Comments Add Comment

टर्कीले रोकेन कुर्दिस नियन्त्रित क्षेत्रको आक्रमण, १ लाख मानिस बिस्थापित

२५ असोज, काठमाडौं । टर्कीले गएको बुधबारदेखि सिरियामा जारी राखेको आक्रमणका कारण १ लाख मानिस विस्थापित भएका छन् ।

टर्कीका फौजको फौजको मुख्य निसानामा रहेका उत्तरपूर्वी सिरियाको अब्याद तथा रस अल–ऐनलगायत क्षेत्रका १ लाख मानिस टर्कीको आक्रमणका कारण विस्थापित हुन पुगेको बीबीसीले जनाएको छ । आक्रमण जारी रहेकाले यो संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ ।
ज्यान जोगाउन घर छाडेका स्थानीयले विद्यालय तथा सार्वजनिक संरचनाहरूमा यतिबेला आश्रय लिइरहेको संयुक्त राष्ट्र संघले जनाएको छ ।

कुर्दिस नियन्त्रित क्षेत्र भन्दै टर्कीले बुधबारदेखि गरेको आक्रमणमा हालसम्म कम्तीमा ११ सर्वसाधारणको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । घटनामा एक टर्किस सेनाको पनि ज्यान गएको छ । आक्रमण जारी रहेकाले मृतक तथा बिस्थापितहरूको संख्या थप बढ्ने अनुमान अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ–संगठनहरूले गरेका छन् ।

कुर्दिसलाई आतंककारीको आरोप लगाउँदै आएको टर्कीले उसलाई निस्तेज पार्न बुधबारदेखि सैन्य अभियान थालेको हो । जसको अन्तर्राष्ट्रिय रूपमा आलोचना भइरहेको छ । विभिन्न देश तथा संघ–संगठनहरूले फौजी आक्रमण नगर्न टर्कीलाई सुझाइ रहेका छन् । यद्यपि, उसले आक्रमण जारी राखिरहेको छ ।

कुर्दिसलाई यसअघि अमेरिकाले सहयोग गर्दै आएको थियो । उसले उत्तरी सिरियामा आफ्ना सैनिक नै तैनाथ गरेको थियो । तर, अमेरिकाले सैनिक फिर्ता बोलाउने निर्णय गरेसँगै टर्कीले आक्रमण गरिरहेको छ । सैनिक फिर्ता गरेर अमेरिकाले आक्रमणका लागि मार्गप्रशस्त गरेको आरोप अमेरिकामाथि लागेको छ । तर, अमेरिकाले आरोप निराधार भएको भन्दै त्यसको खण्डन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment