोरा उत्सव र उनका साथीले राखेको स्टलमा लुम्बिनी र नेपालका पर्यटकीय स्थलका तस्वीरसहितका पोष्टर, फोटा वितरण गर्दै नेपाल भ्रमणको निम्तो दिएको पन्तले अनलाइनखबरलाई बताए । मेलामा नेपाली मःमः पनि राखेर विदेशीमाझ नेपाली खानाको परिकारलाई परिचित गराइएको उनले बताए ।

पन्तले अमेरिकामा घुमफिरकै क्रममा नेपालीहरुलाई भेट्दै मायादेवी मन्दिरको पोष्टर उपहार दिएर लुम्बिनीको पर्यटन विकासमा सघाउन अनुरोध गरेका छन् । उनले त्यहाँ लुम्बिनीसम्बन्धी डकुमेन्ट्री र वेबसाइटमार्फत अमेरिकीलाई नेपाल भ्रमणका लागि अपील गरेको बताए । उनले आफ्नै लगानीमा लुम्बिनी र बौद्ध क्षेत्रहरु चिनाउन सन् २०१० मा बुद्धिस्ट साइट्स डटकम नामक वेबसाइट र चेतन पन्तको नाममा युट्युव च्यानल समेत बनाएका छन् । वेबसाइटमा लुम्बिनी, कपिलवस्तु, रामग्राम लगायत भारतका बुद्धको जीवनीसंग सम्बन्धित सामग्री अंग्रेजी भाषामा राखिएको छ । पन्तले अमेरिकाकै सानफ्रान्सिको शहरको बे (खाडी) क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुलाई लुम्बिनीका बारेमा प्रशिक्षण दिने कार्यक्रम पनि तय भएको बताए । तयसका लागि त्यहांको लुम्बिनी बुद्ध फाउन्डेसनसँग सहकार्य भएको पन्तले बताए ।

२०४५ सालदेखि पत्रकारिता पेशामा आवद्ध पन्तले नेपाल टेलिभिजन, इमेज टेलिभिजन, स्पेसटाइम नेटवर्क लगायतका सञ्चारमाध्यममा काम गरेका छन् । पछिल्लो एक दशकयता पन्त लुम्बिनीको प्रचार अभियान्ताका रुपमा निस्वार्थभावले सक्रिय छन् । ‘जहां गए पनि, जहाँ बसे पनि लुम्बिनी र नेपाल चिनाउने मेरो एउटै उद्देश्य हुन्छ, त्यसैले नेपालको झण्डा, लुम्बिनी र बौद्ध क्षेत्रका पोष्टरहरु बोकेर आएको छु,दुई महिनाभरि लुम्बिनी भ्रमण वर्ष र नेपाल भ्रमण वर्षको प्रचारप्रसार गर्छु’–पन्तले अनलाइनखबरसँग भने–‘परिवारसंग दशै तिहार मनाउन आएपनि धेरैजसो समय लुम्बिनी र नेपाललाई चिनाउँदै पर्यटन प्रवद्र्धनमा सक्रिय हुन्छु ।’

पन्त नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार समेत हुन् । रुपन्देहीमा जन्मेको नाताले पनि लुम्बिनी जस्तो विश्व सम्पदाको प्रवद्र्धनमा आफ्नो ठाउँबाट सक्दो योगदान गर्नुपर्छ भन्ने भावनाले लुम्बिनीको प्रचारप्रसारमा लागेको पन्तले बताए । ‘लुम्बिनीको होस् वा समग्र नेपालको पर्यटन प्रवद्र्धन सरकार एक्लैले गर्न सक्दैन, यसमा हरेक सचेत नागरिकको पनि भूमिका हुनुपर्छ भन्ने मेरो मान्यता हो’–पन्तले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment