Comments Add Comment

छापामा आज : चिनियाँ राष्ट्रपतिको नेपाल आगमनको सन्देश के हो ?

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको दुईदिने राजकीय भ्रमण आजका सबै दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । पत्रपत्रिकाहरूले सी भ्रमणको दौरानमा हुने सम्झौतादेखि यसले प्रवाह गर्ने सन्देशसम्मको चर्चा गरेका छन् ।

कान्तिपुरले ‘सी आगमनको सन्देश’ शीर्षक दिएर मुख्य समाचार छापेको छ । सम्पादक सुधीर शर्माको बाइलाइनमा लेखिएको सामग्रीमा चीनले नेपाल आफ्नो प्राथमिकताको मुलुक भएको राजनीतिक सन्देश यो भ्रमणमार्फत दिन चाहेको उल्लेख छ ।

विश्लेषणात्मक समाचारमा कान्तिपुरले लेखेको छ– अहिले नेपालमा चीननले चाहेजस्तै राजनीतिक स्थायित्वसमेत आएको छ । एमाले–माओवादीबीच एकता होस् भन्ने उसको पुरानो प्रेरणाले मूर्तरूप लिएको र एकीकृत पार्टीले सुविधाजनक बहुमत पाएर सरकार बनाएका बेला सी हिमालमुन्तिर झरेका छन् । यसबीच उनको सबभन्दा बढी भेटघाट र व्यक्तिगत चिनाजानीसमेत भएक नेपाली नेताहरूमा नेकपाकै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड पर्छन् । त्यसैले काठमाडौंमा कदाचित राजनीतिक नेतृत्व फेरिए पनि नीतिगत निरन्तरता कायम रहनेमा बेइजिङको विश्वास बढेको हुनसक्छ ।’

कान्तिपुरमा लेखिएअनुसार यो अवस्थामा राष्ट्रपतीय तहबाट गरिने सम्झौताको कार्यान्वयन दुर्घटनामा नपनर्ने उनीहरूको बुझाइ छ । नेकपाले सी भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुखको उपस्थितिमा आफ्ना केन्द्रीय नेताहरूलाई सी विचारधाराबाट समेत प्रशिक्षित गराइसकेको छ । सम्भवतः यो दुई देशबीच वैचारिक अनुकूलता रहेको सन्देश दिने प्रयास थियो । भलै त्यो नेकपाभित्रै विवादको विषय बन्यो, कान्तिपुरको विश्लेषण छ ।

कान्तिपुरले अगाडि लेखेको छ– जानकारहरूको भनाइमा सीको आगमन नेपालको राजनीतिक अनुकूलताका कारण मात्र नभई भूराजनीतिक आवश्यकताबाट समेत निर्देशित छ ।

अन्नपूर्णले चिनियाँ राष्ट्रपतिको भ्रमणको दौरानमा दर्जन बढी सम्झौता गर्ने तयारी रहेको लेखेको छ । अन्नपूर्णका अनुसार, केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन निर्माण सम्झौतादेखि पूर्व–पश्चिम राजमार्गको सहुलियत ऋणसम्मका प्रस्ताव नेपालले सम्झौताका लागि तयार पारेको छ ।

सीको दुईदिने राजकीय भ्रमणको सुरक्षा प्रवन्धका लागि सेनाको कमान्डमा १५ हजार फौज परिचालन गरिएको अर्को खबर पनि अन्नपूर्णमा छ । परिचालित सैनिकले विमानस्थल, सवारी रूट, होटल, कार्यक्रमस्थल तथा अन्य संवेदनशील स्थानमा सुरक्षा दिने समाचारमा उल्लेख छ ।

नेपाल–चीनसम्बन्धबारे विशेष सम्पादकीय नै लेखेको गोरखापत्रको पहिलो पृष्ठ सी भ्रमणकै विषयले भरिएको छ । राजधानीले पनि चिनियाँ सी भ्रमणकै वरिपरि रहेर सामग्री पस्केको छ ।

सी भ्रमणबाहेक सिन्धुपाल्चोकमा भएको बस दुर्घटनाको विषयलाई पनि आजका दैनिक पत्रिकाहरूले समेटेका छन् । पत्रपत्रिकाहरूका अनुसार, ३४ सिटको बसमा तेब्बरभन्दा बढी यात्रु राख्दा दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment