Comments Add Comment
सिंगापुर र ओमान टुरबारे पारस :

‘नेपाली क्रिकेट र व्याटिङको दुश्मनीझैं भयो’

२४ असोज, काठमाडौं । सिंगापुर र ओमान टुरबाट मिश्रित नतिजा लिएर नेपाली क्रिकेट टोली शुक्रबार घर फर्किएको छ । दुई टुरमा नेपालले खेलेका जम्मा सात खेलमा ३ जित निकाल्यो भने चार वटा हार व्यहोर्‍यो ।

सिंगापुरमा भएको ट्राइ–सिरिजमा जिम्बाब्वेसँग दुबै खेल हारेको नेपालले घरेलु टोलीलाई एक खेलमा हराएको थियो । उक्त खेलमा नेपालका कप्तान पारस खड्काले कीर्तिमानी शतक प्रहार गरे । सिंगापुर र नेपालको एक खेल भने वर्षाले विथाल्यो ।

त्यहाँबाट पाँच देशको टी–२० सिरिज खेल्न ओमान गएको नेपालले सुरुवाती दुई खेलमा हङकङ र नेदरल्याण्ड्सलाई हरायो । तर आयरल्याण्ड र ओमानसँग हार्‍यो । टेष्ट राष्ट्र आयरल्याण्डलाई कडा चुनौती दिएको नेपालको घरेलु टोलीले ओमानविरुद्ध भने निकै खराब प्रदर्शन गर्‍यो ।

युवा खेलाडीहरुलाई बढी अवसर दिइएको यो टुरमा ओमानसँगको खेल बाहेक अरुमा नेपालको प्रदर्शनबाट कप्तान पारस सन्तुष्ट छन् । तर टुरको अन्तिम खेलबारे उनी भन्छन्, ‘ओमानसँग निकै खराब ब्याटिङ गर्‍यौं ।’

प्रस्तुत छ, राष्ट्रिय टिमका कप्तान पारसले अनलाइनखबरसँग व्यक्त गरेको विचारः

आयरल्याण्ड र ओमान विरुद्धको खेल

आयरल्याण्डविरुद्धको खेलमा हामी राम्रो स्थितिमा थियौं । तर, फिनिसिङ राम्रो हुन नसक्दा टेस्ट राष्ट्रलाई हराउने अवसर गुमायौं ।

खेललाई ८०-९० प्रतिशतसम्म ‘पुस’ गरेका थियौं हामीले तर, अन्तिममा डग्मगाउँदा नतिजा हाम्रो पक्षमा हुन सकेन ।

(आयरल्याण्डलाई १४५ रनमा रोकेको नेपालले अन्तिम बल खेल्नुअघि सबै विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो र, १३ रनको हार स्वीकार गर्न बाध्य भयो)

सायद विनोद भण्डारीको रनआउट टर्निङ प्वाइन्ट थियो । तर दीपेन्द्र सिंह ऐरीको विकेटलाई पनि मान्न सकिन्छ । चार बलको अन्तरमा तीन विकेट गयो हाम्रो ।

यसका बाबजुद हामीले खेल जित्नुपर्ने हो । किनभने हामीलाई ४५ रन चाहिँदा ५ ओभर र ५ विकेट हातमा थियो । तर भएन । शायद हाम्रो अनुभवको कमी र अपरिपक्वता देखियो ।

यो प्रतियोगितामा त हामीले गुमाउने पर्ने खासै केही थिएन । तर भोलिको दिनमा विश्वकप छनोट वा लिगमा हरेक अंकको महत्व हुन्छ । त्यस्तो बेला यस्तो खेल हार्दा हामीलाई धेरै घाटा हुनसक्छ ।

प्रतियोगिताको अन्तिम खेल ओमानसँग थियो । तर यो खेलमा हामीले निकै खराब ब्याटिङ गर्‍यौं । शायद ब्याटिङमा बढी आक्रामक हुन खोज्यौं कि ? क्लिक गरेको भए राम्रो पनि देखिन्थ्यो होला । तर अन्तिममा खेल निकै खराब रह्यो ।

अघिल्लो दिन आयरल्याण्डलाई कडा चुनौति दिएका थियौं, अर्को दिन ११ ओभरभित्र ६४ रनमा अलआउट भयौं । त्यसैले राम्रो र नराम्रो दुबैलाई हामीले संगै लिएर हिड्नुपर्छ ।

समग्रमा टिमको रुपमा हरेक खेलमा राम्रो खेल्ने, देशलाई जिताउने कोसिस गरिरहेका छौं । तर ओमानसँगको अन्तिम खेलमा चाहिँ ब्याटिङमा निकै खराब प्रदर्शन गर्‍यौं ।

नेपाली टिमको ब्याटिङ

नेपाल क्रिकेट र ब्याटिङको दुश्मनी जस्तै देखिएको छ । बलरहरु उत्कृष्ट छन् । फिल्डिङ युनिटले पनि त्यतिकै राम्रो गरिरहेको छ । तर कुरा ब्याटिङमै ठोकिन्छ । र, हरेक फ्यानको पनि चासो छ कि नेपालको ब्याटिङ कहिले सुध्रिन्छ ?

शायद मैले धेरैपटक भनिसकेँ, हामी ओपनिङमा मात्र होइन, समग्र ब्याटिङमा नै सुधार गर्नुपर्नेछ । हामी कोशिश पनि गरिरहेका छौं । ट्रेनिङ मेथडदेखि थिङ्किङसम्म परिर्वतनको प्रयास गरेका छौं । तर जबसम्म कन्सिस्टेन्सी (स्थिरता) आउँदैन, तबसम्म राम्रो देखिँदैन ।

ओपनिङ राम्रो भयो तर टिम हार्‍यो भने अर्थ छैन । सिंगापुर टुरलाई नै हेर्नुस्, ओपनिङ राम्रो भएको थियो । तर समग्रमा प्रतियोगितामा राम्रो गर्न सकेनौं । त्यसैले मुख्य भनेको खेल जित्नुपर्‍यो । र, यसका लागि ब्याटिङ युनिटले बलिङ युनिटलाई सपोर्ट गर्न सबैले आफ्नो खेलमा सुधार ल्याउनै पर्छ ।

इशान र कुशलबारे

(सिंगापुर र ओमान टुरमा नेपालले ब्याट्सम्यान इशान पाण्डे र बलर कुशल मल्ललाई डेब्यू गरायो । सिंगापुरमा दुई खेलमा नेपालको ओपनिङ सम्हालेका इशानले ओमानमा पनि दुई खेलमा अवसर पाए । तर अपेक्षा गरेअनुसार प्रदर्शन हुन सकेन । यस्तै स्लो लेफ्ट आर्म अर्थोडक्स बलर कुशल मल्लले सिंगापुरमा दुई खेलमा अवसर पाए र सामान्य प्रदर्शन गरे ।)

उनीहरुले भर्खर यात्रा सुरु गरेका छन् । हामीकहाँ युवा खेलाडीले एउटा राम्रो इनिङ खेल्नासाथ धेरै आशा राख्ने गरिन्छ । त्यसले उनीहरुलाई दवाव पनि पर्छ । मलाई लाग्छ, हामीले धर्य गर्नुपर्छ ।

मलाई आशा छ, उनीहरुले छिटो सिक्नेछन् । अहिले सिक्नका लागि स्रोत साधनहरु पनि धेरै छन् । जति चाँडो सिक्छन्, त्यति नै व्यक्तिगत र टिमको प्रदर्शनमा केन्द्रित हुन सक्छौं ।

जे होस्, ओमानसँगको अन्तिम खेल बाहेक टिमले राम्रो गरेको छ । युवा टिमको यो राम्रो सुरुवात हो । तर यो सिरिजमा पनि अझ राम्रो नतिजा ल्याउन सक्ने सम्भावना थियो ।

यो प्रतियोगितामा हामीले युवा खेलाडीहरुलाई अवसर दिएका थियौं । हामीले हरेक खेलाडीलाई अवसर दिन कोसिस पनि गर्‍यौं । कसैले ७/८ वटा म्याच खेले, कसैले ३/४ वटा । तर सबैले मौका पाए । आशा छ, यो सिकाई अनुभवले आगामी दिनमा आफ्नो खेलमा कसरी सुधार ल्याउने भनेर अगाडि बढ्लान् ।

नयाँ क्यानबाट अपेक्षा

पहिला स्रोत–साधनको कमी थियो, अहिले त्यस्तो छैन । राम्रो सोच लिएर आउने हो भने धेरै विषय समाधान गर्न सकिन्छ । तर यो सजिलो भने छैन ।

जसरी हामीलाई मैदानभित्र चुनौती छ, मैदान बाहिर उहाँहरुलाई पनि चुनौती छ । सबैजना मिलेर राम्रो सोच लिएर अगाडि बढ्यौं, क्रिकेट खेल र क्रिकेटको विकास पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्यौं भने अवश्य राम्रो परिणाम आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment