Comments Add Comment

विराटको दोहोरो शतकसँगै भारत हावी, ६०१ रनमा इनिङ समाप्तीको घोषणा

२४ असोज, काठमाडौं । आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसीप अन्तरगत साउथ अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा भारतले विशाल योगफल खडा गरेको छ । बिराट कोहलीको दोहोरो शतकको मद्दतमा भारतले पाँच विकेट क्षतिमा ६ सय १ रन बनाउँदा पहिलो इनिङ डिक्लेयर गर्‍यो ।

भारतीय कप्तान कोहलीले ३ सय ३६ बल खेल्दै ३३ चौका र दुई छक्कासहित अविजित २ सय ५४ रन बनाएका छन् । आक्रामक ब्याटिङका साथ कोहलीलाई साथ दिइरहेका रवीन्द्र जडेजा आउट भएपछि भारतले इनिङ समाप्तीको घोषणा गरेको थियो । जडेजाले १ सय ४ बलमा २ छक्का र ८ चौका सहित ९१ रन बनाए । कोहली र जडेजाबीच २ सय २५ रनको साझेदारी भएको थियो ।

यसअघि भारतीय ओपनर मयंक अग्रवालले शतकीय इनिङ खेलेका थिए । उनले १ सय ९५ रनमा २ छक्का र १६ चौकासहित एक सय ८ रन बनाए । यसैगरी तेस्रो नम्बरमा आएका चेतेश्वर पुजाराले पनि अर्धशतक बनाएका थिए ।

साउथ अफ्रिकाका कंगिसो रबाडाबाहेक कुनै पनि बलरले भारतीय ब्याट्सम्यानलाई अप्ठेरोमा पार्न सकेनन् । रबाडाले ३० ओभरमा ९३ रन खर्चेर तीन विकेट लिए । साउथ अफ्रिकाका प्रमुख फास्ट बलर भेरोन फिलेन्डरले २६ ओभर बलिङ गर्दै ६६ रन खर्चिए तर कुनै विकेट लिन सकेनन् ।

जवाफी ब्याटिङमा उत्रिएको साउथ अफ्रिकाले खराब सुरुवात गरेका छन् । यो समाचार तयार पार्दासम्म साउथ अफ्रिकाले ३ विकेट क्षतिमा ३५ रन मात्र जोडेको छ । साउथ अफ्रिकाका ओपनरद्वय डिन एल्गर र एडम म्याक्रमलाई भारतीय फास्ट बलर उमेश यादवले पेभिलियन फर्काएका छन् । यसैगरी चौंथो नम्बरमा आएका तेम्बा बभुमा मोहम्मद सामीको शिकार भए ।

यतिबेला क्रिजमा थेउनिस डे ब्रुयन र एनरिच नोत्र्जे संघर्षरत छन् । साउथ अफ्रिकाको ब्याटिङ अब कप्तान फाफ डु प्लेसिस र विकेटकिपर ब्याट्सम्यान क्वीन्टन डिकमा धेरै हदसम्म निर्भर रहनेछ । यसअघि पहिलो टेस्टमा पनि भारतले साउथ अफ्रिकामाथि सहज जीत हासिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment