Comments Add Comment

कोशीटप्पुमा अर्नाको बिऊ जोगाउनै मुस्किल !

आरक्ष भन्छ– १४ हजार गाई जंगली बनिसके

२४ असोज, कोशीटप्पु । उदयपुर, सुनसरी र सप्तरीको सीमानामा पर्ने कोशीटप्पु वन्यजन्तु आरक्षमा अर्नाको बिऊ मासिन थालेको छ । घरपालुवा भैसी–राँगालाई जथाभावी प्रवेश दिँदा आरक्षमा रहेका अर्नाको बिउ मासिने खतरा बढेको हो । यो वन्यजन्तु आरक्षमा करिब १४ हजार गाई छाडा छोडिएको छ । ती गाईहरु जंगलीजस्तै बनिसकेका छन् र मानिसलाई देखे भने अर्नाले जस्तै हान्न आउँछन् ।

उदयपुर, सप्तरी र सुनसरी तीन जिल्लामा फैलिएको आरक्षको प्रमुख विशेषता भनेको चराचुङ्गी र अर्ना नै हो । तर, अर्नासँग भैंसीलाई ‘क्रस’ गराउँदा राम्रा पाडापाडी जन्मने भन्दै आरक्षमा घरपालुवा भंैसी छाड्ने गरिएको छ । भारतबाट समेत भैंसीहरु ल्याएर अर्नासित मिसाउने गरिएको पाइएको छ ।

 

गाउँगाउँका रागाभैंसी छोड्दा आरक्षका पोथी अर्नामा घरपालुवा राँगा लाग्ने गरेको छ । त्यसरी क्रस भएर जन्मने बच्चा पूर्णरुपमा अर्ना हुँदैनन् । अहिले आरक्षमा ४४१ वटा माउ अर्ना छन् ।

२०६१ सालमा आरक्षभित्र गोलीकाण्ड मच्चिएको थियो । आरक्षभित्र जथाभावी घरपालुवा चौपाया प्रवेश गराएको भन्दै तत्कालीन शाही नेपाली सेनाले गोली चलाएको थियो । त्योबेला उदयपुरको तपेश्वरी गाविस, सप्तरीको फत्तेपुर गाविस र सुनसरीको चिलिया टप्पु क्षेत्रका ३०० भन्दा रागाभैंसी मारिएका थिए ।

धेरै क्षति उदयपुरको बेलका नगरपालिकाका किसानले व्यहोरेका थिए । बेलकाको पनि भागलपुर क्षेत्रका सय भन्दाबढी रागाभैंसी मारिएका थिए । शाही शासनकालमा सेनाले त्यतीका राँगाभैंसी मारिदिएपछि आर्थिक रुपमा स्थानीयको ढाड भाँच्चिएको थियो । त्यस घटनापछि आरक्ष नजिकैको टप्पु क्षेत्रमा मात्र आफ्ना चौपाया चराउने गरेको स्थानीय बताउँछन् ।

आरक्षभित्र माउ अर्ना

आरक्ष आसपासमा गाईभैंसी पालनलाई मुख्य पेशा बनाएको कृषक समूह पनि छ । उनीहरुलाई स्थानीय भाषामा गुहारे भनिन्छ । गुहारेहरुले कोशीटप्पु क्षेत्रमा खुलारुपमै एक हजार हाराहारीमा गाईभैंसी पालेका छन् । दुग्ध पदार्थ र मासुका लागि पशुपालन गरिरहेका उनीहरुले कर्मचारीलाई प्रलोभनमा पारेर आरक्षमा चौपायाको बथान छाड्ने गरेको स्थानीयवासीको भनाइ छ ।

स्थानीयहरु आरक्षमा किन आफ्ना वस्तु लैजान खोज्छन् त ? आरक्ष नजिकै निउरो टिप्दै गरेकी भगवती उरावले भनिन्, ‘किनकि, आरक्षभित्र बहुत राम्रो घाँस पाइन्छ ।’

उनका अनुसार, अर्को कारण हो– आरक्षका अर्नाका राँगा । भैंसीले राँगो खोजेका बेला आरक्षभित्र पठाएको भैंसीबाट राम्रा पाँडापाडी जन्मन्छन् । तर, एउटा–दुईटा भैंसी पाल्ने वरपरका स्थानीयले भने आरक्षमा त्यसरी भैंसी पठाउन छाडेको उरावले बताईन् । गुहारेहरुका भने एकै पटकमा दर्जनौं भैंसीले राँगा खोज्ने भएकाले आरक्षमा घुसाउने गरिएको हुन सक्ने उनको अनुमान छ ।

‘सेनाले बिना सूचना हाम्रा रागाभैंसी गोली ठोकेर मारेको दिनदेखि हामीले आरक्षभित्र वस्तु लगेका छैनौं’ आरक्ष प्रभावित क्षेत्रका बासिन्दा पूर्णबहादुर बिक भन्छन्, ‘गुहारेहरुका रागाभैंसी चाहिँ अहिले पनि रातभर आरक्षतिरै हुन्छन् ।’

आरक्ष भन्छ– १४ हजार गाई जंगली बनिसके

सहायक संरक्षण अधिकृत गणेश तिवारी आरक्षमा भैंसी होइन, गाई मुख्य समस्या भएको बताए । ‘हामीले निकै कडाइ गरेका छौं’, आरक्षका सूचना अधिकारीसमेत रहेका उनले भने, ‘कहिलेकाहीँ झुक्किएर पसेको पाइए एउटाको पाँचसय रुपैयाँ जरिवाना गर्ने गरेका छौं ।’

 

यसरी पक्रिएका भैंसी लिन धनी आउने, तर गाई लिन कोही नआउने उनले सुनाए । आरक्षले लिलामी गर्न नपाउने हुनाले त्यस्ता गाईहरु आरक्षमै छाडिदिने गरिएको उनी बताउँछन् । जसका कारण आरक्षमा अहिले १४ हजारभन्दा बढी गाई जंगलीजस्तै बनेको तिवारीले बताए ।

कमिसन खाएर आरक्षमा गाईभैसी पस्न दिने गरेको आरोपलाई उनले ठाडै अस्वीकार गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

ट्रेन्डिङ

Advertisment